काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एकाएक चुनावी क्षेत्र फेरे। हुन त यस निर्वाचनमा क्षेत्र फेर्ने उनी मात्र होइनन्। अन्य पनि छन्। गएको प्रतिनिधिसभामा काठमाडौँ-२ बाट लडेका उनले यतिबेला पुरानो क्षेत्र रौतहट-१ नै सुरक्षीत ठाँने, उतै लागे। नेपालले रौतहट रोज्नुको कारण थियो, काठमाडौँमा पार्टीको जनमत कमजोर हुनु र सत्ता गठबन्धनको भर नहुनु। रौतहट नेपालको गृहक्षेत्र हो। तर २०७४ को निर्वाचनमा भने नेपाल वाम गठबन्धनको साथ पाएकाले काठमाडौँमै भुलिए।
एमालेको बढ्दो जनमतमा बाम गठबन्धनको ‘जलप’ मिसिएपछि उनले रौतहट पुग्नुपर्ने जरुरी ठानेनन्। तर अहिले परिस्थिति बदलिएको छ। उनी एमालेबाट बिद्रोह गरेर नयाँ पार्टीमा छन्। नयाँ पार्टीमा उस्तो जनमत देखिदैन। चुनाव चिह्न समेत ब्रान्डिङ गर्न पर्ने छ। सायद यसैले उनले सुरक्षित क्षेत्र खोज्दा रौतहट पुगे।
नेपालनिकटका अनुसार उनी ‘अन्तिम चुनाव’ भन्दै मत मागिरहेका छन्। अहिले नेपालसँग आफ्नो मात्र नभई पार्टीको ‘भाग्य’ हातमा छ। २०७४ को चुनाव लड्दा पार्टीमा उनी दोस्रो दर्जाका नेता थिए। पार्टीले हारे पनि ‘नैतिकता’को जिम्मेवारी लिनुपर्थेन। तर अहिले त्यस्तो छैन। ‘अहिले पार्टीको साख जोगाउनुपर्ने छ। अरू उम्मेदवार पनि जित्ने निश्चित छैन। अध्यक्ष कमरेडले पनि कमजोर क्षेत्र लिएर के गर्ने?’ समाजवादीका एक नेताले भने,‘पुरै कांग्रेस र माओवादीको भोट लिन पर्ने स्थानमा अध्यक्ष स्वयं उठ्न पनि भएन।’
नेपाल एमालेका दुई कार्यकालका महासचिव हुन्। अहिले पनि उनी एमालेका राम्रा कामको जस आफै लिन्छन्। तर एमालेका नेता/कार्यकर्ताले ‘नेपालले पार्टीलाई लिङ्ग नछुट्टिने पार्टी बनाएको’ आरोप लगाउँछन्। यस्ता आरोपको पुष्टि पनि नेपालले निर्वाचनबाट गर्नुपर्ने छ। उनी संविधान सभाको निर्वाचनमा हार व्यहोर्दा समेत पुन घुमाउरो शैलीबाट संसद् पसेकै हुन। संसद् मात्र पसेनन उनी प्रधानमन्त्री नै भए।
मनमोहन अधिकारीको निधनपछि माधव नेपालले एमाले सम्हाल्दै आएका थिए। तर एमालेको नेतृत्वमा रहँदा नै २०६४ सालमा भएको संविधान सभाको निर्वाचनमा पराजित भएपछि उनले राजीनामा दिँएर आफूलाई नैतिकवान नेतृत्तवको संज्ञा पनि दिए र भने पनि- ‘जनताबाट अनुमोदित अर्थात निर्वाचित नभए पार्टीको नेतृत्वमा बस्न हुँदैन।’ उनको यो भनाइ र राजीनामाले उनको साख बढ्यो। नेता नेपाल २०६४ चैत २८ गते भएको संविधान सभा सदस्य निर्वाचनमा रौतहट ६ र काठमाडौं २ दुवै बाट पराजित भए । उनलाई दुवै क्षेत्रमा तत्कालीन माओवादीका उम्मेदवार क्रमश: देवेन्द्र पटेल र झक्कु सुवेदीले हराएका थिए।
एमालेको नेतृत्व नै पराजित भएपछि संविधान सभामा यसको आवश्यकता खट्केको अनुभव अन्य पार्टीका नेताहरुले गरे। वा उनले हरेक भेटमा त्यो कुरा सुनाए। उन पुन संसद छिरे अनि २०६६ मा त दुई स्थानमा हारेका नेपाल प्रधानमन्त्री भए। त्यसपछि उनको साख झन गिर्दै गयो। पार्टीमा पनि उनी पछि परे।चुनाव हारेकै आधारमा नेतृत्व लिन नहुने भन्ने उनको विचारमा परिवर्तनमात्र आएन, २०७१ असारमा भएको एमालेको नवौं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्ष पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रिए। तर, ओलीसँग पराजित भए।
त्यसपछि कुर्न लागेनन्। उनीमा खुद्रा चासो रहने नै भयो। आफन्तको सरुवा, बढुवा र नियुक्तिका कुराले ओलीसँग दुरी बढ्दै गयो। अहिले यो अवस्थामा पुगेका उनकै समकक्षीहरू बताउँछन्। पार्टीमा नेतृत्व लिन नसकेपछि वाह्य शक्तिले पनि उनलाई पत्याउन छोड्यो। र युनिफिकेसन चर्चको होली वाइन प्रकरणमा त उनको द्वैद चरित्र उदांगो भयो। यद्यपि यहि चरित्र अहिले एमाले भित्र छिरेको छ। हुन त उनलाई पनि अझै होली वाइनमा संलग्नले साथ छोडेका छैनन्। यस्ता पृष्ठभूमिका यिनलाई यतिबेला पार्टी जोगाउने कि आफू जोगाउने भन्ने नै छ।
‘हाम्रो पार्टी अहिले नै चुनाव लड्दा खास राम्रो जनमत आउँदैन। तर किनकि पार्टी बलियो बनिसकेको छैन,’ समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले भने,‘तर चुनावबाट भाग्न मिल्दैन। भाग्ने कुरा पनि छैन।’ हुन त नेपालले सोचेजस्तो पार्टी नबनेको कारण पनि यो अवस्था आएको हो। यहि अवस्था आउथ्यो भनने थाहा भएको भए नेपाल एमालेमा नै बसेर विद्रोह गरिरहन्थे। जसरी अहिले भीम रावल रहेका छन्।
बच्ला साख?
