दामोदरप्रसाद गौतम वरिष्ठ प्रशासक एवं कूटनीतिज्ञ हुन्। मकवानपुरे राजाबाट बिर्ता पाएका परिवारमा जन्मिएका गौतमको सानैमा पिताको निधन भएको थियो। कलैयाको श्री ३ हाईस्कुलबाट १८ वर्षको उमेरमा एसएलसी गरेका गौतमले भारतबाट उच्च शिक्षा हासिल गरे। २०१८ सालमा शाखा अधिकृतबाट सरकारी सेवा प्रवेश गरेका उनी २०४६ को परिवर्तनलगत्तै मुख्य सचिव भए। त्यसपछि अमेरिकाको राजदूत बन्ने अवसर पाए। नेपालको राजनीति र कूटनीतिलाई नजिकबाट नियाल्नेमध्येका गौतम पनि एक हुन्। उमेरले साढे आठ दशक कटेका गौतम अहिले पनि अध्ययनमा व्यस्त छन्। उनीसँग कुनै बेला अमेरिका र युरोपका शिक्षण संस्थामा अध्यापन गराएको अनुभव पनि छ। समसामयिक विषयमा बहस गर्न खुबै रुचाउने गौतमसँग नेपालको भारत, चीन र अमेरिकासँगको सम्बन्ध लगायतका विषयमा हिमाल प्रेसका चन्द्रशेखर अधिकारीले गरेको कुराकानीको सारसंक्षेप :
तपाईंको दैनिकी कस्तो चल्दैछ?
राम्रैसँग चलिरहेको छ। नयाँनयाँ परिवर्तन हेर्यो। अनि घोत्लियो-बस्यो । घरमा जीवनसंगिनीसँग बसिरहेको छु। कलैयामा बालापन गुजारेको म अहिले ललितपुरको महालक्ष्मीस्थानस्थित घरमा सेवा निवृत्त जीवन बिताइरहेको छु। हाम्रो पुर्ख्यौली थलो भने नुवाकोट हो। कलैयाको श्री ३ हाईस्कुलबाट २०१२ सालमा एसएलसी पास भएपछि उच्चशिक्षाका लागि भारत गएँ । त्यहाँबाट फर्केपछि २०१८ सालमा नेपाल सरकारको सेवामा प्रवेश गरेँ । म २०१८ सालदेखि २०५० सालसम्म सरकारी सेवामा रहेँ । लोकसेवा दिएर स्थानीय विकास मन्त्रालयमा जागिरे भएको हुँ । मलाई यही माटो प्यारो लाग्छ। विदेशमा रहेकासँग खासै रम्न नसक्ने त होइन तर विदेशमा बसेर नेपालको विकासको कुरा गर्ने मानिस देख्दा कन्सिरी तातेर आउँछ। सानैदेखि म फरक स्वभावको थिएँ। बुवासँग कहिल्यै कुरा मिल्दैन थियो । हुनत जिजु अनि बडाबाजेका कारण मेरो पनि भारदारसँग सम्बन्ध थियो । सीधै सेवा प्रवेश गर्न सक्ने अवस्थामा थिएँ । परराष्ट्र र राजस्व सेवामा जान चाहेको भए सक्थेँ । तर त्यसो गरिनँ । किनकि अंग्रेजी पढेको मानिसको अभाव थियो । मैले लोकसेवा पास गरेर जागिर खाएँ । अचेल समाचार हेर्ने र पढ्ने, नेताका कुरा सुन्ने, आफन्त र साथीभाइसँग भेटघाट गर्ने, कुराकानी गर्ने काममै समय बितिरहेको छ।
अंग्रेजी पढेको व्यक्ति भएर पनि परराष्ट्र सेवामा रुचि नराख्नुको कारण? अनि राजस्व सेवामा किन जानु भएन?
मलाई सरकारी जागिर खाएर प्रशासक हुने मन थियो । त्यही भएर म त्यता लागें होला सायद। पहिलो पोस्टिङ स्थानीय विकास मन्त्रालयमा भएकाले पनि म त्यतै रमेँ । केही समय योजना आयोगमा बसेँ । अनि स्थानीय विकास मन्त्रालयमा पठाए । म पहिलोपटक २०१९ सालमा लुम्बिनी अञ्चलमा गएँ तीन दिन लगाएर। कामको प्रकृतिअनुसार सरुवा भएको ठाउँमा जानैपर्यो। सरकारी सेवामा रहनेलाई अहिलेको जस्तो भनसुन गर्ने सोच आउँदैन थियो ।
सरकारी जागिरे भएपछि पहिलो अनुभव कस्तो रह्यो?
