‘पहेँलो र रातो रङको कागजलाई टीका र जमरा बनाएर लगाउँछु’
नकमाउँदै सम्पत्ति धन, घर जान मन लाग्छ।
कसरी बुझाऊँ बैरागी मन, घर जान मन लाग्छ।।
कुरी बस्लिन् हजुरआमा, अन्तिम साससम्म?
यो सब सम्झी बढ्छ धड्कन, घर जान मन लाग्छ।।
दसैँ आउँछ तिहार आउँछ, मेला पर्व आउँछ।
निराश हुँदै साथी भन्छन्, घर जान मन लाग्छ।।
बाध्यताको झोला बोकी, हिँडे जान्छु नभनी।
रिसाको होला खेल्ने आँगन, घर जान मन लाग्छ।।
तस्बिर हेरि याद रोक्ने, कोसिसमा म थिएँ।
झर्छ आँसु त्यही बेला झन्, घर जान मन लाग्छ।।
मोबाइल, फेसबुक, इमो, भाइबर केही चलाउँदिनन्।
सुन्नलाई आमाको वचन घर जान मन लाग्छ।।
ओहो! मेरो दसैँ छुटेको पनि ११ वर्ष पूरा भएछ। कहिले सहर त कहिले परदेशको बसाइ। अहिले दक्षिण कोरियामा छु। यता आएको पनि छ वर्ष बितिसकेछ। यस वर्ष पनि दसैँमा घर जाने योजना यत्तिकै भयो। अर्को वर्ष पनि यस्तै होला। २०८२ सालमा परिवारसँगै मनाउनेछु। दसैँ नेपालीको महान् चाड भन्छन्। मेरा लागि भने कहिल्यै महान् हुन सकेन। कहिले अभावले त कहिले बाध्यताले।
परदेशीलाई के दसैँ के तिहार! अर्काको भूमिमा आफूले चाहेको के हुन्थ्यो र? टीकाको दिन शनिबार वा आइतबार परेन भने दिनभरि काममै जोत्तिनुपर्छ। यस वर्ष पनि छुट्टी छैन। टीकाको दिन मंगलबार परेको छ। १३ घण्टे डिउटी छ। बीचमा खाना खान १ घण्टा ब्रेक हुन्छ। पछि १५ मिनेटको ब्रेकको बेला घरमा कल गर्छु। धित् मरुन्जेल बोल्न पनि पाउँदिनँ। मुटु भक्कानिएर आउँछ।
ब्रेक सकिनुअघि गएर मेसिन चालु गरिसक्नुपर्छ। नत्र साहुको गाली खाइन्छ। घरमा भए त बाआमालाई घुर्की लगाउन पाइन्थ्यो ‘एकैछिन ढिला भएको त हो नि के नै बिग्रेको छ र’ भन्दै। तर अर्काको देशमा यी सब नचल्ने रहेछ।
साहुको गालीले मनै अमिलो हुन्छ। काम छोडेर अहिले नै हिँडिदिऊँ जस्तो लाग्छ। तर घरको ऋण, परिवारको सपना, पत्नीको योजना, आफ्ना सपना…. अनेकौँ कुरा दिमागमा घुमिदिन्छ। के गर्नु? मन शान्त पार्नैपर्यो। फेरि कामतिरै लम्किन्छु।
बेलुकी कामबाट फर्कन्छु। पहेँलो रङको कागजलाई जमरा जस्तो बनाउँछु, रातो कागजलाई टीका। अनि सुरु हुन्छ मेरो दसैँ। मजस्तै परदेशीको दसैँ। केहीँ थान सेल्फी खिच्छु। फेसबुकमा राख्छु। यसरी नै बितिरहेको छ मेरो प्रत्येक दसैँ।
यता बिदा पर्यो भने त साथीभाइ मिलेर क्रिकेट, फुटबल खेलिन्छ। टुर्नामेन्ट हेर्ने जान्छौँ। कतै नेपाली कलाकारले कन्सर्ट गर्दैछन् भने पनि जान्छौँ। तर के नपुग्या के नपुग्या जस्तो हुँदो रहेछ।