समाजवादीभित्र अनगिन्ति समस्या छन्। कति सार्वजनिक भएका छन्। कति छैनन्। पार्टीभित्रका नेताबीच नै आपसी टसमस छ। यही कारण बेलाबेला नेताहरूले ‘बिद्रोह’ गर्ने धम्की दिइरहन्छन्। पछिल्लो समय पार्टीमा अनुशासन घट्दै गएको गुनासो बढेको छ। नेपालको साना साना कुरामा चासो राख्ने र आफ्ना नाता गोतालाई अधिक काखि च्याप्ने नेपालको पुरानै बानीले पार्टीभित्र समस्या देखा पर्न थालेको छ। उनले आफ्नो बहिनी ज्वाईलाई अस्ट्रेलियाको राजदूत बनाए। अन्यलाई बनाएको भए निर्वाचनको लागि पैसा मिल्ने तर आफ्नै बहिनी ज्वाईसँग पैसा लिन पनि मिलेन। समस्या त्यसमा छ।
अनुशासन आयोगका अध्यक्ष शिवकुमार देउजाले पार्टीको कार्यक्रममै अनुशासन घट्दै गएको बताएका थिए। ‘हामी पहिले जस्तो कम्युनिस्ट रहेनौँ। हामीमा अहम् बढ्दै गयो,’ पार्टी स्थापनाको एक वर्षमा अनुशासनहीन गतिविधि बढेको देउजाको भनाइ छ। पार्टी भित्र अनुशासन नहुनको कारण विकल्प धेरै हुनु पनि हो। अध्यक्ष नेपाल अनुशासनकै पक्षमा अभिव्यक्ति दिइरहन्छन्। तर उनकै पार्टीभित्र रहेको अनुशासनहिनता तोड्न सकेका छैनन्। नेपाल आफैले पनि सार्वजनिक कार्यक्रममा अनुशासनहीन गतिवधि बढेको गुनासो गरेका थिए। यस्तै, अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालबीच पनि सुमधुर सम्बन्ध छैन। पार्टीका सार्वजनिक कार्यक्रममा पनि नेपाल खनाललाई घुमाउरो तवरले ब्यंग्य गर्छन्।
स्थानीय तहको निर्वाचनपछि खनाल गठबन्धनको विपक्षमा उभिए भने नेपाल गठबन्धनकै पक्षमा थिए। यसले पार्टीभित्र ठूलो समस्या पैदा भयो। अन्ततः नेपालकै बलमा गठबन्धनमै चुनाव लड्ने अवस्थामा समाजवादी पुग्यो। त्यहीबाट पनि नेपाल कमजोर बनेको देखिन्छ। यद्यपि खनाललाई मनाउन नेपाल सवल रहे। ‘पार्टीका आन्तरिक संरचनाहरू अब्बल बनाउने प्रयत्नमा छौँ। एकताबद्ध भएर अघि बढ्ने सन्देश दिनेछौँ,’ खतिवडाले भने। समाजवादीलाई सत्तारुढ दलकै भरमा मात्र अधिकांश सिट जितिने अवस्था छ। तर नेपालको मनमा यही कुरा खड्किएको छ।
‘गठबन्धनभित्रबाट आन्तरिक रूपमा एकदलले अर्कोलाई मत हाल्ने वातावरण बन्नुपर्छ। मत टान्सफर हुनुपर्छ,’ माधव नेपालले केही समयअघि काठमाडौँमा आयोजित गठबन्धनको कार्यक्रममा भनेका थिए। गएको स्थानीय तहको निर्वाचनमा पनि कांग्रेस र माओवादीबाट समाजवादीलाई मत नआएको गुनासो नेपालको थियो। पार्टीभित्र कांग्रेससँग गठबन्धन नगर्न दबाब थियो। तर अन्य विकल्प नभएपछि सत्ता गठबन्धनसँगै चुनावमा जानुपर्ने भयो।
‘गएको चुनावजस्तो नहोला। एकले अर्को दललाई मत नदिनु भनेको प्रतिगमनलाई साथ दिनु हो। अहिले निर्वाचनमा पहिलेको समस्या दोहोरिदैन भन्ने विश्वास छ,’ प्रवक्ता खतिवडा भन्छन्। यही कारण नेपाललाई पार्टीको साख जोगाउन सकस छ। एमालेबाट बिद्रोह गर्दा नेपालसँग २३ सांसद थिए। अहिलेको निर्वाचनपछि ‘जसरी पनि’ २३ सांसद खडा गर्नुपर्ने छ। तर गठबन्धनसँगको सहकार्यमा समाजवादीले १८ सिट पाएको छ। उता समानुपातिकमा के हुने हो कलमलाई डर नै छ। ‘गठबन्धनबाट खास सहयोग भएन। तर पनि गुनासो गर्नु हुँदैन,’ नेपालले एक अन्तर्वार्ता भनेका थिए।
