इटहरी- विजय गच्छदार २०४८ पछि निरन्तर सत्ता र शक्तिमा रहने नेतामध्येमा पर्छन्। २०४८ मा नेपाली कांग्रेसबाट चुनाव जितेका उनी सञ्चार राज्यमन्त्रीबाट सरकारमा सहभागी भए। १२ पटक मन्त्री बनेका गच्छदारले धेरैपटक चाहिँ भौतिक योजना तथा निर्माण मन्त्रालयको नेतृत्व सम्हाले। गच्छदारसँग पाँचपटक उपप्रधानमन्त्री बनेको अनुभव छ।
उनी सुनसरीबाट २०४८, ०५१ र ०५६ को संसदीय चुनाव, ०६४ र ०७० को संविधानसभा चुनाव र ०७४ मा संघीय संसद्मा विजयी भएका छन्। कांग्रेसबाट राजनीतिमा उदाएका गच्छदारले २०६४ मा मधेशी जनअधिकार फोरम र २०७० मा फोरम (लाेकतान्त्रिक) बाट चुनाव जितेका थिए।
गच्छदार २०६४ मा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई घुर्क्याएर फोरम प्रवेश गरेका थिए। सो दलमा रहँदा पनि उनले उपप्रधान तथा गृहमन्त्रीसम्मको जिम्मेवारी पाएका थिए। ०७४ मा कांग्रेसमा फर्किएका उनले कांग्रेसबाटै चुनाव जितेका थिए।
पार्टी राजनीतिमा पनि गच्छदार जिम्मेवार पदमा रहँदै आएका छन्। १४ औँ महाधिवेशनमा नेपाली कांग्रेसको उपसभापतिको प्रतिस्पर्धामा गच्छदार दुई मत अन्तरले पराजित भएका थिए। शेरबहादुर देउवा समूहबाट प्रतिस्पर्धा गरेका उनलाई कोइराला समूहका धनराज गुरुङले हराएका थिए।
यस्तै अघिल्लो संसदीय निर्वाचनमा पनि उनी बल्लबल्ल पराजित हुनबाट जोगिएका हुन्। गच्छदारले ३८ हजार ९७२ मत ल्याउँदा एमालेकी भगवती चौधरीले ३८ हजार ६५१ मत ल्याएकी थिइन्।
उति बेला गच्छदारले धाँधली गरेको आरोप खेप्नुपर्यो। शक्तिको दुरुपयोग गरेको, मतपेटिका साटेको र मतपत्र च्यातेको आरोप लगाउँदै एमालेकी चौधरीले निर्वाचन आयोगसमक्ष पुनः मतदानको मागसमेत गरिन्। तर उनको माग सुनुवाइ भएन।
आगामी चुनावका लागि पनि गच्छदार सुनसरी निर्वाचन क्षेत्र ३ बाट लड्ने निश्चित भएको छ। यसपटक पनि चुनाव जितेमा संसद्मा निरन्तर सात कार्यकाल सम्हाल्ने व्यक्तिका रूपमा उनी चिनिनेछन्।
यसपटक पनि गच्छदार र चौधरी आमनेसामने हुने भएका छन्। एमालेबाट चौधरीको नाम एकल रूपमा सिफारिस भएको छ। अब उनीहरूबीच तेस्रो पटक प्रतिस्पर्धा हुँदैछ। चौधरी ०७० को संविधानसभा चुनावमा पनि गच्छदारसँग पराजित भएकी थिइन्।
गच्छदार बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका छन्। विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि उनको सांसद पद निलम्बनमा छ।
२०७८ असार ३० गते विशेष अदालतले १० लाख धरौटीमा छोडे पनि उनको मुद्दा किनारा लागेको छैन। अघिल्लोपटक वाम गठबन्धन हुँदा कांग्रेस एक्लैले चुनाव जितेका कारण गच्छदार यसपटक गठबन्धनको बलमा चुनाव जित्ने रणनीतिमा छन्। तर उनी अहिलेसम्मकै कठिन अवस्थामा छन्।
गच्छदारलाई चुनाव जित्न त्यति सहज नभएको कांग्रेसकै कार्यकर्ता बताउँछन्। लामो समय शक्तिशाली मन्त्रालयको जिम्मेवारी लिए पनि जिल्लाको भौतिक पूर्वाधार निर्माणमा चासो नदिएको आरोप उनको छ। यस्तै पटकपटक दल बदलेर जिल्लाको राजनीतिमा एकछत्र हालीमुहाली गरेको भन्दै कांग्रेसको दोस्रो तहका नेता रुष्ट छन्।
