ली खछ्याङ : सत्य वक्ता र कुशल अर्थशास्त्री

हिमाल प्रेस ११ कार्तिक २०८० ६:४७
34
SHARES
ली खछ्याङ : सत्य वक्ता र कुशल अर्थशास्त्री

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङलाई सम्झिनुपर्ने अनेकौँ कारण छन्। तीमध्येको एक हो, ‘लिकोनोमिक्स’। प्रधानमन्त्री छँदा उनले ल्याएका आर्थिक नीतिलाई ‘लिकोनोमिक्स’ भनिन्थ्यो। जतिबेला कोभिड-१९ महामारीका कारण चिनियाँ अर्थतन्त्र थाकेको थियो, त्यसलाई ऊर्जावान् बनाउन लीले संरचनागत परिवर्तनको प्रयास थालेका थिए।

उनै लीको शुक्रबार निधन भएको छ। चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीका अनुसार लीलाई हृदयाघात भएको हो। ६८ वर्षीय लीलाई सांघाईमा बिहीबार हृदयाघात भएको बताइएको छ।

ली करिब १० वर्ष चीनको प्रधानमन्त्री रहे। सन् २०१३ देखि २०२३ सम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दा उनले निकै चुनौतीको सामना गरे। चीन विज्ञहरु के भन्छन् भने उनले जति चुनौती त्यसअघिका प्रधानमन्त्रीले सायदै सामना गरे।

चीनभन्दा बाहिरबाट आउने चुनौती मात्र होइन घरेलु राजनीतिका विभिन्न समूह र चीनको जटिल सामाजिक-राजनीतिक परिस्थितिले पनि लीलाई अचाक्ली दुःख दिए।

चीन जति कडा देखिन्छ, लीको व्यक्तित्व त्यति नै नरम थियो। उनीसम्म पुग्न अप्ठ्यारो थिएन, सबैसँग सहजै भेट्थे। फेरि उनी परिवर्तनमा विश्वास राख्थे। आवश्यक परे आफ्ना मान्यता परिवर्तन गर्थे। तब त उनले विश्वको दोस्रो ठूलो अर्थतन्त्र हाँक्न सके। चीनमा एउटा परम्परा छ, देशको अर्थतन्त्रको जिम्मा प्रधानमन्त्रीलाई दिने। यो जिम्मेवारीबाट ली कहिल्यै पछि हटेनन्।

लीले चीनमा सधैँ बजारलाई केन्द्रमा राखेर आर्थिक नीति ल्याए। सुधारका योजना ल्याए। झन्झटिला सरकारी प्रक्रिया र कार्यविधिलाई सरलीकरण गर्ने प्रयत्न गरे। यसबाट स्वदेशी तथा विदेशी लगानीकर्तालाई सजिलो होस् भन्ने उनको मान्यता थियो।

‘उनी बजार अध्ययन गर्थे। त्यहीअनुसारको योजना ल्याउँथे। खासमा उनी यस्ता नेता थिए जो सत्य बोल्थे। चीनको इतिहासमा उनी अद्भुत प्रधानमन्त्रीका रूपमा दर्ज भएका छन्,’ चाइना इन्टरनेसनल बिजनेस स्कुलका प्राध्यापक झु टियान लीको सम्झना यसरी गर्छन्।

ली चीनको पहिलो प्रधानमन्त्री थिए जोसँग कानुनको ‘डिग्री’ थियो। अध्ययनशील उनले प्रख्यात पेकिङ विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका थिए। उनी यस्तो बेला प्रधानमन्त्री बन्दै थिए त्यतिबेला चिनियाँ अर्थतन्त्र ठिक ठाउँमा थिएन। उनका पूर्ववर्तीले चार अर्ब चिनियाँ युआन बराबरको ‘प्याकेज’ ल्याएका थिए, जसको उद्देश्य थियो बजारलाई निरुत्साहित हुनबाट बचाउने। किनभने त्यसबेला विश्व अर्थतन्त्रमा मन्दी थियो। तर मन्दीलक्षित प्याकेजका कारण चिनियाँ अर्थतन्त्र असन्तुलित बनेको बताइँदै थियो।

