सन् १९६१ मा परराष्ट्र सेवामा प्रवेश गरेका सुन्दरनाथ भट्टराई यदुनाथ खनालको प्रशिक्षणमा खारिएका कूटनीतिज्ञ हुन्। उनले चीन, जापान, थाइल्यान्ड, मलेसिया, सिंगापुरलगायत मुलुकका साथै सार्क, संयुक्त राष्ट्रसंघलगायतका नेपाली नियोगमा विभिन्न तहमा जिम्मेवारी निर्वाह गरेका छन्। थाइल्यान्डका लागि सन् १९९१ देखि १९९६ सम्म आवासीय राजदूत रहेका उनी २३ वर्षदेखि चीन अध्ययन केन्द्रमा सक्रिय छन्। उमेरले आठ दशक पारे गरे पनि उत्तिकै सक्रिय भट्टराईसँग चिनियाँ सभामुख ली सान्छुको नेपाल भ्रमण लगायतका विषयमा हिमाल प्रेसका लागि चन्द्रशेखर अधिकारीले गरेको कुराकानीको सम्पादित अंश :
चिनियाँ सभामुख नेपाल भ्रमणमा आएका छन्। यो कस्तो भ्रमण हो?
सभामुख ली सान्छुको भ्रमणलाई चीनबाट नेपालमा भएको ठूलो भ्रमणमध्ये एक मान्नुपर्छ। नेपालमा चिनियाँको साथ छ भन्ने सन्देश दिन उनी नेपाल आएका हुन सक्छन्। नेपालमा अमेरिकी चासो बढेको र भारतीय प्रभाव बलियो हुँदै गइरहेको बुझाइ चिनियाँ पक्षको छ। त्यसैले चीन थप सक्रिय बनेको हो। विश्व शक्तिको दौडमा रहेको चीनले यसरी चासो दिनु आवश्यक पनि छ। अमेरिकी सहयोग नियोगअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित भएर परियोजना अघि बढ्नु तर बेल्ट एन्ड रोड इनिसियटिभ्सअन्तर्गतका परियोजना अघि नबढ्नुमा चीनले पश्चिमा चलखेलको गन्ध पाएको छ। त्यही कारण पनि चीनबाट उच्चस्तरीय भ्रमण भएको हो।
चिनियाँ सभामुख नेपाल आउनुको उद्देश्य कम्युनिस्ट दल मिलाउनुका लागि पनि होला नि?
त्यो पनि हुनसक्छ। चीनले कम्युनिस्टहरू एक भएर राज्यको नेतृत्व लिनपर्छ भन्दै आएका हुनाले त्यस्तो एजेन्डा राख्नु अस्वाभाविक होइन। हाम्रा नेता मिले त हो नि उसले मिलाउने। नमिलेमा के गर्न सक्छ र? नेपालका कम्युनिस्ट पार्टीलाई मिलाउन चीनले पटकपटक कोसिस गरेकै हो। चीनले मात्र होइन अन्य मुलुकले पनि कम्युनिस्टहरू मिल्नुपर्छ भनेका छन्। तर हाम्रा दलका नेताहरू त्यसमा सहमत छैनन्। त्यसैले त्यो काम हुन सक्दैन जस्तो लाग्छ। आपसमा मिल्नु भन्दा कम्युनिस्टले अन्य दलसँग मिलेर गठनबन्धन गरिरहेका छन्। निर्वाचनमा गठबन्धन गरेर जानु भनेको आमजनतालाई मूर्ख बनाउनु हो। पुष्पकमल दाहालले पटकपटक त्यस्तो काम गर्दै आएका छन्।
चीनका शीर्ष तहका नेता विरलै विदेश भ्रमण हिँड्छन्। त्यसैले पनि लीको भ्रमणको विशेष अर्थ छ कि?
पक्कै पनि। सभामुख ली रुस र मंगोलिया भ्रमणपछि नेपाल आएका छन्। यसले के देखाउँछ भने छिमेकसँगको सम्बन्धलाई अघि बढाउन चीन निकै आतुर र गम्भीर देखिन्छ। चीनले नेपालमा चासो देखाएर भ्रमण गर्नु हामी नेपालसँगै छाँै है भन्नु हो। दक्षिण एसियामा उनको यो पहिलो भ्रमण होला।
चीनले नेपालभित्र चलखेल भएको महसुस गरेर यो भ्रमण भएको भन्न खोज्नुभएको हो?
