इटहरी- सुनसरी क्षेत्र नं. २ (क) को प्रदेशसभा निर्वाचनमा मतदाता त्यति उत्साहित देखिएका छैनन्। एकपटक ‘टेस्ट’ भइसकेका र ‘विवादास्पद’ छविका उम्मेदवारलाई पार्टीले पुनः अगाडि सार्दा मतदाता निरुत्साहित देखिएका हुन्।
यस क्षेत्रमा गठबन्धनतर्फ माओवादीबाट उम्मेदवार बनेका द्वारिकलाल चौधरी र एमालेका रेवतीरमण भण्डारी नयाँ उम्मेदवार होइनन्। त्यसैले उम्मेदवार र नजिकका कार्यकर्ताबाहेक मतदातामा चुनावको उत्साह देखिएको छैन।
मतदाता उत्साहित नहुनुको अर्को कारण हो, लामो समयसम्म एउटै दलमा रहेका पूर्वसहकर्मी। चौधरी एमाले सुनसरीका पूर्वअध्यक्ष तथा इटहरी उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख हुन्।
दुवै जना एमाले सुनसरीमा लामो समयसम्म सँगै राजनीति गरेका व्यक्तित्व हुन्। अहिले उनीहरू भिन्नाभिन्नै दलबाट प्रदेशसभा सदस्यको प्रतिस्पर्धामा छन्। चौधरी र भण्डारीबीच पहिल्यैदेखि सम्बन्ध तिक्तता भए पनि उनीहरू राजनीतिक हितैषी मानिन्छन्।
एमालेबाटै इटहरीको नगर प्रमुख भएका चौधरीलाई गत असोज १६ गतेमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा स्वागत गरेका थिए। माओवादी प्रवेश गरेका चौधरी एमाले सुनसरीको करिब एक वर्षअघि भएको जिल्ला अधिवेशनमा भण्डारीसँग पराजित भएका थिए।
कुल १८०५ मत खस्दा भण्डारीले ९२० मत प्राप्त गरे भने चौधरीले ८० मत प्राप्त गरेका थिए भने इनरुवाका खेमराज पोखरेलले ७७५ मत पाएका थिए। चौधरी सोही अधिवेशनयता एमालेसँग रुष्ट थिए।
त्यसो त इटहरीको प्रमुख रहँदा चौधरी पटकपटक ‘विवादास्पद’ छवि बनाएका व्यक्ति हुन्। उनले कहिले पत्रकारमाथि दुर्व्यवहार त कहिले महिलामाथि दुर्व्यवहारको आरोप सहनुपरेको थियो। सेवाग्राहीलाई कार्यालयमै थुनेका चौधरीले कर्मचारीलाई पनि कुटेका थिए। पटकपटक विवादमा मुछिएका उनी भ्रष्टाचारविरोधी भनेर चिनिन्छन्। भ्रष्टाचारविरोधी अभिव्यक्ति दिएकै कारण उनले देशभर चर्चा कमाएका थिए।
वैशाखमा भएको स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरको मतगणना जारी रहँदा चौधरीले ‘सुनसरीमा एमाले होइन, संघीयताविरोधीका प्रतिनिधिहरूले हार्दैछन्, चेतना भया’ भनेर सामाजिक सञ्जालमा लेखेका थिए। त्यति बेला पार्टीभित्रैबाट उनको आलोचना भएको थियो। ‘सुनसरीमा टुरिस्टहरूको बेहाल’ भनेर चुनाव केन्द्रित स्टाटस राखेपछि पनि उनी विवादमा तानिएका थिए।
स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा एमालेको निराशाजनक मत प्राप्त भएपछि चौधरीले ‘इटहरीमा यारेलको छटपटी’ भनेर सामाजिक सञ्जालमा राखेका थिए। उनले यारेल भनेर यामकुमार सुब्बा, रेवती भण्डारी र लक्ष्मी गौतमको नाम लिएका हुन्।
सुब्बा एमालेबाट गत स्थानीय तह निर्वाचनमा मेयर उम्मेदवार थिए। भण्डारी एमाले सुनसरी अध्यक्ष तथा गौतम इटहरीकी निवर्तमान उपप्रमुख हुन्। चौधरी र गौतम एकै पार्टीबाट ०७४ को निर्वाचनमा इटहरीको प्रमुख र उपप्रमुखमा विजयी भए पनि उनीहरू एकआपसमा भने वैमनस्यमै कार्यकाल बिताएको एमाले कार्यकर्ता सुनाउँछन्।
