काठमाडौँ– नाग पञ्चमी संघारमै छ। हिन्दु धर्मावलम्बीहरूले नाग पञ्चमीका दिन घरको मूलढोकामा नागको चित्र टाँस्ने चलन छ। मूलढोकामा अष्टनाग (अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख) को चित्र टाँस्नाले घरमा चट्याङ नपर्ने, आगो र सर्पको डर नहुने धार्मिक विश्वास छ।
नागपञ्चमी नजिकिएसँगै बजारमा अहिले जताततै नागका चित्र बेच्न राखिएको देखिन्छ। आकर्षक यस्ता चित्र सस्ता पनि हुन्छन्। पहिलापहिला हातले लेखेको चित्र टाँस्ने चलन थियो। तर छापाखानाको विकास भएसँग नागका चित्रलाई पनि छाप्न थालिएको छ। भारतबाट समेत नागका चित्र आयात हुने गरेको छ।
काठमाडौँमा केही ठाउँमा भने हातैले बनाएका नागका चित्रमा रङ भेरेर बिक्री गरिँदै आएको छ। यसरी नागको चित्रमा रङ भर्नेमध्येकी एक हुन् भक्तपुर याछेकी ६८ वर्षीया चेतकुमारी चित्रकार। २१ वर्षको उमेरमा बिहे गरेर आएदेखि सासूससुराबाट सिकेको सीपलाई निरन्तरता दिइरहेको उनी बताउँछिन्।
उमेर ढल्किँदै गएको छ, तर यो काम भने उनलाई छोड्न पटक्कै मन छैन रे। परम्परा लोप भएर जाला कि भन्ने चिन्ताले सकुन्जेल यो काम नछोड्ने उनी बताउँछिन्। उनले नागको चित्र मौत्र होइन, गाईजात्रा, गणेश चतुर्थी, दसैँलगायत सबै चाडमा चाहिने पोस्टर बनाउने काम गर्दै आएकी छन्।
चेतकुमारीका अनुसार पछिल्ला वर्षमा नागपञ्चमीका बेला ५०० प्रति जति नागको चित्र बिक्री हुने गरेको छ। पहिले यो संख्या धेरै हुन्थ्यो। यसरी हातले तयार गरिएको चित्रको बजार मूल्य आकारअनुसार २० देखि २५ रुपैयाँ पर्छ। एक प्रति चित्रबाट विक्रेताले दुई रुपैयाँ नाफा कमाउने उनले बताइन्।
समयक्रमसँगै चित्र बनाउने तरिका पनि फेरिएको छ। पहिलेपहिले काठमा कुँदेर बनाइएको ब्लकमा छाप्ने वा हातैले चित्र बनाएर रङ भर्ने गरिन्थ्यो। अचेल भने भारततिरबाटै प्रिन्टिङ मेसिनमा छापिएर आउने गर्छ। चेतकुमारी आफैँ पनि अचेल सजिलोका लागि पहिले कोरिएर राखिएको नागको चित्रको फोटोकपी गरेर रङ भर्ने गरेको सुनाउँछिन्। यस वर्षको नागपञ्चमी साउन १७ गते परेको छ।