काठमाडौँ- प्रतिनिधिसभाको निर्वाचनमार्फत उदाएका नयाँ राजनीतिक दल संघीय संसद् सचिवालयको सम्पर्कमा आउने क्रम सुरु भएको छ।
सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलले सम्पर्क गरेका हुन्। आइतबार ती राजनीतिक दलले संसदीय प्रक्रियाका बारेमा जानकारी लिएका संघीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले बताए।
उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि आएर संसदीय प्रक्रिया र आफूहरू रहने कार्यालयका बारेमा जानकारी लिएका हुन्।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि ती दलले आइतबार सम्पर्क गरेका थिए्। उक्त निर्वाचनमा नेपाली कांग्रेस पहिलो दलका रुपमा स्थापित भएको छ।
प्रत्यक्षमा कुल ५७ स्थानमा विजयी भएको उक्त दलले समानुपातिक निर्वाचन प्रणालीमा ३२ सिट पाएको छ। यस आधारमा कांग्रेस ८९ सिटसहित पहिलो बनेको हो।
प्रत्यक्षमा ४४ स्थानमा विजयी भएको नेकपा एमालेले समानुपातिकमा ३४ स्थान पाएको छ। यस आधारमा सो दलको कुल सिट संख्या ७८ भएको छ।
तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले प्रत्यक्षतर्फ १८ स्थानमा विजयी भएकामा समानुपातिकतर्फ १४ गरी कुल ३२ सिट पाएको छ।
पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ सात स्थान र समानुपातिकतर्फ १३ सिट गरी कुल २० स्थानसहित चौथो स्थानमा रहेको छ।
नेकपा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ कुल १० स्थानमा जित निकाले पनि समानुपातिकतर्फ निर्धारित मत सीमा पूरा गर्न नसक्दा कुनै पनि स्थान पाएन।
कानुनअनुसार कुल सदर मतको तीन प्रतिशत बराबरको मत सीमा पूरा नगर्दा सो दलले समानुपातिकतर्फ कुनै पनि सिट नपाएको हो।
राप्रपाले प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ सात गरी कुल १४ सिट पाएको छ। जनता समाजवादी पार्टीले प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ पाँच गरी कुल १२ सिट पाएको छ।
संसद्मा पहिलो पटक प्रवेश गर्न लागेको जनमत पार्टीले प्रत्यक्षतर्फ एक र समानुपातिकतर्फ पाँच गरी कुल छ सिट प्राप्त गरेको छ।
लोकतान्त्रिक समाजवादी पार्टीले चार स्थानमा आफूलाई सुरक्षित गरेको छ। नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले समान एक/एक स्थानमा जित निकालेका थिए।
यस आधारमा १२ राजनीतिक दलको संसद्मा प्रतिनिधित्व रहने भएको छ। त्यस्तै पाँच स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए।
निर्वाचन आयोगले कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभाको निर्वाचन परिणाम समेटिएको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गत मंसिर २९ गते नै बुझाइसकेको छ।
यस्तै यही पुस ३ गते आयोगले समानुपातिक निर्वाचन प्रणालीमार्फत विजयी भएका सांसदलाई प्रमाणपत्र वितरण गरेको थियो।
राष्ट्रपतिबाट सात दिनको समय दिएर नयाँ सरकार गठनका लागि आइतबार नै आह्वान भएकामा संघीय संसद् सचिवालयले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ खुवाउने तयारीसमेत थालेको छ।
संघीय संसद्मा प्रतिनिधित्व जनाएका नयाँ राजनीतिक दललाई ‘हेल्लो सरकार’ रहेको स्थानमा कार्यालय उपलब्ध गराउने तयारी गरिएको छ।