काठमाडौँ- अचेल सातदोबाटो–लगनखेल सडकमा फरक दृश्य देख्न पाइन्छ। सडकको दायाँबायाँ दुवैतर्फ निर्माण कार्य भइरहेको छ। साँझबिहान सवारीसाधनको अत्यन्तै चाप हुने यो सडक फराकिलो बनाउन लागिएको होइन, न त कालोपत्र गर्नै लागिएको हो, त्यहाँ त भिन्नै साइकल लेन बनाउन लागिएको हो। साइकलको उक्त लेन डेढ मिटर चौडाको हुनेछ।
ललितपुर महानगरपालिकाले केही वर्षपहिले साइकलका लागि भनेर सडकको दुवैतर्फ रेखांकन गरेर छुट्टै लेनको व्यवस्था गर्यो तर त्यो प्रभावकारी भएन, अतिक्रमणमा पर्यो। रेखांकन गरिएको अधिकांश ठाउँ साइकल कुद्ने भन्दा पनि सवारीसाधन पार्किङ गर्ने थलो बन्यो।
महानगरपालिकाले साइकलमैत्री सडक बनाउने क्रममा अहिले फेरि लगनखेल–सातदोबाटो सडक खण्डको केही भागमा परीक्षणस्वरूप नेपालमै पहिलोपटक ब्यारिकेटेड पोल राखेर छुट्टै साइकल लेन निर्माण गरिरहेको छ।
अहिले राखिएको ब्यारिकेटेड पोल रातिको समयमा पनि चम्किने किसिमको छ। यसरी निर्माण गरिने साइकल लेनमा अन्य सवारीसाधन भने गुड्न पाउने छैन।