काठमाडौँ- सत्ता गठबन्धनबीच आसन्न निर्वाचनका लागि अझै सिट बाँडफाँटको टुंगो लाग्न सकेको छैन। नेपाली कांग्रेसले बढी सिट लिन खोजेकाले सहमति जुट्न नसकेको माओवादी केन्द्र र एकीकृत समाजवादीको आरोप छ।
त्यसो त कांग्रेससँग सत्ता गठबन्धनका वामपन्थी दलको सम्बन्ध स्थानीय तहको निर्वाचनपछि त्यति राम्रो छैन। स्थानीय निर्वाचनमा कांग्रेस कार्यकर्ताले वामपन्थी दललाई भोट नहालेको माओवादी-समाजवादीको गुनासो छ। कांग्रेसका केन्द्रीय स्तरका नेता जिम्मेवार नहुँदा गठबन्धनबाहिरका शक्ति र स्वतन्त्र उम्मेदवार निर्वाचित भएको तर्क माओवादी-समाजवादीको छ।
यसो भन्दैमा अहिले वामपन्थी दलले गठबन्धन तोड्ने सम्भावना छैन। किनकि गठबन्धन टुटेमा एक्लाएक्लै लड्नुपर्ने र चुनाव हारिने डर दुवै दलमा उत्तिकै छ। यस्तै कांग्रेससँग गठबन्धन गर्दैमा पनि चुनाव जितिनेमा कम्युनिस्ट पार्टीहरू ढुक्क छैनन्।
कांग्रेसले स्थानीय तहको जस्तै ‘अन्तर्घात’ गरेमा थोरै सिटमा सीमित हुनुपर्ने हो कि भन्ने शंका रहेको नेताहरू नै बताउँछन्।
यसबीचमा माओवादी-समाजवादी एउटै पार्टी बनाउनेदेखि प्रतिपक्षी एमालेसँग सहकार्य गर्नेतर्फ ध्यान केन्द्रित नभएको होइन। दुई पार्टीबीच एकता प्रक्रिया अघि बढाउन कार्यदल गठन गर्नेसम्म छलफल भयो। पार्टीहरू एकाएक पछाडि हटे। समाजवादीले त पार्टीको औपचारिक बैठकमै निर्णय गराएर ‘एकता प्रक्रिया अघि बढाउन’ पार्टी अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनाललाई जिम्मेवारी दिएको थियो।
तर कांग्रेसबाटै फाइदा लिने दाउमा रहेका माओवादी-समाजवादी अन्य निर्णयमा पुग्न सकेका छैनन्। त्यसैले दुवै दल कांग्रेसको ढाडमा टेकेर आफ्नो अस्तित्व जोगाउने दाउमा छन्। ‘एउटा लहडमा एउटै चुनाव लड्ने कुरा गरियो। तर प्रक्रियागत कुराले पछाडि हटेकै हौँ,’ माओवादी उपमहासचिव हरिबोल गजुरेलले भने, ‘अब एउटै चुनाव चिह्न लिएर अघि बढ्ने कुरा सम्भव छैन।’
चुनाव हार्ने कम्युनिस्ट, गुनासो कांग्रेसमाथि
स्थानीय तह निर्वाचनमा गठबन्धनमा सबैभन्दा बढी घाटा एकीकृत समाजवादीलाई पर्यो। २३ सिट प्रतिनिधिसभा सदस्य भएको समाजवादीले स्थानीय तहमा २० तहको प्रमुख जित्न सक्यो। तर चुनाव हार्नुको मुख्य कारण कांग्रेस भएको समाजवादीको गुनासो छ।
समाजवादीका सम्मानित नेता खनालले ‘अब वामपन्थी गठबन्धन बन्नुपर्छ’ भन्नेसम्मको अभिव्यक्ति दिएका थिए। पार्टी अध्यक्ष नेपालले पनि गठबन्धनले साथ नदिए १६५ सिटमै उम्मेदवार उठाउने धम्की पनि दिएकै हुन्।
‘स्थानीय तहमा हामी गठबन्धनको बढी भर पर्यौँ। तर अब त्यस्तो नहोला’, समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले हिमालप्रेससँग भने, ‘अझै पनि प्रतिगमनलाई नै साथ दिने र गठबन्धनलाई हराउने हो भने त कसको के लाग्यो र?’
