‘लखरलखर हिँड्ने बानी लागेपछि गाउँचरुवा भइन्छ है’, आमाले यस्तै भन्नुहुन्थ्यो। उहिले किन भन्नुहुन्छ जस्तो लाग्थ्यो। अहिले बल्ल बुझ्दैछु। किनकि हिजोआज मलाई पनि लखरलखर हिँड्ने बानी परेको छ।
घुम्नु मेरो पुरानो सोख त हुँदै होइन। यत्रो जीवन बित्दासमेत हिँड्ने जाँगर नचलेको म अहिले घुम्न भनेपछि हुरुक्कै हुन्छु। घुम्न पाए अरू केही चाहिँदैन।
अचेल नौलो ठाउँमा पुग्दा बिछट्टै आनन्दको अनुभूति हुन थालेको छ। एकदुईपटक उपत्यकाको छेउभित्ताका थुम्काथुम्की के चहारेको थिएँ, म त डाँडा काँडाको प्रेममै परेँ।
हिजोआज शनिबार आयो कि खुट्टा आफैँ उचालिन थाल्छन्। हरिया धानका फाँटले आफूलाई बोलाइरहेको जस्तो लाग्छ। हरिया पहाडमा सुसेली खेल्ने बतासले कानैमा साउती मारेको महसुस हुन्छ। नीलो आकाशमा कपासजस्तो सेतो बादलमा हराउन मन लाग्छ। भिरपाखासँग पिरती नै लागेको छ।
यस सप्ताहन्तको गन्तव्य थियो, कोतडाँडा, तीनपाने भञ्ज्याङ हुँदै दलचोकी। दलचोकीको परिक्रमा जतापट्टिबाट गरे पनि पदयात्रीका लागि उत्तिकै आकर्षक, रोमाञ्चक अनि साहसिक हुने गर्छ। साहसिक यस अर्थमा कि सहरमा कुँजिएर बसेका खुट्टालाई १३ सय मिटरदेखि २२ सय मिटरको उचाइको पदयात्रा गर्न निकै गाह्रो हुन्छ। हम्मेहम्मे नै पर्छ। त्यस्ताहरूका लागि यो साहसिक यात्रा हो।
गन्तव्य तोकिएपछि यात्रा जताबाट सुरु गर्दा पनि भयो। ‘वरदेखि परसम्म, नजिकदेखि टाढासम्म’ भन्दै ललितपुर, सातदोबाटोबाट यात्रा सुरु गरियो। नामै ‘सातदोबाटो’। जताबाट आए पनि ठोक्किने। जुन बाटो समाएर हिँडे पनि पुगिने।
सातदोबाटोबाट केही दक्षिण लाग्नेबित्तिकै हामी खुमलटार हुँदै धापाखेल पुग्यौँ। खुमलटारलाई कृषि अनुसन्धान केन्द्रको थलो बनाउनुभन्दा पहिला त्यहाँ सुख्खा खेत थिए। घैय्यामात्र फल्ने भएकाले यसको नाम ‘घैय्याटार’ थियो। उहिलेको घैय्याटार नै अहिलेको खुमलटार हो।
नागपोखरीलाई किनारा पार्दै हामी अघि बढ्यौँ। थुम्काको टुप्पोमा सन्तानेश्वर महादेवको प्रसिद्ध मन्दिरलाई तलैबाट दर्शन गरेर चापागाउँतर्फ लाग्यौँ। धापाखेलका धानखेत बिस्तारै सहरीकरणको चपेटामा पर्दैछन्।
जेम्स स्कुलको उपस्थितिमात्र होइन बहुतले अपार्टमेन्टहरूको निर्माणले त्यहाँ तीव्रता पाएको छ। सभ्रान्त सहरियाको रोजाइमा पर्न थालेको छ, धापाखेल।
प्रसिद्ध मन्दिर वज्रबाराहीलाई पनि किनारमा छाडेर हामी चापागाउँ हुँदै टीकाभैरवतर्फ लाग्यौँ। टीकाभैरव प्रसिद्ध धार्मिक स्थलमात्र नभएर दक्षिणबाट उपत्यका प्रवेश गर्ने एउटा प्राचीन प्रमुखस्थल हो। हेटौँडालाई काठमाडौसँग जोड्ने कान्ति राजपथको आगमन तथा प्रस्थान बिन्दु पनि हो।
