इटहरी- प्रदेश १ का १४ वटै जिल्लामा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ। १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको बताए। उनका अुनसार १४ वटै जिल्लाका प्रहरी कार्यालयहरूमा सुरक्षा व्यवस्था कडा पर्न निर्देशन दिइएको छ।
‘विशेष गरी चाडपर्वको समयमा चोरी, तस्करी हुने भएकाले त्यसलाई नियन्त्रण गर्न प्रदेशका १४ वटै जिल्लामा निर्देशन गरिसकेका छौँ,’ एसपी राईले भने, ‘जिल्लामा भएका प्रहरी परिचालित गरेर चोरी नियन्त्रणदेखि दुर्घटना न्यूनीकरण गर्नेसम्मको योजना अनुरुप काम भइरहेको छ।’
उनले विशेष गरी सुनसरी, मोरङ र झापाका सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारिएको बताए। ‘हामीले केही दिनअघि मात्रै बोर्डरमा टिम खटाएका थियौँ,’ उनले हिमालप्रेससँग भने, ‘सुनसरी, मोरङ र झापामा १०–१० जनाको टिम परिचालित थियो।’ अहिले उक्त टिम सीमा नाकाको अवस्था बुझेर फर्किए पनि जिल्लाबाटै सुरक्षा थप कडा पारिएको उनले बताए।
सीमा क्षेत्रबाट यो समयमा चोरी, तस्करी हुन सक्ने भएकाले प्रहरी परिचालित गरिएको उनले बताए। ‘सीमा क्षेत्रमा मात्रै नभई अन्य ठाउँमा पनि जुनसुकै बेला प्रहरी सक्रिय छन्,’ उनले यसअघि भने, ‘अहिले दसैँ, तिहारसँगै मंसिरमा हुने चुनावलाई पनि लक्षित गरेर हातहतियार भित्रिन नदिन निगरानी बढाएका छौँ।’
उनले चाडपर्वको समयमा मादक पदार्थ सेवन गरेर सवारी चलाइने हुँदा दुर्घटना हुने भएकाले ट्राफिक प्रहरीसँग समन्वय गरेर जाँच गर्ने बताए।
१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार महतोले चाडपर्वको समयमा सवारी जाँचका निम्ति ट्राफिक जनशक्ति खटाइने बताए। अहिले विभिन्न ठाउँमा यात्रु सहायता कक्ष समेत स्थापना गरी दुर्घटना न्यूनीकरणका लागि सहजीकरण गर्दै आएको उनको भनाइ छ। प्रदेश १ भर चार सयभन्दा बढी ट्राफिक प्रहरीहरूलाई परिचालन गरिएको महतोले बताए।
‘दुर्घटना न्यूनीकरण र मनपरी भाडा उठाउने चालकलाई कारबाही गर्ने उद्देश्यले पहाडी जिल्लाहरूमा सवारी साधन जाँच गरिने छ,’ उनले भने, ‘तराईका जिल्लाहरूमा पनि दुर्घटना न्यूनीकरणका लागि अभियान सञ्चालन गर्छौँ।’
सुनसरी प्रहरीले भने लागूऔषधमा संलग्नहरूको पहिचान गरी कारबाही गर्ने जनाएको छ। दुई महिनामा सुनसरीमा ३४ जना लागूऔषध प्रयोगकर्ता तथा कारोबारीलाई पक्राउ गरी कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभुप्रसाद ढकालले बताए। उनका अनुसार साउन र भदौ महिनामा जिल्लाभर लागूऔषध शीर्षकमा २८ वटा मुद्दा दर्ता हुँदा ३४ जना पक्राउ परेका छन्।
‘लागूऔषध नियन्त्रणका लागि प्रहरीले मात्रै नभई सरोकारवाला नागरिक पनि सचेत बन्नुपर्छ,’ एसपी ढकाल भन्छन्, ‘परिवार, समाज, प्रहरी र सरकारी संयन्त्र सचेत हुनुपर्छ, लागूऔषध नियन्त्रण गर्न सुनसरी प्रहरी विशेष योजनासाथ अगाडि बढेको छ।’
सुनसरीका दुई ठूला सहर इटहरी र धरानमा यहाँको इलाका प्रहरी कार्यालयमार्फत सुरक्षा व्यवस्था कडा बनाइएको र कुनै पनि अपराधजन्य घटना हुन नदिन प्रहरी सचेत रहेको उनको भनाइ छ।
‘चाडपर्वलाई लक्षित गरेर जिल्लाभर हामीले एक हजार १०७ जना प्रहरी परिचालन गरेका छौँ,’ ढकालले भने, ‘हाम्रो पहिलो र मुख्य उद्देश्य भनेको नै लागूऔषध नियन्त्रण हो।’
६२ किलोमिटर भारतीय सीमा क्षेत्र रहेको सुनसरीमा चाडपर्वको समयमा हुने लागूऔषध तस्करी, भन्सार छली तथा अपराधिक क्रियाकलाप हुन नदिन उक्त संख्यामा प्रहरी परिचालन गरिएको उनले बताए। उनले पछिल्लो समय सीमा नाका भण्टाबारीमा पनि ‘चेक प्वाइन्ट’ कडा बनाएको बताए।
उनले भने, ‘चाडपर्वलाई सुरक्षित, मर्यादित र भयरहित बनाउनका लागि प्रहरी सचेत र गम्भीर छ।’