इटहरी- पुरानै व्यक्तिहरू दोहोरिएर घरदैलोमा भोट माग्न आउँदा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी २ का मतदाता त्यति उत्साहित देखिएका छैनन्। यद्यपि उम्मेदवारहरू घरदैलोमा सक्रिय छन्।
विगतमा निर्वाचन जितेर गएपछि एकपटक नफर्किएका नेताहरू फेरि लोभलाग्दा आश्वासन बाँड्न आएपछि चुनावप्रति उत्साह नदेखिएको मतदाताहरू बताउँछन्। ‘वैकल्पिक उम्मेदवार’ चाहेका सुनसरी २ का मतदाताले यसपटक पनि ‘टेस्ट’ भइसकेका व्यक्ति आएपछि चुनावप्रति चासो नदेखाएका हुन्।
यस क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सीताराम मेहता पुनः चुनावी मैदानमा छन्। एमालेले भीम आचार्यलाई चुनावी मैदानमा अगाडि सारेको छ। एकअर्कालाई आरोपप्रत्यारोपमै व्यस्त भएका उनीहरूसँग जनतासमक्ष जाने स्पष्ट एजेन्डा नहुँदा पनि अलमलमै चुनावी प्रतिस्पर्धामा होमिएका छन्।
२०७० र ०७४ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित मेहता पूर्वराज्यमन्त्रीसमेत हुन्। यसपटक यस क्षेत्रका कांग्रेसीहरूले ‘फ्रेस’ प्रतिनिधि पठाउने बताए पनि पार्टीले उनै मेहतालाई अगाडि सारेसँगै अहिले कार्यकर्ताहरू मेहतासँगै मत माग्न व्यस्त छन्।
०७४ को निर्वाचनमा मेहताले वाम गठबन्धनका हिमाल सुवेदीलाई पराजित गरेका थिए। ०७४ मा मेहताले ४१ हजार ४९५ मत ल्याउँदा पराजित सुवेदीको ३५ हजार ३४९ मत आएको थियो।
मेहता अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेर संविधानमाथि प्रहार गरेको आरोप लगाउँदै आफूलाई पार्टीले विश्वास गरेर पुनः टिकट दिएको र जनताको हितमा काम गर्ने भन्दै आश्वासन बाँडिरहेका छन्।
सुनसरी सदरमुकाम इनरुवा निवासी मेहतालाई इटहरीतिरका कतिपय कार्यकर्ताले भने इनरुवा केन्द्रित भएको आरोप लगाउँदै आएका छन्। उनीमाथि इनरुवा एक भएर इटहरीलाई ‘बायस’ गरेको समेत आरोप लाग्ने गरेको छ। यद्यपि उनी सादगी र सरल स्वभावका भनेर परिचित छन्।
सोही कारण उनले लोकप्रिय नेताको छवि बनाएका छन्। ०७४ को निर्वाचनमा ‘गरिबको नेता, सीताराम मेहता’ नाराले उनलाई चुनाव जित्न सहज भएको थियो। तर यसपटक भने उनी ‘गरिबको नेता’ भनेर छुट हुने अवस्थामा छैनन्। कतिपय युवा कार्यकर्ताले अधिकांश कार्यक्रममा उनलाई शिक्षा, स्वास्थ्य, खानेपानी, बेरोजगारी निरुत्साहन तथा भौतिक विकास निर्माणका कामबारे पनि प्रश्न गर्न थालेका छन्।
सोही कारण पनि यसपटक सहज जित निकाल्न मेहतालाई चुनौती छ। लगातार दुईपटक चुनाव जितेर यातायात तथा भौतिक पूर्वाधार राज्यमन्त्री भइसकेका उनी गठबन्धनको बलका कारण चुनाव जित्ने कसरतमा छन्।
यस निर्वाचन क्षेत्रमा पर्ने इटहरी, इनरुवा, रामधुनी, देवानगन्ज र हरिनगरमा कांग्रेसको बाक्लो उपस्थिति छ। माओवादी, नेकपा एकीकृत समाजवादीलगायतको मत रहेका कारण र जातीय ‘प्याटर्न’ को मत आउने भएकाले मेहता फेरि पनि चुनाव जित्नेमा विश्वस्त छन्।
एमालेका भीम आचार्य पनि गठबन्धनका उम्मेदवार मेहतालाई पराजित गरेर संघीय संसद्मा बढुवा हुने अभ्यासमा छन्। एमाले स्थायी कमिटी सदस्य आचार्य यसअघि प्रदेश १ का मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन्।
