काठमाडौँ- कोभिड १९ ले थला परेको पर्यटन क्षेत्रको पुनरुत्थान तथा ओझेलमा रहेका पर्यटकीय स्थलको प्रवर्द्धनका लागि फोटो प्रतियोगिता हुने भएको छ।
प्रतियोगिताको आयोजना नेपाल पर्यटन बोर्डको सहकार्यमा अठोट नेपालले गर्नेछ। पर्यटन क्षेत्रलाई पुनर्थापित गर्न र तस्बिरको माध्यमबाट देशभरीका पर्यटकीय गन्तव्यलाई प्रबर्द्धन गर्नका लागि प्रतियोगिता गर्न लागेको संयोजक देबेन्द्रबहादुर शाहीले जानकारी दिए। उनका अनुसार यो प्रतियोगितामा देशभरका फोटोग्राफर सहभागी हुन सक्नेछन्।
प्रतियोगिमा चार विधामा प्रतिस्पर्धा गर्न सकिनेछ। नेचर, कल्चर, लाइफस्टाइल र वाइल्डलाइफ विधा रहेको प्रतियोगितामा हरेक विधाका विजेताले ५०/५० हजार नगद पुरस्कार पाउनेछन्।
त्यसमध्ये पनि एक उत्कृष्टलाई सेफोक्सुन्डोको फोटोग्राफी टुर प्याकेज दिइने संयोजक शाहीले बताए। प्रतियोगितामा प्रत्येक प्रदेशबाट ७/७ फोटो छनोट गरी ४९ र बाँकी हरेक विधाबाट चार गरेर ५३ फोटो प्रदर्शनीमा राखिनेछ। प्रतियोगिताको निर्णायकमा जगदिश तिवारी र भरतबन्धु थापा छन्।