गोश्वारा, कर, भन्सार मात्र स्थापित अड्डा थिए। स्थानीय विकास मन्त्रालय भर्खर स्थापना भएर विभिन्न जिल्लामा काम गर्ने प्रक्रिया अघि बढेको थियो। काठमाडौँबाट कलैया जानभारतको बाटो प्रयोग गर्नुपर्दथ्यो। नारायणी नदी डुंगाबाट पार गरेर नवलपरासी भएर कलैया गएको पनि याद छ। कलैया-पटना, पटना-काठमाडौँ, अनि काठमाडौँ-कलैया त्यसपछि पटना-लुम्बिनी। नेपालको एक भूभागबाट अर्को भूभागमा प्रवेश गर्न छिमेकी देशको बाटोप्रयोग गर्नुपर्ने बाध्यता थियो। अहिले त्यस्तो अवस्था छैन। अहिलेको विकास साँच्चै लोभलाग्दो छ। तर सन्तुष्ट हुने स्थान छैन। तर पनि विकास आफ्नै गतिमा भइरहेको छ। छिमेकको लोभी नजर नपर्ने र नेताले आफू अनुकूल छिमेकको व्याख्या नगर्ने हो भने हामीले चाँडै उचाइ लिने थियौँ।
छिमेक भन्नाले भारतलाई नै त भन्न खोज्नु भएको हो?
पक्कै। भारतको नजर ठिक छैन । भारत सुध्रिएको छैन। शैली फरक होला तर सोच पुरानै छ। सिक्किम, भुटान र नेपाललाई एकै नजरबाट हेरेको भारतले त्यसमा अझै परिवर्तन गर्न सकेको छैन। त्यसबारे हाम्रा नेताहरु गम्भीर हुनैपर्छ। ‘कालुभाइ’ (प्रधानमन्त्री शेरबहादुर देउवा) ले यो कुरा बुझेजस्तो त लाग्छ। बुझे पनि कतिपय समस्याका कारण बाहिर प्रस्तुत हुन सकेको छैन । केही समयअघि पोखराको एउटा कार्यक्रममा देउवा भारतसँग निकै पड्केको सुनेको थिएँ। त्यस्तो पड्काइ सधैँ भएमा सोचमा परिवर्तन आउन सक्छ। भारतीय दृष्टिकोण पनि परिवर्तन हुन सक्छ।
यहाँले २०४६ अघि नेपाल-भारत सम्बन्धलाई कसरी नियाल्नुहुन्छ?
भारतसँगको सम्बन्ध चिसो-तातो थियो। म फेरि भन्छु - भारतको कत्तिपनि बदलिने संकेत छैन। भारत आफूलाई शक्ति मुलुकको कोटीमा उभ्याउन चाहन्छ तर उसले आफ्नो क्षेत्रलाई रिझाउन सकेको छैन। यस क्षेत्रमा भारतको कुन मुलुकसँग राम्रो सम्बन्ध छ र? भारत राष्ट्रसंघको सुरक्षा परिषद्मा जाने कुरा गर्छ। भारतले जान खोज्दा जापानले छोड्छ। अनि अफ्रिकी मुलुकले छोड्लान्? यस्ता विषयमा भारतले खासै गृहकार्य गर्दैन। उसकोे ध्यान छिमेकसँग खुद्रा व्यपार र छुल्याइँमा बितेको छ। २०४६ अघि भारतको अवस्था २०७२ मा फेरि देखाइसकेको छ। अहिलेका पुस्ता छर्लंग भएकाे छ। भारत के हो अहिलेको पुस्ताले पनि बुझिसकेको छ।
नेपालीको आडमा भारतले धेरै फाइदा लिएको छ। तर भारतले त्यसको गुन तिरेको छैन। नेपाललाई राम्रो नजरले पनि हेर्न सकेको छैन। भारतका केही नेता राम्रा पनि छन्। तर त्यहाँको संयन्त्र गलत छ। उनीहरू नेपाली नेतालाई आफू अनुकूल बनाउन चाहन्छन्।
भारत नेपालका सन्दर्भमा चाँडो बदलिने संकेत देखिँदैन। भारतले नेपालमा खेल खेलिरहनेछ। जुन उसका लागि घातक सिद्ध हुँदैछ। तर, पनि त्यसमै लागिपरेको छ। एउटा कुरा के भने भारत नेपालमा खेल्ने खेलमा हार्छ। क्षणिक लाभ लिन सक्ला तर दीर्घकालमा उसलाई त्यो घातक हुन्छ।
नेपालको आन्तरिक मामिलामा भारत पहिलेभन्दा बढी सक्रिय भएको हो?