चौधरी यसपटक जित्नैपर्ने बाध्यतामा छन्। चौधरी तत्कालीन हाँसपोसा गाविसमा २०४९ र २०५४ दुवै चुनावमा एमालेबाटै अध्यक्ष निर्वाचित भएका थिए। हाँसपोसासहित अन्य चारवटा पालिका गाभेर उपमहानगर बनाएपछि इटहरीको मेयरमा ०७४ मा एमालेबाटै विजयी भएका उनी सत्ता र शक्तिको आसपास रहन चाहने व्यक्तिमा पर्छन्।
त्यसैले उनी माओवादी शून्य रहेको इटहरीमा गठबन्धनको बलले चुनाव जित्ने कसरतमा छन्। थारू समुदाय बाहुल्य रहेकाले सो समुदायबाट आएको मत र एमालेका असन्तुष्ट पक्षलाई आकर्षित गरी चुनाव जित्ने रणनीति उनको छ।
माओवादी केन्द्र इटहरीका नेता नवराज मैनालीले संविधानरक्षाका लागि बनेको गठबन्धनले इमानदारीपूर्वक मत हालेमा चौधरीले चुनाव जित्ने दाबी गरे।
‘इटहरीमा माओवादीको संख्या त नील छ नि’, भन्ने प्रश्नमा मैनालीले भने, ‘माओवादी नील भएको होइन। हामीले जितेनौँ होला। ब्यालेटको प्रतिस्पर्धामा एउटा प्रतिनिधिले जितेर गयो। तर मतदाताका हिसाबमा हामी नील छैनौँ।’ व्यक्तिगत पूर्वाग्राहीले चौधरीलाई विवादमा मुछे पनि भ्रष्टाचाररहित छवि बनाएकाले चुनाव जित्न सहज हुने उनको तर्क छ।
उनले भने, ‘हिजो द्वारिकलाल चौधरी नेकपा हुँदा पनि हामीसँग हुनुहुन्थ्यो। पछि उहाँको पार्टीभित्र विवाद भयो। विवादचाहिँ उहाँका व्यक्तिगत पूर्वाग्राही मानिसले ल्याइदिने हुन्।’
राजनीतिमा सफल भएको मानिसले विवाद चिर्न अप्ठ्यारो नहुने मैनालीले तर्क गरे। यसअघि यस क्षेत्रमा एमालेले जिते पनि विकास निर्माणका काममा निरुत्साहित भएको उनको आरोप छ। उनले एमाले विवादमै रनभुल्ल परेको र कांग्रेससहितको गठबन्धनको साथ रहेका कारण आफूहरू चुनाव जित्ने दाबी गरे।
एमालेबाट उम्मेदवार भएका भण्डारी इटहरीस्थित जनता बहुमुखी क्याम्पसका अध्यक्ष हुन्। संविधानसभा सदस्य तथा इटहरीको प्रथम उपमेयर भइसकेका भण्डारी एमाले सुनसरीका अध्यक्षसमेत हुन्। संविधान मस्यौदा समितिका सदस्यसमेत रहेका भण्डारी कानुनविज्ञ मानिन्छन्।
भण्डारीलाई क्याम्पसको ‘असफल’ अध्यक्ष भनेर आरोप लाग्ने गरेको छ। सत्ता र शक्तिको भोकले क्याम्पसको अध्यक्ष बनेका भण्डारीको कार्यकालमा लामो समयसम्म तालाबन्दी हुँदै आएको छ। एमाले निकट अनेरास्ववियुसहित ६ विद्यार्थी संगठनले कर्मचारी नियुक्तिको विषयलाई लिएर गत असार २ गते क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरे पनि विवाद सुल्झिएको छैन। क्याम्पसमा झण्डै पाँच हजार विद्यार्थी अध्ययनरत छन्। भण्डारी अध्यक्ष भएयता क्याम्पसमा पटकपटक विवाद चुलिँदै गएको छ।
यसपटक एमालेलाई कुनै हालतमा जित्नैपर्ने बाध्यता छ। ०७४ को प्रदेशसभा निर्वाचनमा एमालेका सर्वध्वज साँवा निर्वाचित भएका थिए। तर एमालेभित्रैबाट भण्डारीलाई असहयोग हुन सक्ने कार्यकर्ताहरू बताउँछन्।