खतिवडाका अनुसार कांग्रेससँग अहिले पनि भर पर्ने स्थिति छैन। कांग्रेस सभापति शेरबहादुर देउवा इतर पक्ष गठबन्धनबाट असन्तुष्ट रहेकाले हार व्यहोर्न सकिने अनुमान समाजवादीको छ। ‘अब हामी दह्रो भएका छौँ। स्थानीय तहमा जस्तो गठबन्धनकै भर पर्ने स्थिति छैन’, खतिवडाले भने, ‘गठबन्धनबाट सहयोग नहुने देखेमा हामी सबै क्षेत्रमा उम्मेदवार उठाउन तयार छौँ।’
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पनि आगामी निर्वाचनमा गठबन्धन गरेरै जाने सर्वसहमतिबाट निर्णय भएको छ। इतरपक्षको विरोधका बाबजुत पनि सभापति देउवाले यस्तो कदम चालेका थिए। तर माओवादी-समाजवादी भर पर्ने स्थितिमा छैनन्। उनीहरू गठबन्धनभित्रै नयाँ रणनीति अपनाउने तयारीमा छन्। यसका लागि वामदेव गौतम र बाबुराम भट्टराईलाई गठबन्धनमा ल्याउने र कांग्रेस इतरबाटै मत जित्ने प्रयत्न चलेको छ।
यसका साथै कांग्रेसबाट बढीभन्दा बढी सिट लिएर उम्मेदवार उठाउने प्रयत्न पनि चालिरहेका छन्। समाजवादीले त कांग्रेसलाई ७० सिटमा बसेर अन्य दलबीच थप सिट बाँड्नुपर्ने बताइरहेको छ। माओवादीको नीति पनि त्योभन्दा फरक छैन। भरसक कांग्रेसलाई कम सिट दिएर आफूले बढी लिने प्रयत्न चलिरहेको छ।
माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसलाई ८० र माओवादीलाई ६० सिटमा सहमति भइसकेको अभिव्यक्ति दिँदै आएका छन्।
कांग्रेसकै भर, कांग्रेसकै डर
स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले २१५ सिट र समाजवादीले २० सिट जित्यो। माओवादीले गठबन्धनमा रहँदा पनि आफूलाई २० देखि ३० सिटको घाटा लागेको बताएको छ।
यता समाजवादीले सिट संख्या नजनाए पनि ठूलो सिटमा घाटा लागेको बताएको छ। गठबन्धनमा मात्र भर पर्दा कांग्रेससहित माओवादीले पनि घाटा लगाएको निष्कर्ष निकालेको थियो।
स्थानीय तहको चुनावका आधारमा हेर्ने हो भने माओवादी आठ र समाजवादी एक सिटमा अगाडि छ। कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाणले पार्टी बैठकमा गरेको ब्रिफिङमा पनि एक्लाएक्लै लड्दा कांग्रेस ७९, एमाले ६९ सिट जित्ने तथ्यांक पेस गरेका थिए।
माओवादीले एमालेलाई पछि पार्दै दोस्रो ठूलो दल बन्ने योजना बनाएको छ। यसका लागि पनि माओवादीले कांग्रेसको साथ खोजेको छ।
यता समाजवादीलाई पनि एमालेकै डर छ। किनकि एमालेबाट विभाजित बनेकाले आउँदो चुनावमा पार्टी बचाउनकै लागि केही सिट बढाउनुपर्ने बाध्यता छ। यसका लागि समाजवादीलाई कांग्रेसकै साथ आवश्यक छ।
‘माओवादीको स्थानीय तहको सिट पनि कांग्रेसकै मत हो। तर माओवादीले जस लिन चाहेन,’ विश्लेषक कृष्ण पोखरेल भन्छन्, ‘समाजवादीलाई त मत आएन। नेताहरूले जे भने पनि कांग्रेसको मत नआएको भए त्यो स्तरको सिट आउने थिएन।’ पोखरेल आउँदो चुनावमा समाजवादीले साख राख्नकै लागि पनि गठबन्धनमा गर्नुपर्ने बताउँछन्।