त्रिभुवन राजपथको निर्माणले कान्ति राजपथलाई छायामा पारे पनि यसको उपादेयता र महत्त्व विशेष छ। वास्तवमा यो कान्ति राजपथ त्रिभुवन राजपथको दाँजोमा तराईलाई जोड्ने छोटो र किफायती राजमार्ग हो।
देशीविदेशी स्वार्थ समूहको राजनीतिक चक्रव्यूहमा परेर कसरी विकासले राष्ट्रिय स्वार्थको अहंमा चोट पार्छ भन्ने एउटा महत्त्वपूर्ण उदाहरण हो, कान्ति राजपथ।
म जन्मिनुअघि नै निर्माण कार्य सुरु गरिएको यो राजपथको निर्माण कार्य अझैसम्म पूर्ण रूपमा सम्पन्न भइसकेको छैन। विकासप्रतिको नेपाली अवधारणा, प्रतीक्षा, धैर्य र निष्ठाको अनुपम साक्षी पनि हो, कान्ति राजपथ।
त्यही राजपथको सानो खण्डमा टेकेर हामीले पदयात्रा सुरु गर्दै थियो। टीकाभैरवबाट उकालो लागेपछि केही माथि पर्छ ‘लप्से’। यही लप्सेमा पुगेर हाम्रो बस रोकियो। समुद्र सतहबाट १६ सय मिटरको उचाइमा अवस्थित छ।
यहाँबाट हाम्रो उकालो यात्रा सुरु भयो। पहाडी गोरेटो बाटोमा शरीरको सन्तुलनलाई लौरोको टेकोले मिलाउँदै एकनासले उकालो लागिरह्यौँ हामी। रोकिँदै, कम्मरमा हाथ राख्दै, सुस्केरा हाल्दै उकालो पच्छ्याइरह्यौँ। जबसम्म कोतडाँडा आइपुगेन।
रमणीय कोतडाँडा पहिलो थकाइ मेट्ने ठाउँ बन्यो। पदयात्रीको भाषामा ‘वाटर ब्रेक’। उत्तरतर्फ फर्केर हेर्दा उपत्यकाको अधिकांश ठाउँ देखिन्छ। यो ठाउँको रणनीतिक महत्त्व भएकाले होला, कोत निर्माणका लागि पृथ्वीनारायण शाहको रोजाइमा परेको। अनि कोत भएकै कारणले ठाउँको नाम कोतडाँडा भएको भन्ने भनाइ छ।
हिजोआज सहरको व्यस्त जीवनबाट केही समय सुस्ताउन सहरिया प्रकृतिको नजिक हुन चाहन्छन्। सहरको कोलाहलबाट मुक्ति पाउन, विश्राम गर्न चाहनेहरूका लागि एग्रो रिसोर्टको स्थापनासमेत गरिएको छ, कोतडाँडामा। जहाँ विशुद्ध जैविक कृषि उत्पादनबाट निर्मित खाद्य परिकार पस्कने गरिन्छ। जो पछिल्लो समय रिसोर्टको आकर्षणको केन्द्र बन्दै गएको छ।
कोतडाँडा पुग्दा शरीरको आधाउधी ऊर्जा सकिइसकेको थियो। ‘रिचार्ज’ गर्न आवश्यक थियो। त्यसका लागि तुम्लेटको पानी र एउटा स्याउ खाइयो। अनि फेरि उकालो लागियो। कोतडाँडा काटेर तीनपाने भञ्ज्याङ नआएसम्म कान्तिपथको बाटो नापिरह्यौँ।
तीनपाने भनेपछि नेपालीको आँतै भरेर आउने। भने पनि नभने पनि सम्झना उसै बिजुली झोलको हो, नाम भने तीनपाने। यही बिजुली झोलका लागि नाम चलेको हुनुपर्छ यो ठाउँ।
स्थानीय आस्याङलाई सोधेर ठहर पनि गरियो। तीनपाने अर्थात् थाकेर आएका बटुवाको प्रिय पेय। उपत्यकाबाट बाहिरिने हुन वा उपत्यका भित्रिने, बासको लागि उपयुक्त थलो यही भञ्ज्याङ भएपछि यसको नाम तीनपाने राखिएछ।