हो। त्यसमा शंका छैन। अहिले धेरै खेलिरहेको छ। नेपालीले पनि भारतलाई बुझ्दै गएका छन्। अहिले भारतीय सेनामा जाने नेपालीको संख्या नै घटिसक्यो। भारतले पनि नेपालीलाई सधैँ सेनामा अवसर दिनु भन्दा आफ्नै भेगको नेपाली भाषीलाई लिने सोच बनाएको छ। हामी भारतको स्वतन्त्रताको लडाइँमा समेत खटिएका छौँ। नेपालीको आडमा भारतले धेरै फाइदा लिएको छ। तर भारतले त्यसको गुन तिरेको छैन। नेपाललाई राम्रो नजरले पनि हेर्न सकेको छैन। भारतका केही नेता राम्रा पनि छन्। तर त्यहाँको संयन्त्र गलत छ। उनीहरू नेपाली नेतालाई आफू अनुकूल बनाउन चाहन्छन्।
पहिले र अहिले शैली फरक छ। झन् भारतीय जनता पार्टी (बीजेपी) को सरकार आएपछि मित्र जस्तो देखिने तर भित्र कठोर हुन थालेको छ भारत। कांग्रेस आई जस्तो स्पष्ट पनि छैन वर्तमान भारतीय सोच। कुनै बेला भारत हामीभन्दा कमजोर थियो। विहारको अवस्था अझै टिठलाग्दो थियो। हाम्रो भूमिबाट लुटेर खानुपर्ने अवस्था थियो। लुट नियन्त्रण होस् भनेर राजा महेन्द्रले तराईमा पहाडिया बस्ती बसाएका हुन्। महेन्द्रको त्यो सोच सामान्य होइन। हुन पनि नेपालीको दुःख भनेको छिमेकको सबैभन्दा विकट प्रान्तहरुसँग साँध जोडिनु हो। भारतको विहार र चीनको तिब्बत जोडिनु नै हाम्रो दुःखको कारण हो। त्यहाँ विकास हुँदै जाँदा नेपालमा पनि विकास हुने हो।
यस्तो अवस्थामा नेपाल आगामी दिनमा कसरी अघि बढ्ला?
पहिले यहाँ एउटा छिमेकीको मात्र चासो थियो। चीनले त नेपाललाई छिमेकीका रुपमा हेरेकै थिएन। अहिले त उत्तरी छिमेकले पनि निकै चासो राख्न थालेको छ। यहाँ केही भयो कि चीनले प्रतिक्रिया दिइहाल्छ। भलै आफ्नै नियन्त्रित पत्रकारलाई सोध्न लगाएर होस्। नेपाललाई दह्रो गरी अडाइएन भने दलाई लामाका भिक्षु र भारतमा रहेकाहरु चीन पस्छन् भन्नेमा चिनियाँ अधिकारीहरू जानकार छन्। यहाँ सन् २००८ को एउटा घटना स्मरणीय छ।
नेपालमा केही भएमा अब चीन चुप लाग्दैन। त्यो कुरा भुटानमा भएको पछिल्ला घटना मात्र नियाले पनि पुग्छ। जबकि चीनसँग भुटानको कूटनीतिक सम्बन्ध छैन। नेपालको भविष्य राम्रै छ त म भन्न सक्दिनँ।
बेइजिङमा ओलम्पिक हुँदै थियो। काठमाडौँमा तिब्बतीको आन्दोलन चल्यो। बौद्धमा आत्मदाह भयो। यसपछि चीन सतर्क देखियो। नेपालका विषयमा चीन निकै अमिलिएको थियो तर अहिले स्पष्ट भएर चासो राख्न थालेको छ। नेपाल एक्लैले भारतका अनेक किसिमका दलहरु थेग्न सक्दैन। आफू पनि सतर्क हुन आवश्यक छ भनेर चीन लागेको हो। तर चीनलाई नेपालबारे खासै वास्ता छैन।
हामी कतै दुईतिरको तानातानमा त पर्दैनौँ नि?