प्रधानमन्त्री भएकै वर्ष लीले सुधारको योजना ल्याए। उनी भन्थे, स्रोतको उपयोग बजारले आफ्नो क्षमताअनुसारको गर्छ। यसमा बजारलाई खुला छाडिदिनुपर्छ। लीले हाँक्न थालेपछि चिनियाँ अर्थतन्त्र विस्तार हुँदै गयो। यद्यपि आर्थिक वृद्धिदरको गति सामान्य थियो, ५ र ६ प्रतिशतको बीचमा।

ली चिनियाँ बजारलाई थप उदार बनाउँदै लानुपर्छ भन्ने मान्यता राख्थे। मार्च २०२२ मा चिनियाँ संसद्लाई सम्बोधन गर्दा उनले भनेका थिए, ‘चीनको उदार नीति अब परिवर्तन हुँदैन। चीन यहाँबाट पछाडि फर्कन सक्दैन। जसरी याङ्जी र यल्लो नदी पछाडि फर्कन सक्दैनन्।’

लीका कतिपय नीतिसँग राष्ट्रपति सी चिनफिङ भने सहमत थिएनन्। फलतः सीले लीका कैयौँ नीति लागू हुनबाट रोके। सीले किन त्यसो गरे? किनभने सी लीका कारण चिनियाँ कम्युनिस्ट पार्टी, चिनियाँ सरकार र चिनियाँ समाजमा आफ्नो पकड कमजोर होला भन्ने त्रासमा रहन्थे।

सीको दोस्रो राष्ट्रपतीय कालमा हो चिनियाँ अर्थतन्त्र सुरक्षा नीतिमा केन्द्रित भएको। सन् २०१८ मा दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि सीले भ्रष्टाचारविरोधी अभियान चलाए। राष्ट्रिय सुरक्षाका र वातावरण सुरक्षा नीतिलाई प्राथमिकतामा राखे, कोभिड महामारी नियन्त्रणमा ल्याउन कडा ‘लकडाउन’ लागू गरे। यसबीचमा आर्थिक वृद्धिदर र विकासका एजेन्डा छायामा परे।

फेरि यही बेला बेइजिङले डोनाल्ड ट्रम्पको नीतिको सामना गर्नुपर्‍यो। तत्कालीन अमेरिकी राष्ट्रपति ट्रम्पले चीनविरुद्ध ‘व्यापार युद्ध’ छेडेका थिए। उनको प्रशासनले चीनबाट हुने आयातमा कडाइ गर्ने नीति लिएका थियो। ट्रम्पको नीतिसँग जुध्न चीन मूलतः दुई पक्षमा केन्द्रित भयो। पहिलो, घरेलु बजारलाई बलियो बनाउने। दोस्रो, प्रविधि विकासमा लगानी गर्ने।

‘घरेलु तथा विश्व राजनीतिक घटनाक्रमका कारण पछिल्लो १० वर्षमा लीका कैयौँ नीति धरापमा परे। तर यसको मतलब यो होइन कि उनका नीति र सोच सही थिएनन्। बरु आज पनि तिनको महत्त्व छ,’ सिंगापुरको राष्ट्रिय विश्वविद्यालयमा पढाउने बेर्ट हफमन भन्छन्, ‘उनी चिनियाँ अर्थतन्त्रको विज्ञ थिए। उनी चीनले अरू देशबाट आर्थिक व्यवस्थापनबारे सिक्नुपर्ने धारणा राख्थे। उनको बौद्धिक क्षमता देखेर म छक्क पर्थे।’

एक चिनियाँ अर्थशास्त्रीका अनुसार सुरुका दिनमा लीका आर्थिक नीतिलाई राम्रोसँग लागू गरिएको थिएन। किनभने चीनमा त्यसबेला ‘प्रोपर्टी’ बजारलाई व्यापक महत्त्व दिने गरिएको थियो। ‘जब उनी दोस्रो पटक प्रधानमन्त्री बने, तब उनको नीति कार्यान्वयन हुने थाले। तर कोभिडले फेरि बाधा उत्पन्न गरायो,’ ती अर्थशास्त्री भन्छन्।

