इटहरी- सुधार गृहमा राखिएका इटहरी उपमहानगरपालिका-२० का दिलेन्द्र परियारको मृत्यु शंकास्पद रहेको भन्दै परिवारले छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ। घटना भएको चार महिना बित्दा पनि दोषी पहिचान गरी कारबाही नभएको उनीहरूको गुनासो छ।
विराटनगर महानगरपालिका-२ शनिहाटस्थित स्पर्श नेपाल नामक सुधार केन्द्रबाट भागेका २६ वर्षीय दिलेन्द्र परियारको शव फागुन २५ गते स्थानीय सिंघिया खोलामा भेटिएको थियो।
उनी फागुन २४ गते भागेको बताइएको थियो। कुलतमा रहेका दिलेन्द्र सुध्रियोस् भनेर फागुन १ गते स्पर्श नेपालमा राखिएको उनका बा दिलीपकुमार परियारले बताए।
सुधार केन्द्रमा राखेर छोरो सुध्रिएर आउने अपेक्षामा रहेका बाआमा छोराको निधनपछि स्तब्ध छन्। उनीहरूले छोराको शंकास्पद मृत्यु भएको भन्दै घटना छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन्। सुधार केन्द्रकै लापरबाहीले दिलेन्द्र भागेको र मृत्यु भएको उनीहरूको आरोप छ।
धरानका निशान धमला, विराटनगरका दिनेश बस्नेत, इटहरीका दिलेन्द्र परियार र विराटनगरका रोहित कामत सुधार केन्द्रबाट एकै दिन भागेका थिए। लागूऔषध प्रयोग गर्ने भएका कारण उनीहरूलाई सुधार केन्द्रमा राखिएको बताइएको छ।
सुधार केन्द्रको मूल प्रवेशद्वारबाटै भागेका चारमध्ये दुई जनालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो भने परियारको शव भोलिपल्ट खोलामा फेला पारेको थियो।
‘हामीले तीन महिनाको कोर्सका लागि भनेर ५५ हजार रुपैयाँ बुझाउने सर्तमा सुधार केन्द्रमा राखेको २४ दिनमै छोराको मृत्यु भएको खबर आयो’, मृतकका बा दिलीपकुमारले भने, ‘सुरुमा २५ हजार तिरेको र बाँकी रकम तीन महिनापछि तिर्ने सर्तमा राखिए पनि सुधार केन्द्रको लापरबाहीका कारण छोरा गुमाउनुपर्यो।’
‘सुधार केन्द्रको जिम्मेवारीमा राख्दा कसरी मृत्यु भयो? मलाई न्याय चाहिन्छ’, काखमा छोरी च्यापेर बसेकी उनले गहभरि आँसु पार्दै भनिन्।
सुधार केन्द्रका अध्यक्ष सञ्जीव खड्काले चरम लापरबाही गरेका कारण आफ्नो छोराको मृत्यु भएको उनको आरोप छ। उनीहरूको उजुरीपछि सञ्जीव पक्राउ पनि परेका थिए। तर दिलेन्द्र भाग्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएपछि शव भेटिएको र यसमा उनको कुनै संलग्नता नरहेको भन्दै प्रहरीले छाडिदिएको दिलीपकुमारले आरोप लगाए।
‘हामीले खड्काविरुद्ध प्रहरीमा जाहेरी दिए पनि प्रहरीले कारबाही गरेन’, उनले भने। उनले छोरा गुमाउनुपरेको आक्रोशसँगै मृतकका पत्नी र छोरीको लालनपालनका लागि क्षतिपूर्ति दिलाउन माग गरेका छन्।
‘सुधार केन्द्रको यातनाकै कारण छोराको मृत्यु भएको शंका छ’, परियारले हिमाल प्रेससँग भने, ‘पहिलो दिन खोलामा हामफालेर डुबेको छ भनेर बोलाइयो, हामी पुग्दा छोरा सकुशल भेटिन्छ भनिएको थियो। फेरि भोलिपल्ट मृत्यु भएको खबर आयो।’
स्पर्शका मान्छेले खोलामा डुबेर मृत्यु भएको जानकारी दिए पनि प्रहरीले पनि सकुशल रहेको छ भनेर दोहोरो चरित्र देखाएकाले आफूलाई छोराको मृत्युबारे शंका लागेको उनको भनाइ छ।
प्रहरीलाई उधृत गर्दै उनले भने, ‘बुबा तपाईंको छोरा फेला पर्छ, मृत्यु भएको छैन।’ अर्को दिन भने छोराको शव फेला परेको उनको भनाइ छ।
आफूले हालेको निवेदन लिएपछि तीनपटक जाँदा पनि सुनुवाइ नभएको उनले बताए। निकै दबाब दिएपछि सञ्जीव खड्कालाई पक्राउ गरे पनि सरकारी वकिलको कार्यालयले दुई दिन बयान लिएर छाडिदिएको भनाइ परियारको छ।
मृतककी पत्नी लक्ष्मी राई (परियार) ले पतिको मृत्यु भएपछि दुई कक्षामा पढ्दै गरेकी छोरीको लालनपालनका निम्ति सुधार केन्द्रले क्षतिपूर्ति दिनुपर्ने माग राखिन्।
उनले भनिन्, ‘मेरा बुढा सुध्रिन्छन् भनेर उनीहरूको जिम्मामा राख्दा अहिले यस्तो अवस्था आइलाग्यो।’ सञ्जीव खड्का आफूहरूको सम्पर्कमा नआएकाले पनि शंका रहेको उनको भनाइ छ। उनले भनिन्, ‘उनले केही कार्य नगरेको भए हामीसँग फेस टु फेस किन कुरा गर्दैनन्?’
