काठमाडौँ- आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ललितपुर जिल्लाअन्तर्गत छनोट भएका म्यादी प्रहरीको तालिम जाउलाखेलस्थित खेल मैदानमा चलिरहेको छ।
प्रहरी प्रधान कार्यालयबाट २०७९/६/२६ गते प्रकाशित विज्ञापनअनुसार दरखास्त दिई सबै छनोट प्रक्रिया पूरा गरेका एक लाख १५ हजारले अहिले देशैभरि तालिम लिइरहेका छन्। म्यादी प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड २०७९ अनुसार एक लाख पन्ध्र हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गर्दा देशभरबाट २ लाख ३२ हजार ८८ जनाको निवेदन प्राप्त भएको थियो।
त्यसमध्ये १ लाख ७१ हजार ७१८ जना पुरुष र ६० हजार ३७० जना महिला थिए। छनोट भएका म्यादी प्रहरीको कार्यावधि ४० दिनको हुने छ। पारिश्रमिक, खाद्यान्न, यातायात, पोसाक तथा अन्य सामग्री खरिदका लागि प्रतिव्यक्ति लगभग ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।