यसमा शंका छ र? चीनविरुद्ध चलखेल हुन लागेको भन्ने पूर्वसंकेत पाएको चीनले त्यसलाई निस्तेज पार्न लगातार भ्रमण गरिरहेको छ। हामी छिमेकी हौँ। नेपाली राजनीतिक नेतृत्व होस् वा या ब्युरोक्रेट्स सबैले नेपाल कुनै पनि देशको प्रभावमा नरहेको सन्देश दिन आवश्यक छ। सभामुख लीले भ्रमणपछि राष्ट्रपति सी चिनफिङसँग ब्रिफिङ गर्नेछन्। त्यसैले उनको भ्रमणको ठूलो महत्त्व छ। नेपालले पनि अधिकतम तयारी गरेर यो भ्रमणबाट फाइदा लिन सक्नुपर्छ।
सुन्दरनाथ भट्टराई।
चिनियाँ नेता भ्रमणमा आएपछि कुनै सहयोग वा सम्झौता गरेर जान्छन् तर कार्यान्वयन तहमा त आउँदैनन् नि?
हामी चीनसँग नजिकिँदा अर्को मुलुक डराउला कि भन्ने चिन्तामा हुन्छाैँ। भारतले के भन्छ भनेर सोच्दासोच्दै चीनतर्फको सहकार्य र सहयोग कार्यान्वयनमा हामी छुट्ने गरेका छौँ। चीनसँग हामीले कुरा नगर्ने र अनि ‘चीनले धेरै महत्त्व दिएन’ भनेर हुँदैन। राजनीतिक नेतृत्वमा पनि यस्तै सन्देश पुर्याउने गरिन्छ। जुन निकै घातक सिद्ध भइसकेको छ। कोभिड १९ पछि सीमानाका खोल्ने र बन्द गर्ने भइरहेको छ। त्यसको कारण हामी प्राथमिकतामा नपरेका होइनौँ। कोभिडसँग चीन डराएर हो।
चीन हाम्रो छिमेकी भएर पनि छिमेकीजस्तो नहुनुको कारणचाहिँ के हुन सक्छ?
हामीले भारततर्फ सीमा खुला राखेका छौँ। चीनतर्फ आंशिक मात्र खुला छ। सिमाना जोडिएको १५ जिल्लाका नागरिक चीन जानेआउने गर्छन्। कतिपय मानिस त बिना भिसा ल्हासासम्म पुग्छन्। हामीले चीन, भारत, अमेरिका र युरोपेली मुलुकहरूसँग सहकार्य गर्नैपर्छ। चीनसँगको सम्बन्धमा भारत र अमेरिका जोड्नु हुँदैन। भारतसँगको सम्बन्धमा चीन र अमेरिका जोड्नु हुँदैन। चीन हाम्रो अत्यावश्यक मित्र हो। चीनलाई बलियोसँग राख्न सम्बन्धका तन्तुहरू जोड्न आवश्यक छ। हामी पनि चीनको संवेदनशीलता विचार गर्दैनौँ। एमसीसीले चीनलाई एक खालको ‘टर्चर’ दिएको छ। तर आईपीएसमा नजाने निर्णयले चीनलाई अलिक फरक महसुस भयो। त्यसपछि भ्रमणको सिलसिला बढेको हो।
अमेरिकाका कारण चीन नेपालसँग चिडिएको भन्न खोज्नुभएको हो?
यसरी बुझौँ न, चीनले म नेपालसँगै छु। नेपालमा कुनै खाले गतिविधि हुँदा चीनले नियाल्ने गर्छ भन्ने सन्देश स्पष्ट दिएको छ। अहिले पनि चीनबाट झण्डै सय जनाको टोली रुस पुगेर र त्यहाँबाट मंगोलिया हुँदै नेपाल आइपुगेको छ। टोली अब कोरियातर्फ लागेर बेइजिङ फर्कने कार्यक्रम छ। यस्तो भ्रमणले हाम्रो दुईपक्षीय सम्बन्ध थप माथि उठेको देखिन्छ। भ्रमणपछि भारत, अमेरिकाको प्रतिक्रिया कस्तो आउँछ, त्यसपछि थाहा हुन्छ यहाँको अवस्था।
अहिलेको नेतृत्व व्यक्तिमुखी भएर समस्या समाधान हुन नसकेको हो त?