एमालेको १० बुँदे पक्षधरका आचार्य पार्टीभित्र माधवकुमार नेपालसँग नजिक थिए। तर प्रदेश १ को मुख्यमन्त्री पाउने लोभमा उनी पार्टीभित्रै रहे। ६७ दिन मुख्यमन्त्री भएका आचार्यको कार्यकालमा प्रदेश १ को नामकरणको विषय संसद्मा प्रवेश नपाउँदा आलोचितसमेत बनेका थिए।
आफ्ना मान्छेलाई मात्रै च्याप्ने गरेको र १० बुँदे पक्षधर रहेका कारण आचार्यलाई ओली समूहले त्यति रुचाउँदैन। ०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा सुनसरी २ मा रेवती भण्डारीलाई टिकट नदिएको भन्दै उनीमाथि आरोप लगाइएको थियो।
ओली निकटका उनै भण्डारीलाई यसपटक सुनसरी २ (क) बाट प्रदेशसभा सदस्यमा टिकट दिएपछि अहिले दुवैजना एकअर्कालाई मत मागिरहेका छन्।
आचार्य २०६४ सालको निर्वाचनमा सुनसरी क्षेत्र नं. ६ बाट विजयी भएर पहिलो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। २०७० सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट जितेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका आचार्य २०७४ को निर्वाचनमा भने सुनसरी क्षेत्र नं. १ (ख) बाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए। पार्टीभित्र लामो रस्साकस्सी र नेकपा फुटका कारण उनले मुख्यमन्त्री हुने अवसर पाएका थिए। मुख्यमन्त्री हुनकै लागि माधव नेपालसँग टाढिएर उनी एमालेमै रहेका थिए।
उनले यसअघि पार्टीभित्र प्रभाव देखाए पनि विकास निर्माणका काममा भने उदासीनता देखाएको कतिपयको आरोप छ।
पटकपटक चुनाव लड्दा पनि पराजित नभएका आचार्यले यसपटकको निर्वाचनमा कांग्रेसका मेहतालाई पराजित गरी शक्तिमा पुग्ने कसरत गरिरहेका छन्। पार्टी राजनीतिसँगै पटकपटकको आमनिर्वाचनमा विजयी भएका आचार्य मुख्यमन्त्रीसमेत भइसकेकाले आगामी निर्वाचन उनका लागि प्रतिष्ठाको सवाल बनेको छ।
यसअघि सुनसरी १ बाट प्रतिनिधिसभा सदस्यमा उनको चर्चा थियो। तर एमाले-जसपाको गठबन्धनले निर्वाचन क्षेत्र १ मा जसपाका अशोक राईलाई अगाडि सारेसँग आचार्य सुनसरी २ बाट उम्मेदवार बनेका हुन्।
पार्टीभित्रै पनि आलोचित बन्ने गरेका उनी अहिले कांग्रेसका उम्मेदवारप्रति विकास निर्माणका काम नगरेको आरोप लगाउँदै प्रतिस्पर्धामा होमिएका छन्।
सुनसरी २ मा दुवै पार्टीका यी दुई उम्मेदवारमध्ये एकलाई जनताले रोज्ने निश्चितजस्तै छ। वैकल्पिक उम्मेदवार बलियो नहुँदा एकपटक ‘टेस्ट’ भइसकेका उनीहरूमध्ये कसको पल्लाभारी हुने भन्नेबारे मंसिर ४ नै पर्खिनुपर्ने हुन्छ।
सुनसरी २ मा इटहरी उपमहानगरपालिकाका १ देखि ५ र १६ देखि २० नम्बर वडा पर्छन्। यस्तै, रामधुनी नगरपालिकाका १, २, ३, ५, ८ र ९ नम्बर वडा समावेश छन्। देवानगन्ज गाउँपालिकाका सबै वडा, हरिनगरा गाउँपालिकाका ३ नं. वडा र इनरुवा नगरपालिकाको १, २, ५, ६, ९ र १० नं. वडा यस क्षेत्रमा पर्छन्।
यी पालिकामध्ये गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा इटहरी, इनरुवा र हरिनगरामा कांग्रेसले जितेको छ भने रामधुनीमा एमाले र देवानगन्जमा जसपाले जितेको छ।