बेइजिङस्थि थिंकट्याङ्क ‘सेन्टर फर चाइना एन्ड ग्लोबलाइजेसन’ का उपाध्यक्ष भिक्टर गाओ पूर्वप्रधानमन्त्री लीलाई प्रविधिमैत्री नेताका रूपमा सम्झिन्छन्। प्रविधिमा लगानी गरिरहेकाहरूलाई सरकारले सहयोग गर्नुपर्ने मान्यता लीले राख्ने गरेको बताउँछन् गाओ। ‘सायद चीन लीको यही विचारमा अबको कैयौँ वर्ष हिँड्नेछ,’ गाओ भन्छन्।

ली शक्ति विकेन्द्रीकरणका पक्षमा थिए। सरकारी अनुमतिको प्रक्रिया झन्झटिलो नभए मात्र लगानी र व्यापारको वातावरण बलियो हुने मत थियो उनको। उनी नयाँ लगानीकर्ताप्रति कति सकारात्मक थिए? सन् २०१५ को एउटा घटनाले प्रस्ट पार्छ।
चिनियाँ सामाजिक सञ्जाल मेई केटीभीका संस्थापक हु हाईले चिनियाँ संन्यत्रसँग दिक्क मान्दै प्रधानमन्त्री लीलाई खुला पत्र लेखेका थिए। पत्र पढेपछि लीले हाईले भोगिरहेको समस्या समाधानमा लाग्न निर्देशन जारी गरेका थिए।

‘चीनमा व्यापारको वातावरण ठिक भएन भनेर पत्र लेखेको थिएँ। त्यसबेला त्यो पत्रबारे चिनियाँ सरकारी संयन्त्र र सञ्चारमाध्यममा व्यापक बहस भयो। पत्र लेखेको दुई वर्षपछिसम्मै राज्य परिषद्बाट पटकपटक मलाई सम्पर्क गरियो। बजारको वातावरणबारे मसँग राय मागियो। ली कति गम्भीर थिए भन्ने उदाहरण हो यो,’ हाई भन्छन्।

लीको राजनीतिक र आर्थिक बुझाइ अद्भूत रहेको बताउँछन्, सांघाईमा रहेको अमेरिकी च्याम्बर अफ कमर्सका पूर्वअध्यक्ष केर गिब्स। ‘पश्चिमा जगत् पनि लीलाई लिएर सकारात्मक थियो। नयाँ सरकारमा लीले कुनै भूमिका नपाएपछि युरोपेली तथा अमेरिकी लगानीकर्ता निराश बनेका थिए,’ गिब्स भन्छन्।

प्रधानमन्त्री बन्नुअघि ली ‘ली खछ्याङ इन्डेक्स’ का कारण लोकप्रिय थिए। रेलवे कार्गो, विद्युतीय उपयोग र बैंक ऋणको तथ्यांक केलाएर उनी चिनियाँ अर्थतन्त्रको विश्लेषण गर्थे। ‘लीको नीति चिनियाँ अर्थतन्त्रका लागि सुहाउँदो थियो। उनको नीतिलाई विदेशी पनि पत्याउँथे। भलै उनी नेतृत्वमा रहँदा चीनको आर्थिक वृद्धिदर भने तुलनात्मक रूपमा कम थियो,’ चीनमा रहेको अमेरिकी च्याम्बर अफ कमर्सका पूर्वअध्यक्ष जेम्स जिम्मरमनको भनाइ छ।

कतिसम्म भने ‘ली खछ्याङ इन्डेक्स’ का तथ्यांक चिनियाँ सरकारले कुल गार्हस्थ उत्पादन बढाउने नीति बनाउँदा प्रयोग गरिएको थियो। यसबाट पनि प्रस्ट हुन्छ, ली कति सम्मानित अर्थशास्त्री थिए भनेर। ‘प्रधानमन्त्री भएपछि उनले सरकारी निकायबाट आउने तथ्यांकमाथि प्रश्न उठाए। चीनमा विद्यमान संरचनामाथि यसरी प्रश्न गर्नु चानचुने कुरा होइन,’ जिम्मरमन भन्छन्।