गठबन्धनको बलले आफूले चुनाव जित्ने रणनीतिमा रहेका गच्छदारलाई कार्यकर्ताले पनि नरुचाउने संकेत देखिएको कांग्रेस सुनसरीका एक नेताले बताए।
१४ औँ महाधिवेशनमा गच्छदारकै कारण क्षेत्र नं. ३ मा स्वस्थ प्रतिस्पर्धा हुन नपाएको भन्दै कार्यकर्ता उनीसँग असन्तुष्ट छन्। क्षेत्रीय सभापतिदेखि महाधिवेशन प्रतिनिधि छनोटमा आफू निकटका उम्मेदवार पराजित हुने भएपछि उनी चुनाव गर्ने तयारीमा थिएनन्।
दुई दिनपछि भएको निर्वाचनमा उनले आफू निकटका व्यक्तिलाई मात्रै जिताएपछि कार्यकर्ता रुष्ट बनेका हुन्। पार्टी महाधिवेशनमै स्वच्छ प्रतिस्पर्धा हुन नदिएको भन्दै गच्छदारसँग चिडिएका कांग्रेस कार्यकर्ताले यसपटक गच्छदारको विकल्प खोजेका थिए। कांग्रेसले उनैलाई अगाडि सारेपछि कार्यकर्ता निराश छन्।
पटकपटक एकजनाले मात्रै अवसर पाएको र भ्रष्टाचार मुद्दा पनि खेपिरहेकाले गच्छदारलाई चुनाव जित्न सजिलो नरहेको क्षेत्र नं. ३ का मतदाता बताउँछन्।
‘पटकपटक जित्दा पनि उपलब्धि नभएपछि हामीले विकल्प खोजेका हौँ। भ्रष्टाचार मुद्दा खेपिरहेका व्यक्तिलाई उम्मेदवार छनोट गर्नुपर्छ भन्ने छैन’, सुनसरी कांग्रेसका एक नेताले भने, ‘उहाँले गठबन्धनको बलले चुनाव जित्छु भने पनि यसपटक सहज छैन।’
त्यसो त एमालेबाट पनि पटकपटक एउटै अनुहारमा मैदानमा उतारिएकाले खासै उत्साह नदेखिएको कार्यकर्ता बताउँछन्। एकै व्यक्तिलाई पटकपटक अवसर दिएकाले उत्साह मर्दै गएको उनीहरूको भनाइ छ।
एमालेकी भगवती चौधरीलाई पनि चुनाव जित्न सहज नभए पनि यसपटक चौधरीले जित्ने बताउँछिन्, नेकपा एमालेकी केन्द्रीय सदस्य तथा
सुनसरी जिल्ला सहइन्चार्ज लक्ष्मी गौतम। उनले यसपटक भारी मतान्तरले आफूहरू चुनाव जित्ने दाबी गरिन्।
‘हामीले अघिल्लो पटक त्यो क्षेत्र जितेको हो, हाम्रो मत बदर पनि भयो, त्यो बदर गराउन गच्छदारको टिम सफल भयो’, गौतमले हिमालप्रेससँग भनिन्, ‘गठबन्धनका कारण हामीलाई खासै असर पर्दैन। कांग्रेसका कार्यकर्ता ठूलो संख्यामा हामीकहाँ केही दिनअघि मात्रै प्रवेश गरेकाले हामीलाई चुनाव जित्न सहज छ।’
गच्छदारले एक्लै चुनाव जितेको ठाउँमा गठबन्धन हुनु भनेको उनी कमजोर रहेको गौतमको टिप्पणी छ। ‘गठबन्धन कमजोर हुनेहरूले गर्ने हो’, उनले भनिन्, ‘हिजो पटकपटक एक्लै चुनाव जितेको ठाउँमा आज गठबन्धन गर्नु भनेको उनी कमजोर भएका हुन्।’
बढी मतदाता भएको गढी र बर्जु गाउँपालिकामा स्थानीय चुनाव एमालेले नै जितेका कारण पनि यसपटक चुनाव जित्न सहज हुने उनको दाबी छ।
‘गढी र बर्जु हामीले जितेका कारण पनि हाम्रो जनाधार मजबुत छ। त्यसैले हामीले चौधरीलाई सर्वसम्मत गरेका हौँ’, गौतमले भनिन्, ‘कानुनी कुरा के हो त्यो त बुझ्दिनँ, तर जनतामा अहिले पनि गच्छदारले भ्रष्टाचार मुद्दा खेपिरहेको कुरा छर्लंगै छ।’