एक्लै भिड्ने कि कांग्रेससँगकै गठबन्धन
माओवादी र समाजवादीसँग चुनावमा जान अब दुई विकल्प बाँकी छ। कि छुट्टाछुट्टै दल भिड्नुपर्ने वा कांग्रेससँगै गठबन्धन गर्नुपर्ने। यसअघि माओवादी-समाजवादीले पार्टी एकीकरण गर्ने र चुनावमा संयुक्त चुनाव चिह्न लिएर जाने बताएका थिए।
त्यो सहमतिमाथि पनि तुसारापात भएको छ। कांग्रेसमाथि दबाब बढाउन पनि समाजवादी केन्द्रको कुरा पनि उठेको थियो। समाजवादी केन्द्रले पनि चर्चाबाहेक अन्य पाएन। ‘चुनावअघि एकता पनि हुँदैन र संयुक्त चुनाव चिह्नमा पनि भिडिँदैन,’ एकीकृत समाजवादीका उपमहासचिव खतिवडा भन्छन्, ‘अब यही गठबन्धन लिएर जाने हो। अन्य तयारी छैन।’
त्यसो त माओवादीसँगको एकतामा समाजवादीको एउटा कित्ता असन्तुष्ट बनेको थियो। पार्टीका सम्मानित नेता खनाल पक्षले माओवादीभन्दा एमालेसँग एकता गरेर जानुपर्ने अडान लिएका थिए। अर्को कुरा, माओवादीसँग एकताको सहमति गरेसँगै जिल्लागत कार्यकर्ता एमाले फर्किने लहर चलेको थियो। यसैले पनि समाजवादी पछि हटेको थियो।
‘अघिल्लो निर्वाचनमा वाम गठबन्धनको नारा लिँदा माओवादीलाई फाइदा पुगेको थियो। गठबन्धनभित्र पनि वाम गठबन्धनकै नारा घन्काउन खोजिएको थियो, सम्भव भएन,’ लेखक नारायण ढकाल भन्छन्, ‘अब कांग्रेससँगै गठबन्धन गर्दा मात्र बढी सिट जितिने निष्कर्षमा उनीहरू पुगिसके। यसमा कांग्रेस पनि लचक छ।’
कांग्रेसको शेरबहादुर देउवा पक्ष माओवादी र समाजवादीलाई गठबन्धनभित्रै हिस्सा दिन तयार छन्। किनकि वर्तमान गठबन्धन नरहेमा माओवादी एमालेसँग तालमेल गर्ने सम्भावना रहन्छ। देउवाले पटकपटक यो कुरा बताइरहेका पनि छन्।
‘माओवादीलाई गठबन्धनबाट बाहिर लग्यो भने एमालेसँग एकता गर्छ। अनि हाम्रो हालत अघिल्लो प्रतिनिधिसभाकै हुन्छ,’ कांग्रेस सभापति देउवाले गएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा भनेका थिए, ‘हार व्यहोर्न सकिन्छ। यसैले लचक हुनुपर्छ।’
अघिल्लो प्रतिनिधिसभामा प्रत्यक्षमा २३ सिट जितेर कांग्रेस तेस्रो स्थानमा पुगेको थियो। माओवादीले भने वाम गठबन्धनको साथ लिएर ३६ सिट प्राप्त गरेको थियो। त्यसबेला पार्टीले हार व्यहोरेको भन्दै कांग्रेसभित्रै सभापति देउवाको चर्को आलोचना भएको थियो।
अब पनि देउवा सोही गल्ती दोहोर्याउन चाहँदैनन्। ‘चुनाव त सिंगल नै लडे पनि हुन्छ। तर प्रतिगमनलाई प्रश्रय दिने हो भने त जे गरे पनि हुन्छ’, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘कुरा मिल्न लागेको छ। निरन्तर छलफलले सहमति भइहाल्छ।’