कोभिड महामारी नियन्त्रणका नाममा लगाइएको लामो लकडाउनले चिनियाँ नागरिक वाक्क भइसकेका थिए। लकडाउनका कारण आर्थिक गतिविधिमा कमी आएको र यसले देशको समग्र अर्थतन्त्रमा असर परेको लीको बुझाइ थियो। उनले सार्वजनिक रूपमै यस्तो अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्ति चिनियाँ नागरिकको दिकदारीसँग मिल्दो थियो।

मे २०२० मा लीले एउटा यस्तो तथ्यांक प्रस्तुत गरे जुन सरकारी संन्यत्रबाट आएको तथ्यांबाट पर थियो। उनले प्रस्तुत गरेको तथ्यांक थियो, ६० करोड चिनियाँ अझ पनि महिनाको एक हजार युआन (एक सय ३७ अमेरिकी डलर) भन्दा कम कमाउँछन्।

‘चीनका मध्यमस्तरका सहरमा करोडौँ मानिस त्यति थोरै कमाउँछन्। जुन रकमले घरभाडा तिर्न पनि पुग्दैन। अब यही बेला हामी कोभिड महामारीको सामना गरिरहेका छौँ। यो समयमा हामी ती तमाम नागरिकलाई सहयोग गर्नमा केन्द्रित हुनुपर्छ,’ बेइजिङमा लीले भनेका थिए।

सन् २०२२ मा सांघाईमा दुईमहिने कडा लकडाउन थियो। त्यसबेला लीले सांघाई सहरका एक लाख प्रतिनिधि तथा कर्मचारीसँग भिडियो कन्फ्रेन्समार्फत बैठक गरेका थिए। भएभरको सरकारी स्रोतको उपयोग गरेर भए पनि स्थानीय अर्थतन्त्र स्थिर बनाउन निर्देशन दिएका थिए। ‘हामी यस्तो परिस्थितिमा छौँ, जहाँ चिनियाँ अर्थतन्त्र हाम्रो नियन्त्रणभन्दा बाहिर जानसक्छ। जब चीनको अर्थतन्त्र एकपटक नियन्त्रणबाहिर जान्छ, तब त्यसलाई सही बाटोमा फर्काउन धेरै समय लाग्छ। फेरि यसको मूल्य चर्को हुन्छ,’ बैठकमा लीले भनेका थिए।

ताइवान तामकाङ विश्वविद्यालयको इन्स्टिच्युट अफ चाइनाका निर्देशक चेन चाइन-फु अब लीले ल्याएको नीतिको भविष्य अन्योलमा रहेको बताउँछन्। ‘चीनमा नयाँ प्रधानमन्त्री छन्। प्रधानमन्त्री ली कियाङ र राष्ट्रपति सीले लीको नीतिलाई नै निरन्तरता दिन्छन् कि दिँदैनन् भन्ने प्रश्न छ,’ चेन भन्छन्, ‘चीन यति बेला कठिन मोडमा छ। आर्थिक र राजनीतिक जटिलता छन्। आउँदा घटनाक्रमले बताउनेछन्, चीनको बाटो के हुनेछ भनेर।’

उता चाइना इन्टरनेसनल बिजनेस स्कुलका प्राध्यापक झु टियान ली चीन दिवंगत पूर्वप्रधानमन्त्री लीको नीतिबाट पछि हट्न नसक्ने विचार राख्छन्। यद्यपि हाल बजार सुधारको नीति सुरक्षा नीतिका कारण ओझेलमा परेको उनको बुझाइ छ। ‘भविष्यमा चीनले लिने नीति यही हुनुपर्छ, आर्थिक विकास,’ ली भन्छन्।

प्रकाशित: ११ कार्तिक २०८० ६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast