पोखरा- नेपालकै प्रमुख पर्यटकीय गन्तव्य हो, पोखराको लेकसाइड। यहाँ रात्रिजीवन बिछट्टै गुलजार देखिन्छ। त्यसैले पोखरा पुग्ने देशीविदेशी पर्यटक लेकसाइड पुगेरै छाड्छन्।
रात ब्युँझिएर दिनभरि सुत्न रुचाउने लेकसाइडलाई प्रहरी प्रशासनले भने बेलाबेलामा दुःख दिँदै आएको थियो। केही खास पसल व्यवसाय बन्द गर्नुपर्ने भन्दै राति ९-१० नबज्दै प्रहरी सिठी फुक्दै आउँदा व्यवसायी आजित थिए।
गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुँदा २५ मा काठमाडौँको पर्यटकीय क्षेत्र ठमेल, दरबारमार्ग, पोखराको लेकसाइडजस्ता पर्यटक आवागमन बढी हुने क्षेत्रमा चौबिसै घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिनेछ भन्ने उल्लेख छ। तर लेकसाइडमा रात्रिकालीन व्यवसाय निर्बाध रूपमा चलाउन प्रहरी हस्तक्षेप बाधक थियो।
लेकसाइडकै कतिपय होटल व्यवसाय तथा रेस्टुरेन्ट, क्लबलगायतलाई रात्रिकालीन व्यवसाय गर्न इजाजत प्रदान गरिएको छ। काठमाडौँसहति देशका मुख्य पर्यटकीय गन्तव्यमा सोही अवस्था रहेको भन्दै व्यवसायीहरू संविधानविपरीत व्यवहार भइरहेको बताउँथे। प्रहरी आजितबाट हैरान भएका व्यवसायीले कानुनी बाटो रोजे।
यसको प्रतिनिधित्व गरिन् लेकसाइडमा वाइन सप सञ्चालक गर्दै आएकी देवीकुमारी बरालले। सबै व्यवसायीको प्रतिनिधित्व गर्दै उनले व्यापार, व्यवसाय सञ्चालनमा रोक नलगाउन मागसहित उच्च अदालत पोखरामा निषेधायुक्त परमादेशको रिट दायर गरेकी थिइन्। अदालतले उक्त मुद्दामा अन्तरिम आदेश जारी गरेको छ।
कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले बुधबार उक्त आदेश दिएको हो। अदालतले अन्तिम निर्णय नहुन्जेलसम्मका लागि कानुनविपरीतको कार्य भएको अवस्थामा बाहेक व्यापारव्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न आदेश दिएको छ।
निवेदकतर्फबाट वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला, अधिवक्ताहरु शिवराज वाग्ले, दीपक पराजुली र दिनेश आचार्यले बहस गरेका थिए। आदेशमा भनिएको छ, ‘…गृहप्रशासन सुधार कार्ययोजना २०७४ को बुँदा २५ मा ठमेल, दरबारमार्ग, पोखराको लेकसाइडजस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रमा चौबिसै घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिनेछ भन्ने व्यवस्था भएको भनी निवेदकले निवेदनसाथ पेस गरेको उक्त कार्ययोजना प्रतिलिपिबाट देखिँदा विपक्षीहरुको निवेदन परेको अवस्थामा कानुबमोजिम पुनर्विचार हुन सक्ने नै हुँदा प्रस्तुत निवेदनको अन्तिम निर्णय नहुन्जेलसम्म कानुनविपरीतका कार्य भएको अवस्थामा बाहेक निवेदकलाई कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्नू नगराउनू ।’
रिटमा जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीलाई विपक्षी बनाइएको थियो।
अदालतले निवेदन मागअनुसारको आदेश जारी हुनु नपर्ने भए आधार, कारण एवं प्रमाणसहित म्याद सूचना भएको मितिले १५ दिनभित्र विपक्षीहरुका हकमा उच्च सरकारी वकिल कार्यालय पोखरामार्फत लिखित जवाफ पेस गर्न विपक्षीलाई आदेश दिएको छ।
पोखरा घुम्न आउने पर्यटकलाई पर्यटनको सर्वमान्य सिद्धान्तविपरीत लेकसाइडलाई रातभरि खुला राख्ने भनी सम्बन्धित निकायबाट निर्णयसमेत भइसकेको अवस्थामा व्यवसायमा धरपकड बन्द गर्न र लेकसाइड रातभर खुला राख्न कार्यान्वयनको माग गरिएको थियो।