पक्कै, पञ्चायतकालदेखि हालसम्म नियालौँ। वर्तमान नेतृत्व व्यक्ति र परिवारमुखी भएको छ। व्यवस्था यो राम्रो हो। योभन्दा राम्रो व्यवस्थाको अभ्यास भएकै छैन। राजनीतिक व्यक्ति त्यतिबेलाका राम्रा, व्यवस्था अहिलको राम्रो। हाम्रा नेताहरूले सोच्नुपर्ने कुरा हो, चीनसँग राम्रो सडक सञ्जाल छैन। यसलाई कसरी बनाउन सकिन्छ? यस्तो अवस्था निम्त्याएका त अहिलेकाले हो नि। पहिलेकाले सामान्य सडक खोलेकै हुन्। त्यही सडकको भरमा हामी छौँ। मुलुकको विकास गराउने विषयमा कसैले पनि सोचेझैँ लाग्दैन। सबैको ध्यान सरकारमा बस्ने र अधिक कमाउने भन्नेमै छ।
चीन किन नेपालको सुरक्षा प्रणालीबाट असुरक्षित अनुभव गर्छ?
नेपालमा सुरक्षाबारे स्पष्टता छैन। नेपालको सुरक्षा रणनीतिमा फितलोपन भएकाले चीन चिन्तित रहेको हो। यहाँको स्थायित्वले चीनलाई पनि सहज हुन्छ। चीनको चाहना त्यही हो। कम्युनिस्ट एक भएमा स्थायित्व हुने उनीहरूको बुझाइ छ। त्यसो त उनीहरूले स्थायित्व खोजी गरेका हुन्छन्। त्यही कुरा बुझाउन चीन पटकपटक नेतृत्वसँग बोलिरहेको हुन्छ।
नेपालको पश्चिमासँगको सम्बन्धलाई चीनले किन शंकाले हेर्छ?
पश्चिमाहरू चनाखा छन्। उनीहरू चीनको ‘सफ्ट बेली’का रूपमा रहेको पुरानै तिब्बत सोचेर गतिविधि गरिरहेका छन्। काठमाडौँका डाँडा तिब्बत नियाल्ने अखडामा परिणत भइसकेको अवस्थामा नेपालमा चीनको ध्यान पुग्नु स्वाभाविक हो। त्यसैले चीनले नेपाल र नेपालले चीनलाई सदाबहार मित्र ठानेर अघि बढ्नुपर्छ। चीनले अन्य मित्रराष्ट्रले झैं नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन। सुझावचाहिँ दिन्छ। आफ्नो अनुभव सुनाउँछ।
अब हामीले के गरेर अघि बढ्दा ठिक होला?
हामीले विशेषतः चीन र भारतलाई नै ध्यान दिनुपर्छ। यो दुई मुलुकबीच समदूरी कायम गर्दै विश्वास जित्न सक्नुपर्छ। विश्वास जितेपछि मुुलुक हितमा उपयोग गर्नु आवश्यक छ। राष्ट्रिय चासो के हो त्यो केलाउनुपर्छ। हामीले उत्तरतर्फको सम्पर्क सञ्जाल थप विस्तार गर्नुपर्छ। चीनको बीआरआईअन्तर्गतका परियोजनालाई गति दिनुपर्छ। सिगात्सेदेखि केरुङसम्म रेल ल्याउने भनिएको छ। त्यसमा पनि रसुवागढीबाट लुम्बिनीसम्म त्यसको अध्ययन पनि गरेको छ। यहाँ हामीले चीन र भारतलाई लडाउनु भन्दा पनि मिटिङ प्वाइन्ट खोज्न आवश्यक छ। उनीहरू त्यही कुरा गरिरहेका छन्। हाम्रो नेतृत्व जता पनि ठिक्क हुँदा समस्या आएको हो। त्यसलाई चिरेर अघि बढ्नुपर्छ।