अर्थ मन्त्रालय। फाइल तस्बिर
                                            काठमाडौँ- चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा सरकारले गरेको पुँजीगत खर्चको तुलनामा सार्वजनिक ऋणको साँवाब्याज भुक्तानी दायित्व करिब तीनगुणा बढी देखिएको छ। सरकारी ऋण बर्सेनि बढ्दै गएसँगै त्यसको साँवा र ब्याज भुक्तानीका लागि हुने खर्च पनि बढ्दै गएको हो।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार कात्तिक १२ गतेसम्ममा सरकारले २५ अर्ब ७८ करोड ९० लाख बराबर पुँजीगत खर्च गरेको छ। जबकि असोज मसान्तसम्ममा सरकारी ऋणको साँवाब्याज तिर्न ६७ अर्ब ७० करोड ७१ लाख खर्च भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकबाट देखिन्छ। यो अवधिमा भएको कुल पुँजीगत खर्चको तुलनामा सरकारी ऋणको साँवाब्याज तिर्न भएको खर्च करिब तीनगुणाले बढी हो।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको असोज मसान्तसम्मको सरकारी ऋणको विवरणअनुसार यो अवधिसम्ममा आन्तरिक ऋणको साँवा ४२ अर्ब ८४ करोड १७ लाख र ब्याज १३ अर्ब ७१ करोड ५० लाख ब्याज गरी कुल ५६ अर्ब ५५ लाख ६७ लाख बराबर भुक्तानी भएको छ।
त्यस्तै बाह्य ऋणको ८ अर्ब ७० करोड ३६ लाख साँवा र दुई अर्ब ४४ करोड ६८ लाख ब्याज गरी कुल ११ अर्ब १५ करोड चार लाख बराबर भुक्तानी भएको छ। चालु आर्थिक वर्षको तीन महिना अवधिमा नेपालले ९७ अर्ब ३१ करोड बराबर आन्तरिक र ९ अर्ब ४७ करोड ८० लाख बाह्य गरी १ खर्ब ६ अर्ब ७८ करोड ८० लाख बराबर ऋण लिएको छ। योसँगै नेपालको कुल सार्वजनिक ऋण २३ खर्ब ५४ अर्ब ५९ करोड ५१ लाख पुगेको कार्यालयले जनाएको छ।
असोज मसान्तसम्ममा नेपालले ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख आन्तरिक र ११ खर्ब ७१ अर्ब दुई करोड ३१ लाख बाह्य ऋण तिर्न बाँकी देखिएको हो। अर्कोतर्फ सरकारको घाटा बजेटको आँकडा पनि बढ्दै गएको छ। हालसम्म कुल तीन खर्ब तीन अर्ब ६५ करोड ३७ लाख बराबर बजेट खर्च हुँदा राजस्व संकलन भने दुई खर्ब ४८ अर्ब २८ करोड ५० लाख बराबर देखिएको छ। अर्थात् हालसम्म सरकारको आम्दानीको तुलनामा खर्च ५५ अर्ब ६७ करोड बढी छ।

                                             
                                             
                                             
                                             