यसै क्रममा बिहीबार पनि उच्च अदालतले यस्तै प्रकृतिको अर्को रिटमा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश मिलनकुमार राईको एकल इजलासले जिल्ला प्रशासन कार्यालय कास्कीको नाउँमा अन्तरिम आदेश जारी गरेको हो।
स्थानीय विनये पाध्याले लेकसाइडमा रहेको आफ्नो राइस गार्डेन रेस्टुरेन्ट एन्ड बार राति ११ बजेपछि सञ्चालन नगर्नु भनी हस्तक्षेप गरेपछि रिट दायर गरेका थिए। उक्त रिटमा निवेदनको अन्तिम टुंगो नलागेसम्म रेस्टुरेन्ट बन्द नगर्नु नगराउनू भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम विपक्षीका नाममा अन्तरिम आदेश जारी गरिएको हो। निवेदकतर्फबाट वरिष्ठ अधिवक्ता तिलक पराजुली र अधिवक्ता केशवप्रसाद पराजुलीले बहस गरेका थिए।
पर्यटन व्यवसायीको फरकफरक मत
उच्चको आदेशसँगै पोखराका पर्यटन व्यवसायी उत्साहित भएका छन्। उनीहरूले पोखरा ‘पर्यटनको राजधानी’ घोषणा हुने अन्तिम तयारी भइरहेका बेला यो आदेशले पनि सघाउ पुग्ने बताए। पाहुनाले होटल तथा रेस्टुरेन्टमा खाजाखाना खाइरहेका बेला ९-१० नबज्दै प्रहरी भ्यान लिएर सिठी फुक्दै आउने गरेपछि यहाँको पर्यटनमा नकारात्मक असर पारेको थियो।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले अदालतको आदेश स्वागतयोग्य रहेको बताए। आफूहरूले धेरै पहिलादेखि राख्दै आएको माग अदालतले आदेश गरेपछि पर्यटन क्षेत्रमा उत्साह थपिएको उनी बताउँछन् । उनले भने, ‘हाम्रो माग पूरा भएको छ। यसले गर्दा पोखराको पर्यटन थप चलायमान हुनेमा विश्वास लिएका छौँ। पर्यटकलाई अब पोखरा जति बेला गए पनि खानबस्न समस्या छैन भन्ने सकारात्मक सन्देश जानेछ।’
शान्तिसुरक्षाका लागि स्थानीय, प्रदेश र संघीय सरकारले थप बलियो बनाएर व्यवस्थित ढंगले अघि बढ्नुपर्ने उनले सुझाव दिएका छन्।
पोखरा होटल संघ अध्यक्ष लक्ष्मण सुवेदीले चौबिसै घण्टा लेकसाइड खुल्नु व्यवसायीका लागि खुसीको विषय भएको बताए। उनले भने, ‘तर एकले अर्कोलाई असर नपर्ने गरी व्यवसाय सञ्चालन गर्नुपर्छ।’ आचारसंहिता पालना गरेर पाहुनाको सेवा दिन सके पोखराको मात्र नभई समग्र गण्डकी प्रदेशकै पर्यटनमा टेवा पुर्याउने दाबी उनको छ। उनी भन्छन्, ‘यहाँ (लेकसाइडमा) व्यवसायीमात्र छैनन्, केटाकेटी पनि छन्, बूढाबूढी पनि छन्। पाहुना रातमा आनन्दले सुत्नुपर्ला। तर एकले अर्कोलाई डिस्टर्भ नहुने गरी आचारसंहितामा रहेर व्यवसाय सञ्चालन गर्नुपर्छ।’
पोखराका अग्रज पर्यटन व्यवसायी गोविन्दराज पहारीको विचार भने फरक छ। उनी भन्छन्, ‘लेकसाइडका पर्यटन व्यवसायी दुई भागमा बाँडिएका छन्। एकथरिले चौबिसै घण्टा खुलाउनुपर्छ भन्छन्। एकथरी हुँदैन भन्छन्। तर जिल्ला प्रशासन कार्यालयले जारी गरेको रात्रिकालीन व्यवसाय सञ्चालन निर्देशिकामा उल्लेख बुँदा पालना गरेर खुलाएमा हामीलाई आपत्ति छैन।’
दिवाकालीन व्यवसाय भनेर अनुमति लिएकालाई रातभरि खोल्न दिन नहुने उनको सुझाव छ। उनी भन्छन्, ‘निर्देशिका पालना गर्नुपर्यो। प्रहरीले चौबिसैघण्टा शान्तिसुरक्षा दिनुपर्यो।’ तत्कालीन पश्चिमाञ्चल होटल संघका पूर्वअध्यक्षसमेत रहेका पहारी लेकसाइडलाई चौबिसै घण्टा खुलाउन सहज नहुने बताउँछन्। एकताका लेकसाइडलाई शुक्रबार र शनिबार राति दिन ‘नो भेइकल जोन’ का रूपमा विकास गर्ने भनिए पनि कार्यान्वयन हुन नसहेको उनले स्मरण गरे। व्यवसायी उत्साहित भए पनि कार्यान्वयन सजिलो नभएको उनले बताए।