काठमाडौँ- आज साउने संक्रान्ति अर्थात् आजदेखि साउन सुरु भयो। वर्षका १२ महिनामा साउनलाई सबैभन्दा उत्तम महिना मानिन्छ। पवित्र मानिन्छ। साउनभर हरियो तथा रातो सौभाग्यका सामग्री लगाएर शिवको विशेष आराधनासहित व्रत बस्दा सौभाग्य प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ।
साउन भगवान शिवको प्यारो महिना भएकाले प्रकृतिअनुरुप हरियो पहिरनमा बेलपत्र, धतुरो, नरिवल, आदि चढाएर पूजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ। सनातन धर्मावलम्बीमा साउनभर माछा-मासु, लसुन, प्याज आदि तामसी खानेकुरा नखाने चलन छ। हरियाली, रंगीचंगी फूल फुल्ने महिना हो साउन।
धर्मकर्मका लागि मात्र नभई महिलाहरूका लागि पनि साउन विशेष महिना हुने गर्छ। साउन सुरु भएसँगै महिलाको पहिरन हरियो, पहेँलो र रातोले ढाकिएको हुन्छ। रातो सारी, हरियो–पहेँलो चुरापोतेमा सजिएका नेपाली महिलाहरूका लागि साउन कुनै चाडभन्दा कम हुँदैन।
पछिल्लो समय साउन लाग्नेबित्तिकै हरियो चुरापोतेमा सजिनु नेपाली महिलाका लागि फेसनजस्तै भएको छ। महिलाहरूको रुचिअनुसार साउन आउनुअघिनै बजार हरियो–पहेँलो रङका चुरापोतेले भरिन थाल्छन्।
शृंगार सामग्री पसलका व्यवसायीलाई यतिखेर चुरापोते बेच्न भ्याइनभ्याइ हुन्छ। काठमाडौँका मुख्य-मुख्य बजारमात्र होइन, चोकगल्लीमा रहेका स-साना पसलमा समेत हरियो-पहेँलो रङका चुरापोते देखिन्छन्। हामीले यहाँ काठमाडौँको न्युरोड, इन्द्रचोकको क्षेत्रमा देखिएको रौनकको तस्बिर देखाएका छौँ।