५६ प्रतिशतले बढ्यो अलैँची निर्यात

हिमाल प्रेस २१ कार्तिक २०८० ७:२४
6
SHARES
५६ प्रतिशतले बढ्यो अलैँची निर्यात फाइल तस्बिर

काठमाडौँ- चालु आर्थिक वर्षको तीन महिनामा (साउन–असोज) अलैँची निर्यात ५६ प्रतिशतले बढेको छ।

भन्सार विभागको तथ्यांक अनुसार अलैँची निर्यात ५६.८ प्रतिशतले बढेर एक अर्ब ८९ करोड ७६ लाख सात हजार रुपैयाँको निर्यात भएको छ। अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गएकाले निर्यातमा वृद्धि भएको हो। गत वर्ष सो अवधिमा एक अर्ब २० करोड ६१ लाख ४५ हजार रुपैयाँको अलैँची निर्यात भएको थियो।

विभागका तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा आठ अर्ब २७ करोड ६८ लाख ५० हजार रुपैयाँको अलैँची निर्यात भएको थियो। अघिल्लो वर्षको तुलनामा गत आवमा अलैँची निर्यात ७२ प्रतिशतले वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ।

आर्थिक वर्ष २०७८/७९ मा चार अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँको अलैँची निर्यात भएको थियो । नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँचीको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएपछि निर्यातमा समेत वृद्धि हुने गर्छ। अलैँची औषधी, मसलाका रूपमा प्रयोग हुने गर्छ ।

नेपालमा उत्पादित वस्तुमध्ये सर्वाधिक निर्यात हुने वस्तुमध्येको एक हो अलैँची। जसलाई कालो सुनको उपनामले चिनिन्छ । वैदेशिक व्यापार घाटा कम गर्न योगदान पुर्‍याउने अलैँची नेपालका ४३ भन्दा बढी जिल्लामा व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ ।

आव २०७७/७८ मा सात अर्ब दुई करोड २४ लाख ९३ हजार रुपैयाँ बराबरको आठ हजार ८५७.३४ मेट्रिक टन अलैँची निर्यात गरेको थियो। त्यस्तै आव २०७६/७७ मा चार अर्ब एक करोड ९२ लाख रुपैयाँको अलैँची निर्यात गरेको छ भने आव २०७५/७६ मा चार अर्ब २८ करोड ४२ लाख रुपैयाँ अलैँचीबाट भित्रिएको थियो।

नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँची, जर्मनी, भारत, इटाली, पाकिस्तान, अमेरिकालगायतका देशमा निर्यात हुने गर्छ। नेपाली अलैँची निकासी हुने ठूलो बजार भनेको भारत नै हो । नेपालबाट भारततर्फ गएको अलैँचीलाई भारतले प्याकेजिङ गरेर आफ्नो ब्रान्ड बनाएर अन्य देशमा निर्यात हुने गरेको पाइएको छ।

नेपालले नै अन्तर्राष्ट्रिय रूपमा अलैँचीको बजारीकरण गर्दै आफ्नो उत्पादनको उच्च मूल्य पाउने अवस्था सिर्जना गर्नेतर्फ पहल हुनुपर्ने विज्ञहरूले औँल्याएका छन् । अलैँची औषधि र मसलाका रूपमा प्रयोग गर्ने गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गए पनि खेती गर्ने क्षेत्रफल भने घट्दै गएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार आव २०७७/७८ मा १५ हजार ६६८ हेक्टर क्षेत्रफलमा आठ हजार २८९ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । यस्तै आव २०७६र७७ मा १६ हजार ५६५ हेक्टर क्षेत्रफलमा नौ हजार ५४५ मेट्रिक टन अलैँची उत्पादन भएको थियो। गोरखापत्रबाट

प्रकाशित: २१ कार्तिक २०८० ७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eleven =