घट्दो लोकप्रियता
पछिल्लो समय समाजवादीबाट बाहिरिनेको संख्या बढेको छ। माओवादीसँग एकताको कुरा उठेपछि केन्द्रीयस्तरका नेता समेत एमालेमा प्रवेश गर्दैैछन्। नेतृत्वले सही ढंगले चलाउन नसकेको गुनासो छ। ‘पार्टीभित्र बस्ने अवस्था छैन। गठबन्धनको मात्र भर परेर बस्न सकिएन,’ मंगलबार एमालेमा प्रवेश गर्दा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य रीता रावलले भनिन्,‘माओवादीमा समाहित हुनुपर्ने कुरा उठेपछि चित्त बुझेन। पार्टी नै नरहने देखेपछि फर्केर आएँ।’
रावलजस्तै धेरै कार्यकर्ता एमाले प्रवेश गर्दैछन्। केही समयअघि मात्रै एमालेले एक वर्षमा एक लाख कार्यकर्ता प्रवेश गरेको दाबी गरेको थियो। ती मध्ये अधिकांश समाजवादीबाट फर्किएका कार्यकर्ता थिए। पार्टीभित्र बढ्दो अलोकप्रियताका कारण नेपाललाई साख जोगाउन गाह्रो छ। उनी यसैपटक मात्र प्रत्यक्ष लडेर सांसद बन्ने ध्याउन्नमा छन्। यसपछि चुनाव नलड्ने र भावी पुस्तालाई पार्टीको जिम्मेवारी दिने बताउँदै आएका छन्।
के होला स्थिति?
समाजवादीको प्रतिस्पर्धा यस पटक एमालेसँगै छ। नेपालले उठाएका १९ उम्मेदवारमध्ये १८ उम्मेदवारको प्रतिस्पर्धा एमालेसँगै हुँदैछ। यसले पनि पार्टीको औचित्य पुष्टि हुन्छ। माधव नेपालको क्षेत्र रौतहट-१ बाहेक अन्यमा समाजवादीको संख्या कमजोर छ। त्यहाँ जित्न माओवादी र कांग्रेसकै भर पर्ने बाध्यता छ। ‘यस्ता अधिकांश ठाउँमा हामी चुनाव जित्छौँ। एमालेको गिर्दो साखका कारण जनताले हामीलाई भोट हाल्छन्,’ प्रवक्ता खतिवडा भन्छन्,‘उपयुक्त उम्मेदवार उठाएका छौँ। निराश हुनुपर्ने छैन।’ खतिवडाले यस्तो दाबी गरिरहे पनि आउँदो निर्वाचनमा अपेक्षित मत नआउने राजनीतिक विश्लेषकको प्रक्ष्येपण छ।
‘माधव नेपालले चौथो बन्ने बताए पनि त्यो यात्रा कठिन छ। कार्यकर्ता उहाँको पक्षमा देखिदैनन्,’ लेखक नारायण ढकाल भन्छन्,‘ गठबन्धनको बलमा थ्रेस होल्डसम्म कटाउन सक्छ।’ स्थानीय तहको निर्वाचनमा समाजवादीले २० सिट जित्दा प्रतिस्पर्धी एमालेले २०५ सिट जित्यो। एमाले छाड्दा आधा हिस्सा दाबी गरेका नेपाललाई ठूलै धक्का पर्यो। तर उनले गठबन्धनलाई आरोप लगाउँदै उनी सच्चिन खोजे। कतिपयले नेपालले बिद्रोह गर्नुको औचित्य पुष्टि गर्न नसकेको आरोप लगाए। आउँदो निर्वाचनमा झन् ठूलो ‘परीक्षा’ नेपालको काँधमा छ। अन्यथा उनले एमाले बनाएको भन्दा पनि उनी एमालेबाट उदाएका र अहिले आफूले एमाले बनाएको भ्रममा पर्दा अस्ताउन सक्ने समेत उनका समकक्षीहरू बताउँछन्।