त्यस्तो तानातानमा परिँदैन। हामी रणनीतिक विन्दुमा छौँ। हाम्रो पानी ढलो भारततर्फ छ। त्यसको उत्पत्ति हाम्रो हिमालबाट भएको छ। हिमालको सीमा चीनसँग जोडिएको छ। पहिले तिब्बतसँग थियो। भारतले अँठ्याउने जति अँठ्याइसकेको छ। नेपालको समस्याप्रति भारत स्पष्ट छ। त्यो चीनको पाटोमा भारतले पनि बुझेको छ। नेपालमा केही भएमा अब चीन चुप लाग्दैन। त्यो कुरा भुटानमा भएको पछिल्ला घटना मात्र नियाले पनि पुग्छ। जबकि चीनसँग भुटानको कूटनीतिक सम्बन्ध छैन। नेपालको भविष्य राम्रै छ त म भन्न सक्दिनँ। नराम्रो पनि देख्दिनँ। २००० मा नेपालको भविष्य जस्तो थियो, २०२२ मा आइपुग्दा खराब भइसकेको अवस्था छैन। तर सन् २०१८ मा देखेको नेपालभन्दा अहिले विकास पनि भएको छ। परिवर्तन धेरै भएका छन्। अन्तर्राष्ट्रिय चियो र चासो बढेको छ।
हाम्रा लागि चिनियाँ चासो कति हितकारी होला?
चीन सबै कुराले शक्तिशाली छ। यहाँ भारतको जस्तो चासो उसको हुँदैन र हुन पनि सक्दैन। चिनियाँ व्यापारीले खुद्रा र थोक दुवै व्यापार गर्छन्। भारत सानो चित्तको सामान्य व्यापारी हो। तर भारतीय इमानदार छैनन्। चीन इमानदार देखिए पनि प्रयोगवादी छ। त्यसैले हामी बीचको धारबाट हिँड्नुपर्ने अवस्था छ। हामी गोर्खाली पाराले अघि बढेर हुँदैन। अलिक विवेक प्रयोग गर्न आवश्यक छ। हुन त पशुपतिनाथले थेगेको मुलुक हो नेपाल। कुलबहादुरहरु जस्ताले थर्काएको मुलुक हो।
अफगानिस्तानमा कुलबहादुरलाई समस्या पर्दा उसले देखाएको अभुतपूर्व साहसले पनि हामी विश्वमा चिनिएका छौँ। नेपालमा धेरै कुलबहादुर छन्। उनीहरुले बेलायत, सिंगापुर र खाडीका मुुलुकलाई पहरा दिइरहेका छन्। गोर्खालीको छोरोलाई केही गरेमा मार्छन् भने सन्देश पनि छ। यो सन्देश बहादुरी हो। तलिवानसँग कुलबहादुरले केही महिनाअघि देखाएको साहस सामान्य थिएन। मुलुकलाई असजिलो पर्दा नेपालीले त्यो साहस निकाल्छ भन्ने उदाहरण २०७२ को नाकाबन्दीमा देखाइसकेको छौँ।
तपाईंले चीन र भारत भ्रमण गर्दा थाहा पाउनुभएका केही कुरा छन् कि?
१९६५ देखि लगातार चीन गएँ। भारत त म आफैँले अध्ययन गरेको मुलुक हो। नगेन्द्रप्रसाद रिजालदेखि गिरिजाप्रसाद कोइरालासम्मको भ्रमणमा चीन गएँ। कतिपय प्रतिनिधिमण्डलको नेतृत्व गरेर दुवैतर्फ गएको छु। नगेन्द्रप्रसादलाई अंग्रेजी बोल्न असहज हुँदा मैले नै दोभाषेको काम गरेँ। त्यो समयमा हामी इमानदार र शालीन ढंगले काम गर्थ्यौँ। अहिले त्यसमा केही विचलन आएको हो कि जस्तो लाग्छ।
म कृष्णप्रसाद भट्टराई, परशुनारायण चौधरी, शैलेन्द्रकुमार उपाध्याय, गिरिजाप्रसाद कोइरालासँग लगातार भ्रमणमा गएको व्यक्ति हुँ। त्यो समयमा मेरो ध्यान प्रायः उनीहरुको साचो र हाम्रो हितमा नै हुन्थ्यो।
यसमा प्रवृत्ति र सोचमा केही परिवर्तन आएको हो कि? कर्मचारीतन्त्रमा पनि राजनीति घुसेको छ। कर्मचारी कुनै दलको हुँदैन र त्यसलाई राजनीति गर्ने थलोको रुपमा विकास गर्न दिन हुँदैन। तर, दिएका छन्। सबैभन्दा ठूलो कुरा इमानदारीको हुन्छ। त्यो कत्तिको छ यसमा निर्भर पर्छ।
चीनसँगको सम्बन्धलाई कसरी नियाल्नुहुन्छ?