‘मलाई नथुनाएको भए क्षतिपूर्ति दिन्थेँ (सुधार केन्द्रका सञ्चालक सञ्जीव खड्काले) भन्ने गरेको छ, अहिले त्यहाँका सञ्चालक भागीभागी हिँड्ने गरेका छन्,’ उनले सुनाइन्, ‘घटनास्थलमा पनि सुधार केन्द्रको मान्छे कोही पनि थिएनन्, घटना शंकास्पद भए पनि प्रहरीले राम्रो कदम चालेन।’
डिप्लोमा इन फार्मेसी अध्यापन गरेका दिलेन्द्र पछिल्लो समय कुलतमा फसेका थिए। आफूहरूले सल्लाह गरेरै उनलाई सुधार केन्द्रमा राखिएको लक्ष्मीले बताइन्। सुधार केन्द्र राखेको एक महिना नबित्दै मृत्युको खबरबाट आफू विक्षिप्त बनेको उनी सुनाउँछिन्।
‘क्षतिपूर्ति दिने-नदिने कुरा त कानुनअनुसार हुनुपर्छ। त्यो संस्थाको कुरा हो, प्रहरीले उजुरी आएमा कारबाही र अनुसन्धान गर्ने कुरामा दुईमत छैन।’
‘सुधार केन्द्रको जिम्मेवारीमा राख्दा कसरी मृत्यु भयो? मलाई न्याय चाहिन्छ’, काखमा छोरी च्यापेर बसेकी उनले गहभरि आँसु पार्दै भनिन्।
मृतककी आमा अञ्जनादेवी परियारले बुढेसकालको सहारा गुमेपछि आफू पिरोलिएको सुनाइन्। उनले भनिन्, ‘मैले छोरालाई सुधार्छु भनेर सुधारगृहमा राख्दा मृत्यु भयो, अत्यन्तै लापरबाही भयो।’
उनले मृतक छोराको न्यायका लागि प्रहरीमा निवदेन हाल्दा पनि कारबाही नभएको गुनासो गरिन्। उनले भनिन्, ‘हामी कमजोर मानिस भएकाले मुद्दाको सुनुवाइ भएन।’
सुधार केन्द्रका कर्मचारी विशाल गिरी भने आफूलाई यस विषयमा थाहा नभएको भन्दै पन्छिए। उनले भने, ‘यसबारे विस्तृत कुरा मलाई थाहा भएन। अध्यक्षजीलाई सोध्नुपर्छ।’ अध्यक्ष सञ्जीव खड्कासँग भने पटकपटक सम्पर्क गर्न खोज्दा प्रयास हुन सकेन।
प्रहरीले चाहिँ भाग्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएपछि शव भेटिएको जनाएको छ। प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले सुधार केन्द्रबाट भागेर खोला तर्ने क्रममा डुबेर परियारको निधन भएको बताए।
उनले भने, ‘सुधार केन्द्रबाट भागेर खोला तर्ने क्रममा डुबेकै हो, तर प्रहरीले फौजदारी अभियोगमा संलग्न देखिएपछि कारबाही प्रक्रिया अगाडि बढाउने हो।’
उनले पीडित परिवारलाई सुधार केन्द्रले क्षतिपूर्ति दिनुपर्ने बताए। ‘क्षतिपूर्ति दिने-नदिने कुरा त कानुनअनुसार हुनुपर्छ,’ उनले भने, ‘त्यो संस्थाको कुरा हो, प्रहरीले उजुरी आएमा कारबाही र अनुसन्धान गर्ने कुरामा दुईमत छैन।’