काठमाडौँ- आज भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका तीज, देश तथा विदेशमा रहेका नेपाली महिलाहरूले उत्साहका साथ मनाइरहेका छन्। निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाउने गरिन्छ।
देशै भरिका शिवालयमा जस्तै पशुपतिनाथ मन्दिरमा पनि दर्शनार्थीहरूको भीड छ। माहोल हेर्दा पशुपति मन्दिर परिसरमा भीड मन्दिर दर्शन गर्नेको भन्दा पनि सेल्फी खिच्ने र टिकटक बनाउने अनि छमछमि नाच्नेको बढी छ।
के युवती के वृद्ध सबै सेल्फी खिच्न र टिकटक बनाउन व्यस्त देखिए। पशुपति मन्दिर परिसरको कुना, काप्चा, चौर सबै तिर टिकटक बनाउनेको छुट्टै चहलपहल देखिन्छ। समूहमा आउनेहरू हुन् या वा एक्लाएक्लै, कोही हातैले मोबाइल समाएर खिचिरहेका देखिए भने कतिले भने भित्ता, चौर जता अड्याउन मिल्छ त्यतै राखेर टिकटक बनाइरहेछन्। माहोल यस्तोसम्म थियो कि पशुपति टिकटक खिच्न भने पनि पुग्नै पर्छ र नत्र भगवान शिव प्रशन्न हुँदैनन्।