म ग्रेट हल अफ दी पिपलमा लगातार जानेमा पर्छु। चीनले नेपाल जोडेर बजाउने गीत अझै गुन्जिएको छ। तर, हामी गीत मात्र सुन्दैनथ्यौँ। उनीहरुको चाह र सोचलाई नियाल्थ्यौँ। उनीहरुको ध्यान भव्य स्वागत गरेर आफू अनुकूल निर्णय गराउने हुन्छ भन्नेमा सधैँ सतर्क हुनुपर्छ। खासगरी उनीहरुको ध्यान वाणिज्य र आपूर्ति सचिवतर्फ हुने गर्छ। उनीहरु साँच्चै पावरफुल हुन्छन् नि। हामी परराष्ट्र-परराष्ट्र भन्छौँ त्यस्तो होइन। परराष्ट्रको टाई यताउता बटारेर ठ्याँ-ठ्याँ मात्र गर्ने हुन्। हाम्रो जस्तो मुलुकको कुरा हुने भनेको वाणिज्य र आपूर्तिको नै हो। म कृष्णप्रसाद भट्टराई, परशुनारायण चौधरी, शैलेन्द्रकुमार उपाध्याय, गिरिजाप्रसाद कोइरालासँग लगातार भ्रमणमा गएको व्यक्ति हुँ। त्यो समयमा मेरो ध्यान प्रायः उनीहरुको साचो र हाम्रो हितमा नै हुन्थ्यो।
भारतीयसँग कुराकानी गर्दा कस्तो हुन्थ्यो?
केही व्यक्तिसँग भारतीय साँच्चै तर्सिन्थे। भारतीयसँग कुराकानी गर्दा शालीन देखिन्थे। सूर्यनाथ उपाध्याय, भुवनेश्वर प्रधान, उद्धवदेव भट्ट, यदुनाथ खनाललगायतका कूटनीतिज्ञसँग भारतीय अलिक हच्किने गरेका थिए। तर हामी प्रशासक सूचनामा कमजोर थियौँ। म मुख्य सचिव भएर सेवा निवृत्त हुँदासम्म हाम्रो पूर्ण भूभागको औपचारिक ज्ञान थिएन। हामी स्रोत र सूचना दुवैमा कमजोर हुँदा पनि छिमेकले फाइदा उठाएका हुन्। तर अब धेरै नेपालीले बुझेका छन्। अध्ययन गरेका नेपालीको संख्या बढ्दो छ। अब त देउवाले तलमाथि गरेको खण्डमा समेत जनताले हकार्छन्, खबरदारी गर्छन् भने छिमेकले गर्दा छोड्लान् र?
भारतको आँखा किन नखुलेको होला?
भारतीयको सोच नै छिमेकलाई नियन्त्रणमा राख्नुपर्छ भन्ने छ। उनीहरुको पकड सबै स्थानमा राम्रो भए पनि सहजचाहिँ छैन।
अमेरिकासँग हाम्रो सम्बन्ध कस्तो छ?
हामीलाई अमेरिकाले निकै मान्छ। हाम्रो देशमा इस्लामिक छैन। हरियाली छ। कुनै पनि आतंकवादी गतिविधि हुँदैन। यहाँ निकै सहज रहेको कुरामा अमेरिकाले बुझेको छ। राष्ट्रसंघ अमेरिकामा छ। त्यसको राजनीतिक पाटो अमेरिकाले नै नियाल्छ। हामीले अमेरिकासँग सम्बन्ध हुँदा छिमेकमा पनि सन्तुलन पार्न आवश्यक छ। नेपालको कूटनीतिक जिम्मेवारीमा जानेले यहाँको स्पष्ट सूचना दिन सक्नुपर्छ। उसले त्यहाँको पनि परिवर्तनको स्पष्ट हुन आवश्यक छ। अमेरिकासँग राम्रो सम्बन्ध छ।
अब प्रसंग बदलौँ, समाज कसरी अघि बढिरहेको जस्तो लाग्छ?