तीनपाने भञ्ज्याङ ललितपुर र मकवानपुर जिल्लाको साँधसिमानामा पर्छ। दक्षिण पश्चिममा खडा छ, २२ सय मिटरभन्दा अग्लो अजंगको भट्टेडाँडा। विमान ठोक्किएर दुर्घटना भएको ठाउँ भने उत्तरपूर्वमा २१६० मिटर अग्लो दलचोकी।
यिनै दुई टाकुराको बीचमा च्यापिएको छ, तीनपाने भञ्ज्याङ। तीनपानेको दक्षिणमा पर्छ मकवानपुर जिल्लाको बागमती गाउँपालिका। उत्तरपूर्वमा पर्छ कोञ्जोसोम गाउँपालिका।
सडकको किनारा, पहाडको भिर, घना जंगल, चराचुरुङ्गीको चिरबिर र झ्याउँकिरीको झ्याउँ–झ्याउँले आनन्दित बनाउने गाउँले परिवेश।
जसरी काठमाडौँ उपत्यकालाई चारवटा पहाडी फेरोले घेरेको छ, शिवपुरी (समुद्री सतहबाट २७३२ मिटर), फूलचोकी (२६९५ मिटर), नागार्जुन (२०९५ मिटर) र चन्द्रागिरी (२५५१ मिटर)।
त्यसैगरी काठमाडौँ उपत्यकाका चार भञ्ज्याङ भन्नाले पूर्वमा साँगा, पश्चिममा भीमढुंगा (बाण), उत्तरमा रानीपौवा र दक्षिणमा तीनपाने भञ्ज्याङ (लेले भञ्ज्याङ) भन्ने बुझिन्छ।
लेलेसँग जोडिएको तीनपाने भञ्ज्याङ ऐतिहासिकता बोकेको नेपालको एउटा महत्त्वपूर्ण स्थान हो। अरू तीनटै भञ्ज्याङ राष्ट्रिय सडक सञ्जालसँग जोडिएका हुनाले धेरैलाई तीबारे थाहा छ।
तर तीनपाने लामो समयसम्म सडक सञ्जालमा आबद्ध हुन नपाएको हुँदा विस्मृतिमा परेको हो। यसको महत्त्व घटेको भने होइन। त्यही तीनपाने हुँदै दलचोकीका लागि उकालो लाग्यौँ।
धनीमानी सहरमा मात्र बस्छन् भन्ने लाग्थ्यो मलाई। दलचोकीको सेरोफेरो समातेर हिँडेपछि त्यो मेरो भ्रम रहेछ भन्ने प्रस्ट भयो। सम्भ्रान्त परिवारका मानिस हिजोआज सहरभन्दा पर पहाडको एकान्तमा बस्न रुचाउने रहेछन्।
अर्ग्यानिक खेतीका ठूलठूला फार्म खोलेर खेतीकिसानीमा रमाउने रहेछन्। पहाडको भिर, डाँड काँडामा बस्नु गरिबको बाध्यता हुन सक्छ। तर अभिजात्य वर्गका लागि भने त्यो सोख हो।
जतिजति उकालो लाग्दै गयो, उतिउति खुट्टाको गति सुस्त हुँदै गयो। टाकुरामा पुग्न मैदानमा कुद्नुजस्तो सजिलो कहाँ हुनु? पदयात्राका साथी कोही धेरै अगाडि थिए त कोही धेरै पछाडि। जसले गर्दा यात्रा अलि तन्कियो।
प्रकृतिको अनुपम सुन्दरतालाई कतिपयले मोबाइलको क्यामरामा कैद गर्दै थिए। ‘माथिमाथि सैलुङ्गेमा चौरी’ गीतमा युवा टिकटक बनाएर रमाउँदै थिए।
बादलको घुम्टो ओढेको दलचोकीको दृश्यलाई हामीले मुग्ध भएर हेर्यौँ। वशीभूत भई त्यहाँ केहीबेर अडियौँ। त्यहाँका अर्ग्यानिक साग-तरकारी र फलफूलको स्वाद चाख्यौँ।
टाकुरामा पुगेपछि यात्रा टुंगियो। त्यसपछि फेदीको यात्रा सुरु भयो। बिर्खेधारामा बसले हामीलाई कुरिरहेको थियो।