काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डा. स्वर्णिम वाग्ले चितवन क्षेत्र नं १ बाट उम्मेदवार सिफारिस भएका थिए। चितवनमा नमिले गोरखा वा काठमाडौँ-५ बाट भए पनि निर्वाचनमा होमिने उनको चाहना थियो।
असोज १३ गते हिमालप्रेसमा प्रकाशित अन्तर्वार्तामा वाग्लेले बढीमा दुई कार्यकाल कार्यकारी भूमिकामा रहेर काम गर्न चाहेको बताएका थिए। तर संसद्मा रहेर प्रभावकारी भूमिका खेल्ने र कार्यकारी पदमा पुग्ने अर्थशास्त्री वाग्लेको चाहना पूरा हुन सकेन। यद्यपि निर्वाचन स्वर्णिमका लागि ‘स्वर्णिम’ समय बनेर आएको छ।
कांग्रेसको चुनाव घोषणापत्र (संकल्पपत्र) मस्यौदा समितिका संयोजक वाग्ले प्रतिनिधिसभाको उम्मेदवार बन्न त पाएनन्। तर उनले कांग्रेसका अन्य उम्मेदवारका लागि ‘अनिवार्य प्रचारक’ बनेर राजनीतिक उचाइ बढाउने मौका पाए। उनको पहिचान नेताका रूपमा बदलिएको छ। निर्वाचनमा मनोनयन दर्तापछि उनी देशव्यापी रूपमा सक्रिय हुनुले यसको पुष्टि हुन्छ।
वाग्लेजस्तै प्रतिनिधिसभामा उम्मेदवार बन्न नपाएका अन्य दुई हस्ती हुन् डा. मिनेन्द्र रिजाल र डा. गोविन्दराज पोखरेल। यी दुवै नेता चुनाव प्रचारमा देशव्यापी दौडिरहेका छन्।
डा. रिजाल मोरङबाट प्रतिनिधिसभाको निर्वाचन लड्ने तयारीमा थिए। वाग्लेले जस्तै उनले पनि त्यो अवसर पाएनन्। यसअघि रिजालले रक्षा मन्त्रालयको नेतृत्वमा रहेकै बेला पार्टी महामन्त्रीमा पराजित भएपछि नैतिकताका आधारमा राजीनामा दिएका थिए।
डा. पोखरेल पनि प्युठानबाट प्रत्यक्ष टिकटका आकांक्षी थिए। अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा उनी वाम गठबन्धनकी उम्मेदवार दुर्गा पौडेलसँग पराजित भएका थिए।
अर्थराजनीतिका जानकार यी तीन जनाको चुनावी ‘क्याम्पिन’ कात्तिक १० गते काठमाडौँ-५ बाट सुरु भएको हो। उनीहरू मिलेर देशभरका कार्यकर्तादेखि मतदाताबीच पुगिरहेका छन्। हालसम्म यी तीन नेता देशभरका २० निर्वाचन क्षेत्रमा पुगिसकेका छन्।
रिजाल, पोखरेल, वाग्लले नचिनिएका नयाँ उम्मेदवारका लागि मात्रै होइन, पार्टीका शीर्ष र चर्चित अनुहारका निर्वाचन क्षेत्रमा पनि सम्बोधन गरिसकेका छन्।
उनीहरूले शेखर कोइराला, गगन थापाका क्षेत्रदेखि झापा, चितवन, नवलपुर, प्युठान बर्दिया, कास्की, नुवाकोट, मकवानपुर, गोरखालगायत जिल्लामा पुगेर चुनावी भाषण र भेला गरे। धेरै ठाउँका अन्तरक्रिया कार्यक्रममा सम्बोधन गरिसकेका छन्।
कांग्रेसले उम्मेदवारीको टिकट नदिएपछि वाग्ले र पोखरेललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र उठे आफ्नो पार्टीले सघाउने वचन दिएका थिए। यसबारे डा. वाग्ले, पोखरेल र ओली स्वयंले सार्वजनिक अभिव्यक्ति पनि दिइसकेका छन्।
ठूलो पार्टीका अध्यक्षले सघाउने वचन दिँदा पनि उनीहरू आफ्नो सिद्धान्त र पार्टीप्रति प्रतिबद्ध भएरै बसे। टिकट नपाएको झोकमा केही नेताले गर्नेजस्तो बागी बन्ने वा असहयोगको भावना राखेनन् कांग्रेसलाई चुनाव जिताउने ‘क्याटलिस्ट’ बनेर अगाडि बढ्न झन् कम्मर कसे।
उनीहरूले चुनावी अभियानमा गरेको भाषण र दिएको सार्वजनिक अभिव्यक्ति परिपक्व देखिन्छ। यी नेताले मतदातालाई रिझाउने शब्द प्रयोग गर्नेभन्दा पनि वस्तुपरक र स्रोत सुनिश्चिततासहितको योजना सुनाइरहेका छन्।
अन्तर्राष्ट्रिय डिग्री लिएका, अन्तर्राष्ट्रिय निकायदेखि योजना आयोगजस्तो ‘थिंक ट्यांक’मा काम गरेका वाग्ले र पोखरेलको समाजप्रतिको बुझाइ पनि बलियो देखिन्छ। वाग्ले र पोखरेलका साथै रिजालका चुनावी भाषणमा प्रयोग भएका शब्द, तर्क, तथ्य र तथ्यांक आममानिसले बुझ्ने खालका छन्।
नेता रिजालले ४० वर्षदेखि सँगै हिँडेका साथीलाई टिकट नदिएर नेतृत्वले विभेद गर्दा दुःख लागे पनि मतदाताले देखाएको हौसलाका कारण त्यसलाई भुलेको बताए। उनले भने, ‘नेतृत्वमा ४० वर्षदेखि सँगै सहकार्य गरेका साथीभाइ, सँगै हिँडेको मान्छे हुँदाहुँदै पनि हामीलाई नपत्याउनु र विभेद गर्नु भनेको हाम्रो दल कुन हदसम्म गिरेको रहेछ भन्ने लागेको थियो। तर जनताकहाँ जाँदा त्यस्तो अनुभूति भएन।’
उनले अब पार्टीलाई माथि लैजान सकिने आँट पनि बढेको बताए। नेता रिजालले भने, ‘म उम्मेदवार नहुँदानहुँदै पनि साथीभाइकहाँ पुगेर उनीहरूलाई भेट्दा र आफ्नो कुरा राख्दा पार्टीलाई हामीले फेरि माथि लैजान सकिन्छ भन्ने विश्वास बढेको छ।’
जानकारहरूका अनुसार यी तीन अनुहार र कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा कांग्रेसका भोट बढाउने बलियो माध्यमका रूपमा देखिएका छन्। राजनीतिशास्त्री प्रा. कृष्ण पोखरेल भन्छन्, ‘सक्षम र युवा पुस्ताका व्यक्ति चुनावी अभियानमा लाग्दा त्यसले पार्टीलाई कतै न कतै फाइदा गर्छ नै।’ अन्य पार्टीको दोस्रो पुस्तामा यत्तिको सशक्त व्यक्ति नदेखिएकाले धेरैको आस यी पाँच अनुहारमा नै रहेको पोखरेलको बुझाइ छ।