समाज परिवर्तन भएको छ। काम गर्ने मानिसले पद प्राप्त गरिरहेका छन्। त्यति बेलाएउटै मात्र ढोका थिए। अहिले धेरै क्षेत्रमा ढोका खुलेको छ। राजनीति कुरा नै गर्नुहुन्छ भने २०४६ को आन्दोलन नेपाली जनताको थियो। जनता स्वस्फूर्त सडकमा उत्रिएका थिए। त्यसअघि जनमतसंग्रह गर्न राजा बाध्य थिए।
सिमानामा जंगल थियो। त्यहाँ योजना बनाएर पहाडियालाई बसाउने काम भएको हो। गोर्खा बसेको छ भनेपछि विहारीले लुटपाट गर्न छाडेका थिए।
पाकिस्तानमा भुट्टो झुन्डिएपछि यहाँ आन्दोलन भयो र जनमत संग्रह भयो। त्यहाँ अलिकति झेल पनि भएको छ। त्यो कुनै उद्देश्यमा अडेर भएको थियो। २०६२/०६३ को आन्दोलन पनि जनस्तरबाटै भएको हो। यहाँको मात्र चासो रहेर आन्दोलन भएको चाहिँ होइन। यसले सबै राम्रो गरेको भन्ने नै हो। यो सबै समाज र मानिसको चेतना परिवर्तनकै कारण सम्भव भएको हो।
समाज परिवर्तन हुनाको कारण?
शिक्षाका कारण परिवर्तन भएको हो। परिवर्तन त पहिला पनि बिस्तारै भएको थियो। अहिले ह्वात्त भएको छ। मलाई काठमाडौँबाट भैरहवा पुग्न तीन-चार दिन लागेको थियो। अहिले चार घण्टामा पुगिन्छ। मेचीदेखि महाकालीसम्मको यात्रा म १० घण्टामा पूरा गर्न सक्छु भन्ने कुरा मैले २०१९ सालामा सोचेको पनि थिइनँ। मुलुक नै ठूलो भएको थियो। पहिले मुलुककै बजेट नै तीन करोडको थियो भने अहिले खर्बमा बजेट बन्नेगरेको छ।
उतिबेला जनताप्रति राजतन्त्रको सोचाइ कस्तो पाउनुहुन्थ्यो?
राजा जनताप्रति उत्तरदायी थिए। जनतासँग हच्किन्थे। अहिलेका राजनीतिज्ञमा त्यो देखिँदैन। यो खराब पक्ष हो। परिवर्तनलाई खराब भन्न मिल्दैन। खोलामा प्रत्येक पल नयाँ पानी बग्छ। राजनीतिमा पनि त्यो देखिन्छ। सबै कुरामा परिवर्तन हुन्छ भने राजाको शासन परिवर्तन हुँदैन भन्ने कसरी सोच्ने?
तीस वर्षअघिको विकास र अहिलेको विकासलाई कसरी नियाल्नुहुन्छ?
अहिले पनि विकास भएको छ। उति बेला पनि भएकै थियो। सिमानामा जंगल थियो। त्यहाँ योजना बनाएर पहाडियालाई बसाउने काम भएको हो। गोर्खा बसेको छ भनेपछि विहारीले लुटपाट गर्न छाडेका थिए। नेपालीहरू बसाइँ सराइ गर्न रुचाउने हुनाले त्यसलाई नै राजा महेन्द्रले सम्बोधन गरेका हुन्। सीमामा नेपालीलाई लगेर राखेका थिए। पहाडमा खासै उब्जाउ हुने स्थान थिएन। उब्जाउ आवश्यक थियो। त्यसैले पनि काम गर्न आवश्यक छ। चारकासे झाडी मेचीदेखि नै जोडिएको थियो। पूर्वपश्चिम राजमार्ग बनेपछि बस्ती बस्न थाल्यो। अनि विकास सम्भव भयो।