सीमित मानिसको घेराबन्दीमा परेका कारण उनलाई एमालेभित्रैका कार्यकर्ताले रुचाउँदैनन्। संस्थापन पक्षका भण्डारीले आफू निकटकालाई मात्रै महहत्त्व दिने गरेको गुनासो कार्यकर्ताको छ। त्यसैले एमालेका १० बँदे पक्षधरले भण्डारीलाई रुचाउँदैनन्।
प्रतिनिधिसभा सदस्यको दाबी गर्दैै आएका भण्डारीलाई प्रदेशसभामा पन्छाएर एमालेले भीम आचार्यलाई सुनसरी २ बाट प्रतिनिधिसभा सदस्यको टिकट दिएको छ। कुनै बेला आचार्यको खरो विरोधमा उत्रने भण्डारी अहिले उनीसँगै मत माग्न सक्रिय छन्।
२०७४ माघ २ गते प्रदेश १ को संसदीय दलको नेता चयन गर्न भएको मतदानमा आचार्यलाई हराउन लागिपरेका भण्डारीले स्थानीय चुनावमा पनि आफू निकटकालाई मात्रै टिकट वितरण गरेको आरोप लगाएका थिए।
एमालेमा रहँदा माधवकुमार नेपाल पक्षका आचार्यको विपक्षमा भण्डारी खुलेरै विरोध गर्थे। नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेपछि आचार्य भने मुख्यमन्त्रीको पाउने आश्वासनमा एमालेमै रहेका थिए।
संविधानसभा सदस्य र इटहरीको प्रथम उपमेयर भइसकेका भण्डारी क्याम्पसको पनि अध्यक्ष भएपछि पार्टी कार्यकर्ताले उनको आलोचना गरेका थिए।
अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य जीबी गजल भने भण्डारीले सहजै निर्वाचन जित्ने दाबी गर्छन्। ‘एमालेले जित्ने आधार भनेको इटहरी एमालेका लागि उर्वर क्षेत्र हो,’ गजलले भने, ‘एमालेको खास प्रतिस्पर्धा कांग्रेससँग हुने हो। यहाँ कांग्रेसका उम्मेदवार नहुँदा पनि एमालेले सहजै जित्छ।’
उनले इटहरीमा माओवादी नील भएको र द्वारिकलाल भर्खरै माओवादीमा प्रवेश गरेको भएकाले एमालेले मत पाउने दाबी गरे।
‘चौधरी विवादास्पद भएको र उनले पहाडे समुदायलाई जातीय रङ दिने गरेकाले पनि पहाडे समुदायले उनलाई मत हाल्नसक्ने अवस्था छैन,’ एमालेमै रहँदा त तपाईँहरूले आवाज उठाउनुभएन, राजनीतिक प्रतिशोध हो भन्ने प्रश्नमा यसअघि उनले थपे, ‘राजनीतिमा अलिअलि विरोध र प्रतिशोध हुन्छ। उहाँले मेयर रहँदा पटकपटक विवादास्पद गतिविधि गरेपछि हामीले पार्टीभित्रै कुरा उठाएका थियौँ, मिडियामा आएको थिएन।’
द्वारिकलाल उग्र तरिकाले प्रस्तुत हुने र जातीय रङ दिने गरेको उनको आरोप छ। ‘मेयर हुँदा कर्मचारी कुट्ने, महिलामाथि अभद्र व्यवहार गर्नेजस्ता दर्जनौँ विवाद छन्,’ क्याम्पसको अध्यक्ष हुँदा एमालेका भण्डारी ‘फेलियर’ भए नि भन्ने प्रश्नमा गजलले भने, ‘क्याम्पसको विषय र चुनावको विषय फरक हो। क्याम्पसमा तालाबन्दी हुनुमा अध्यक्ष मात्रै दोषी हुनुहुन्न। उहाँले सबैलाई मिलाएर लैजान खोज्नुभएको थियो।’
वैकल्पिक उम्मेदवारको सम्भावना नभएको र जातीय रूपमै मत विभाजन हुने उनको विश्लेषण छ।
सुनसरी २ (क) प्रदेशसभा क्षेत्रमा इटहरी उपमहानगरपालिका वडा नम्बर १, २, ३, ४, ५, १६, १७, १८, १९ र २० वडा तथा रामधुनी नगरपालिकाका वडा नम्बर ३ र ५ पर्छन्।
एकपटक जनताबाट अनुमोदित भइसकेका दुवैको बलियो विकल्प नहुँदा यस क्षेत्रमा जनता आजित छन्। दुईमध्ये को अनुमोदन हुन्छन् भनेरचाहिँ मंसिर ४ पर्खिनैपर्छ।