काठमाडौँ- नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती बुधबार देशव्यापी रूपमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। भानु जयन्तीका अवसरमा काठमाडौँमा प्रभातफेरी आयोजना गरिएको छ।
प्रभातफेरीसहितको शोभायात्रामा विभिन्न विद्यालयका बालबालिका, सेना, प्रहरी, झाँकी, साहित्यानुरागी लगायत सहभागी थिए। त्यसपछि प्रज्ञाभवनस्थित भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरिएको थियो। समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले भानुभक्तको सालिकमा माल्यार्पण गरेका थिए। प्रभातफेरीमा सहभागीले भानुभक्तको सम्मानमा बिर्के टाेपी, लबेदा सुरुवाल लगाएका थिए। जुन टोपी नेपाली भाषाका आदिकवि भानुभक्तको चिनारी मानिन्छ।
संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्। रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ।
पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन्। १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिनुभएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए।
‘बधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो। यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन्। कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए, ‘भोलिभोलि भन्दैमा सव घर बितिगो बक्सियोस् आज झोली।’
त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन्। भानुभक्तको निधन १९२५ असोजमा भएको थियो। भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी रहेका देश एवं स्थानमा समेत मनाउने गरिएको छ।