जनमोर्चालाई पनि कांग्रेसकै भर
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चुनावै लडेनन्। कतिपयले उनले चुनाव नलड्नुको कारण हार व्यहोर्न नचाहेको भन्दै टिप्पणी गरे। उनले पार्टीबाट उपाध्यक्ष दुर्गा पौडेललाई प्युठान-२ बाट उठ्न लगाए।
पौडेलले पनि वाम गठबन्धनको सहयोगमा चुनाव जितिन्। तर यस पटक पौडेलसहित अध्यक्ष केसी पनि चुनावमा होमिने तयारीमा छन्। बागलुङ-१ बाट उठ्न पार्टीबाट उम्मेदवार सिफारिस भएका छन्।
‘म चुनाव लड्ने तयारीमा होइन। मैदानमा उत्रिसकेँ,’ जनमोर्चा अध्यक्ष केसीले भने, ‘हामी पनि गठबन्धनकै साथमा चुनाव लड्न चाहन्छौँ। दुई सिट मागेका छौँ। मिल्छ होला।’
८२ वर्षीय केसी मैदान उत्रिन खोज्नुको कारण यसपटक कांग्रेससहितको गठबन्धनको साथ हो। एमाले अध्यक्ष ओलीको सरकार गिरेसँगै सत्ता गठबन्धनमा जनमोर्चा पनि छ। जनमोर्चाले सरकारमा नगई वर्तमान सरकारलाई सहयोग गरिरहेको छ। यसको उपलब्धि जनमोर्चा आउँदा चुनावमा लिन खोजेको कतिपयको बुझाइ छ। गठबन्धनको सहयोगमा जनमोर्चा यस पटक दुई सिट जित्न चाहन्छ।
वामदेवको अवस्था उस्तै
वामदेव गौतम चुनाव लड्नकै लागि अहिले गठबन्धनमा जाने प्रयत्नमा छन्। केही समयअघि मात्रै नेकपा एकता अभियान घोषणा गरेका उनी विशेषतः कांग्रेसकै मतबाट संसद् भवन पस्न चाहन्छन्। उनले एमालेबाट बाहिरिएर अबको चुनाव माओवादीको गोलाकारभित्रको हसिँया हथौडाबाट चुनाव लड्ने योजनामा रहे पनि गौतमलाई कांग्रेसकै मतको भर छ।
‘एमालेबाट लड्दा चुनाव जितिँदैन। त्यही कारण माओवादीको चुनाव चिह्न लिन खोजेको हुँ,’ गौतमले हसिँयाहथौडा चुनाव लिने विषय निर्वाचन आयोगमा जानकारी दिन जाने क्रममा पत्रकारसँग कुरा गर्दै भनेका थिए, ‘गएको चुनावमा पनि ममाथि अन्तर्घात भयो।’ गौतम २०७४ को चुनावमा एमालेबाट अन्तर्घात भएको आरोप लगाउँदै आएका छन्।
मुलुकभर वाम गठबन्धनले चुनाव जित्दा गौतम भने कांग्रेसका उम्मेदवारसँग थोरै मतले हारेका थिए। गौतमलाई थुमथुम्याउन तत्कालीन नेकपाले उनलाई राष्ट्रियसभामा पठाएको थियो। नेकपा विभाजित बनेपछि उनी कुनै दलमा खुलेनन्। अहिले नयाँ दल बनाएर चुनाव लड्ने तयारीमा छन्। वामदेवले पनि कांग्रेसले अन्तर्घात नगरेमा मात्र चुनाव लड्ने कतिपयको भनाइ छ। उनी प्युठान- २ बाट चुनाव लड्ने तयारी गर्दा गठबन्धनभित्रै अर्को समस्या देखिएको छ।
प्युठानबाट जनमोर्चाकै दुर्गा पौडेलको ठाउँ भएकाले गठबन्धनले कसलाई उम्मेदवार बनाउँछ भन्ने अन्योलता देखिन्छ। जनमोर्चा कुनै पनि हालतमा सोही क्षेत्र नछाड्ने तयारीमा छ भने वामदेवले सोही क्षेत्रबाट आकांक्षा देखाउँदा विवाद हुन सक्ने देखिन्छ।