यसरी मनाइयो इन्द्रजात्रा पर्व [तस्बिरमा हेर्नुस्]

हिमाल प्रेस दिपेश श्रेष्ठ 2022-09-10 00:36:05

काठमाडौँ- वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-आरधना गरी इन्द्रजात्रा पर्व मनाइएको छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत नेपालका विभिन्‍न क्षेत्रमा मनाइन्छ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवी देवताको पूजा-आरधना गरी आठ दिनसम्म मनाउने प्रचलन छ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिंगोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ। लिंगोको फेदमा भैरवको पूजा गरिन्छ। शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको हो। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई मानिँदै आएको पाइन्छ।

इन्द्रजात्राको अवलोकनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा पनि बिहीबार दिउँसो हनुमानढाेका पुगेका थिए।

सरकारले इन्द्रजात्राको अवसरमा बिहीबार (आज) काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

प्रकाशित: 2022-09-10 00:36:05