०००
टीका-जमरा लगाउने त परको कुरा। मैले दसैँमा नयाँ लुगा लगाउने भन्ने सुनेको त काठमाडौँ गएपछि हो। हुन त हाम्रो गाउँतिर पहिलेदेखि नै दसैँ मनाउने चलन कहाँ थियो र! दसैँ भनेको के हो भन्ने थाहा थिएन। जमरा राख्ने त परको कुरा, पिङ हाल्ने, खेल्ने चलन त अझै छैन।
हाम्रो गाउँमा अहिले पनि एकाध घरमा मात्र दसैँ मनाउँछन्। परिवारको मुलीले जमरा राख्छन्। अर्को परिवारको जेठो टीका लगाउन जान्छन्। हाम्रोतिर अझै पनि ४ र ५ परिवारबाहेकले जमरा राख्दैनन्।
उनीहरूकै घरमा सानैदेखि गाउँका हामी सबै टीका थाप्न जान्थ्यौँ। कहिले त अन्तिममा पालो आउँदा जमरा सकिसकेको हुन्थ्यो। अनि दाजुहरूले आफूले लगाइसकेको जमरा लगाइदिन्थे। अहिले ती दिन झलझली सम्झिन्छु।
गाउँमा अहिले परिवर्तन भइसकेको छ। गाउँका मान्छे परदेश र सहर पस्न थालेपछि दसैँबारे बुझे। अहिले एकदुई दिन काम नगरी दसैँ मनाउँछन्। दसैँ नमनाउने कारण यही बेला हाम्रो गाउँमा धान भित्र्याउने समय हुन्छ। सबैजना खेतमा व्यस्त हुन्छन्। फेरि धान काटेलगत्तै खेत जोतिहाल्नुपर्छ, नत्र पछि गह्रामा चिरा परेर निकै गाह्रो हुन्छ।
अहिले याद आउँछ दसैँको दिनमा मै कहिले खेत जोतिरहेको हुन्थे त कहिले धान चाङ लगाइरहेको।
केही वर्षअघि मैले आफ्नै घरमा जमरा राख्ने योजना बनाएँ। जमरा राख्ने भएपछि घरमा खसी पनि काट्नुपर्छ भन्ने कुरा चल्यो। खसी किनेर ल्याउँदा टन्नै खर्च पनि हुने भयो। निम्नवर्गीय परिवार। खर्च धान्न नसक्ने भएकाले योजना सफल भएन। त्यो बेला निकै खल्लो महसुस गरेँ। त्यसपछि कामको खोजीमा कहिले दिल्ली, कहिले काठमाडौँ भौँतारिए। पढाइसँगै त्यतिबेला नै मैले कोरियन भाषा पढेँ र आज कोरियामा श्रम गर्दैछु।
०००
अघिल्लो वर्ष काठमाडौँमा घर किनेको थिएँ। साथै यस वर्ष नयाँ कार्यको सुरुवात पनि। मैले पनि पहिलोपटक घरमा जमरा राख्न लगाएको छु। मै घरमा छैन। निकै खल्लोपन महसुस भइरहेको छ। तर पनि खुसी छु। आफूले लगाउन नपाए पनि परिवारले लगाउँछन्। सबै परिवार यस वर्ष काठमाडौँमै दसैँ मनाउने योजना बनाउनुभएको छ। गाउँबाट बा, हजुरआमा, दाइभाउजू, भतिज आउनुभएको छ। म भने भिडियो कलबाट चित्त बुझाउँछु। यस्तै छ, परदेशीको दसैँ।
परदेशीको दसैँ : ‘आमासँग कुरा गर्दाचाहिँ आँसु थाम्न नसकिँदो रहेछ’