काठमाडौँ- सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तोकेसँगै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल नेपाली कांग्रेसप्रति लचक देखिएका छन्। स्थानीय तहको निर्वाचनपछि गठबन्धन र कांग्रेसप्रति अनुदार देखिएका खनाल अहिले गठबन्धनका पक्षमा सकारात्मक बनेका हुन्।
स्थानीय तहको निर्वाचनमा कांग्रेसले मत नदिएको भन्दै उनी रुष्ट बनेका थिए। खनाल गठबन्धनप्रति आक्रोशित बन्नुको एउटा कारण उनको गृहजिल्ला इलाममा समाजवादीको उपस्थिति कमजोर बन्नु थियो। इलामको सूर्योदय नगरपालिकामा समाजवादीले जिते पनि अन्य ठाउँमा जित निकाल्न सकेन।
‘कांग्रेसमा पुरानै पद्धति रहेछ। भोट कन्भर्ट हुन अत्यन्तै गाह्रो रहेछ,’ खनालले भनेका थिए, ‘यसरी अघि बढ्न सकिँदैन। कांग्रेसले हामीलाई भोटर्स मात्र बनायो।’
एमालेबाट विभाजित भएर बनेको समाजवादीले स्थानीय तहमा २० सिट मात्र जितेपछि खनालले गठबन्धनलाई दोष लगाएका थिए। गठबन्धनले कांग्रेस र माओवादीलाई मात्र फाइदा पुगेको उनको आरोप थियो।
त्यसपछि उनी वाम गठबन्धनको वकालत गर्दै आएका थिए। वाम गठबन्धनकै लागि एमाले र माओवादी केन्द्रका नेतासँग पनि छलफल गरे। तर पछिल्लो समय खनाल गठबन्धन र कांग्रेसका पक्षमा वकालत गर्न थालेका छन्।
किन फेरियो खनालको बोली?
केही दिनअघि मात्रै गृहजिल्ला पुगेका खनालले पार्टीका विभिन्न कार्यक्रममा भाग लिए। त्यसबेला पत्रकारहरूसँग आउँदो निर्वाचनमा इलाम क्षेत्र नंं १ बाट चुनाव लड्ने बताएका थिए। गठबन्धनको सहायताबिना एक्लै लड्दा खनालले जित्ने सम्भावना कम छ।
‘गठबन्धनप्रति विगतमा असन्तुष्टि थियो। त्यो इतिहास भइसक्यो। पुराना कुरा बिर्सिएर अघि बढ्नुपर्छ,’ खनालले भनेका थिए।
जिल्लास्तरीय एक नेता भन्छन्, ‘उहाँ जत्तिकै नेतालाई हामीले जिताउनुपर्छ भन्ने हो, इच्छा देखाइराख्नु पनि भएको छ। हामी तयारीमै छौँ। अस्ति पनि केही कुरा भयो।’
पछिल्लो समय खनाल एमालेप्रति कठोर देखिएका छन्। एमालेकै कारण कम्युनिस्ट आन्दोलनमा खलल पुगेको आरोप उनको छ। तर उनको पार्टीभित्रै खास राम्रो सम्बन्ध छैन। ‘अहिले पनि खास राम्रो सम्बन्ध छैन, बाहिर हेर्दा राम्रो देखिएको मात्र हो,’ समाजवादीका ती नेताले भने।
कांग्रेस कार्यकर्ता आक्रोशित
खनाल पुनः गठबन्धनबाटै उम्मेदवार बन्ने भएपछि इलामका कांग्रेस कार्यकर्ता आक्रोशित छन्। स्थानीय तहको निर्वाचनमा समाजवादीलाई सहयोग गरे पनि नगरेको आरोप लागेका कारण कांग्रेस कार्यकर्ता रुष्ट बनेका हुन्। उनीहरू खनाललाई आगामी निर्वाचनमा सहयोग नगर्ने र कांग्रेसकै नेतालाई जिताउने पक्षमा छन्।
