बेइजिङ- अमेरिकाले नेपालसँगको सहकार्यमार्फत ‘जबरजस्ती कूटनीति’ सुरू गरेको भन्दै चीनले विरोध गरेको छ । चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले फेब्रुअरी १८ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिकाले नेपालसँगको सहकार्यमार्फत ‘जबरजस्ती कूटनीति’ सुरू गरेकोमा चीनले यसको विरोध गरेको बताएका हुन् ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले हालै नेपालले फेब्रुअरी २८ अघि दुई देशहरू बीच मिलेनियम च्यालेन्ज (एमसीसी) सम्झौता अनुमोदन गर्ने कि नगर्ने निर्णय गर्नुपर्ने, अन्यथा यसले दुई देशबीचको कूटनीतिक सम्बन्ध प्रभावित हुने बताएका थिए । यसै गरी नेपालका विभिन्न राजनीतिक दलका गुटहरू बीच पनि अझै मतभेदहरू रहेका छन् र एमसीसीलाई संसदमा टेबुल गर्ने विषयमा पनि सहमति भएको छैन । यसबाहेक, नेपाली जनताले सडकमा एमसीसी विरुद्ध प्रदर्शन पनि गरिरहेका छन् । यही पृष्ठभूमिमा चाइना नेशनल रेडियोका पत्रकारले फेब्रुअरी १८ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा चीनको टिप्पणी के छ भनी प्रश्न राखेका थिए ।
सो प्रश्नको जवाफ दिँदै प्रवक्ता वाङले अन्तर्राष्ट्रिय समुदायले नेपालको आर्थिक वृद्धिमा योगदान पुर्याउन नेपालसँग विकास सहयोग गरेको देख्दा चीन खुसी रहेको र उक्त सहयोग नेपाली जनताको इच्छाको पूर्ण सम्मानमा आधारित हुनुपर्ने तथा कुनै राजनीतिक शर्त जोड्न नहुने बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय समुदायले नेपालको आर्थिक वृद्धि र जीविकोपार्जनको सुधारमा योगदान पुर्याउन नेपालसँग गरेको विकास सहयोगको चीनले स्वागत गर्दछ । तर, यस्तो सहयोग नेपाली जनताको इच्छाको पूर्ण सम्मानमा आधारित हुनुपर्छ र कुनै पनि राजनीतिक शर्त नजोडिएको हुनुपर्छ । हामी जबरजस्ती कूटनीति र नेपालको सार्वभौमसत्ता र हितलाई हानी पुर्याउने कार्यहरूको विरूद्धमा छौँ ।’
यसै गरी, प्रवक्ता वाङले नेपालसँग मैत्रीपूर्ण छिमेकी सम्बन्ध र विकास साझेदारी गरिरहेको चीनले नेपाली जनतालाई आफ्नो स्वतन्त्र विकासको बाटोको छनौटमा सदा समर्थन गर्ने तथा राष्ट्रिय हित र जनताको इच्छालाई प्रतिबिम्बित गर्ने सही छनोटकालागि नेपाललाई समर्थन गर्ने र नेपालको आर्थिक तथा सामाजिक विकासमा आफ्नो क्षमता अनुसार सहयोग र समर्थन गरिरहने पनि उल्लेख गरे ।