तर कांग्रेस जिल्ला सभापति डम्बर खड्का भने खनालले उठ्ने इच्छा राखे रोकटोक गर्न नमिल्ने बताउँछन्। उनी खनाल गठबन्धनको जिम्मेवार नेता भएकाले पनि आफूहरूले खनालका विपक्षमा बोल्न नमिल्ने तर्क राख्छन्। ‘भरसक उहाँले समानुपातिकतिर उठ्दा राम्रो हुन्छ। प्रत्यक्ष नै उठ्ने हो भने पनि हामीले छोड्न कर लाग्छ,’ खड्काले हिमालप्रेससँग भने, ‘हामीले भनेर हुँदैन। उहाँले टिकट पाउन सहज छ। त्यसैले पनि हामीले छाड्दिनैपर्छ।’ खड्का सभापति शेरबहादुर देउवा नजिक मानिन्छन्।
विगतमा खड्का आफैँले सोही क्षेत्रबाट लड्ने बताएका थिए। उनी सभापतिमा निर्वाचित भएलगत्तै इलाम क्षेत्र नं. १ बाट उठ्ने र जित्ने दाबी गरेका थिए। गठबन्धनका तर्फबाट खनालले दाबी गरेसँगै खड्का पछि हटेका हुन्।
‘क्षेत्र नं. १ नभए २ नम्बरमा लड्छु। मेरो दुवै क्षेत्रमा राम्रो छ,’ खड्काले भने। हुन त कांग्रेसमा धेरै नेता टिकटका आकांक्षी छन्। विगतमा इलाम क्षेत्र नं. १ मा खनाल लड्दा क्षेत्र नं. २ मा एमालेका नेता सुवास नेम्बाङ लड्थे। खड्काले यसपटक नेम्बाङसँग लड्ने तयारी गरेका छन्।
‘जिल्ला सभापतिले एउटा टिकट लिने प्रचलन छ। क्षेत्र २ मा म आफैँ उठ्छु,’ उनले भने। यसपटक क्षेत्र नं. २ मा कांग्रेसभित्र किचलो बढ्ने भएको छ। नेम्बाङसँग विगतमा भिडेका केशव थापासहित अन्य नेता पनि सोही क्षेत्रमा दाबी गर्दै आएका छन्।
खनालको प्रतिस्पर्धा एमालेका जिल्ला अध्यक्षसँग
इलाम क्षेत्र नं. १ मा नेकपा एमालेबाट जिल्ला अध्यक्ष महेश बस्नेत लड्ने भएका छन्। लामो समय एमालेबाट खनालले ‘होल्ड’ राखेको सो क्षेत्रमा बस्नेत भिड्ने तयारीमा रहेको एमाले कार्यकर्ता बताउँछन्।
‘अध्यक्षज्यू, लड्ने पक्का जस्तै छ,’ एमालेका एक कार्यकर्ताले भने। क्षेत्र नं. १ मा गठबन्धनभन्दा एमालेको मत कम छ। स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनले धेरै ठाउँमा जितेको थियो। तर पछिल्लो समय बस्नेतले पकड बनाउँदै लगेको एमाले स्रोतको दाबी छ।
यस्तो छ अंकगणित
२०७४ सालको निर्वाचनमा इलाम क्षेत्र नं. १ मा एमाले र माओवादीको संयुक्त गठबन्धनबाट खनाल ३६ हजार ८०५ मत ल्याएर विजयी बनेका थिए।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६३८ मत ल्याएका थिए। अहिले खनाल कांग्रेससहितको सत्ता गठबन्धनबाट उम्मेदवार बन्ने कसरतमा छन्। वडा तहको मत परिणामअनुसार सो क्षेत्रमा एमालेको मत जम्मा २४ हजार ८२१ छ।
गठबन्धन दलमध्ये नेपाली कांग्रेसकै मत २४ हजार ८४६ छ। गठबन्धनकै अर्को घटक माओवादीको १ हजार २३५, नेकपा एकीकृत समाजवादीको ९ हजार ४७८ र जनता समाजवादी पार्टीको १ हजार ८२९ मत गरी जम्मा ३७ हजार ३८८ मत छ।
यो पनि
चुनाव हारेपछि एमालेसँग नरम देखियो एकीकृत समाजवादी
समाजवादीका १० सांसद एमाले फर्कन लागेका हुन्?