काठमाडौँ- एक सातायता पश्चिम एसियाली मुलुक इजरायल र प्यालेस्टाइन प्रतिरोध आतंककारी संगठन हमासबीच युद्ध चलिरहेको छ। यसको बाछिटा विश्वभर पुगेको छ। इजरायल–प्यालेसटाइनबारे विश्व विभाजित बनेको छ। अमेरिकी राष्ट्रपति जो बाइडन इजरायल नै पुगेर इजरायललाई धाप मारिसकेका छन्।
नेपाल पनि यसबाट अछुतो रहन सकेन। इजरायलमाथि हमासको आक्रमणले १० नेपालीले ज्यान गुमाए भने एकजना अझै बेपत्ता छन्। तीन नेपाली उपचार गराइरहेका छन्। २५३ जना नेपाली भने स्वदेश फर्किसके। केही नेपाली अझै त्यही काम गरिरहेका छन्। इजरायलमा करिब पाँच हजार नेपाली कार्यरत छन्। कतिपय नेपालीले इजरायलले युद्ध थेग्छ, खासै समस्या पर्दैन भन्दै त्यहीँ बसेका छन्।
विश्वकै ‘बेस्ट ब्रेन’ भनेर चिनिने जुज (याहुदी) हरू पनि हमासको आक्रमणबाट आफूहरू चुकेको अनुभूति गर्दैछन्। उनीहरूले आफू कमजोर भएर होइन, मानवीय हिसाबले चर्को आक्रमणमा नआएको बताएका छन्। विश्वको हरेक कुनमा जुज छन्। तर उनीहरू आफ्नो मातृभूमिमा केही भए त्यहाँ लड्न पुग्छन्।
अधिक जुजहरूले सेनाको प्रशिक्षण लिएका हुन्छन्। यही युद्धको सन्दर्भमा कुरा गर्दैगर्दा उमेरले २५ पनि नपुगेका तीनजना इजरायली नागरिक भन्दै थिए, ‘हामी आतंकवादलाई धुलो चटाउन घर फर्किंदैछौँ, मानिसको न्यूनतम बाँच्ने अधिकारमाथि धावा बोल्नेलाई हामी छोड्दैनौँ। हाम्रा साथीहरू अस्ति नै फर्किसके।’
‘हामीले विश्वास गर्दा धोका पाएका हौँ। अब त्यस्तो कहिल्यै नहोस् भनेर प्रार्थना पनि गरिरहेका छौँ,’ इन्टेलिजेन्ट कमान्डरको कोर्स सकेर एक महिना सामाजिक कार्यका लागि नेपाल आएका इडो उरिलले भने, ‘हामीले मानवता भन्ने सबैमा हुन्छ भनेर केही कुरामा खुलापन अपनाउँदै गएका थियौँ। तर त्यस्तो होइन रहेछ। खुला स्थानमा, मानिसहरू रमाइलो गरिरहेको ठाउँमा आक्रमण हुन्छ भने कसरी हामी चुप लागेर बस्न सक्छौँ?’
विश्वभर छरिएर रहेका इजरायलीहरू अहिले आफ्नो मातृभूमि रक्षाका लागि स्वस्फूर्त मुलुक फर्किरहेको पनि उनले बताए। राजदूत हनान गोडेरले उनीहरू उड्नुअघिसम्म केही पत्रकारलाई भेटाउँदै उनीहरूको धारणा सुनाएका थिए। उरिल भन्छन्, ‘नेपाल शान्त छ। सुन्दर छ। हामी पनि शान्ति रुचाउने मानिस हौँ। तर हामीलाई शान्तिसँग बस्नै नदिने अवस्थामा ल्याइदिए। हाम्रा पुर्खैदेखि हामीलाई शान्तसँग बस्न दिएनन्। अब हामी चुप लाग्दैनौँ।’
ती इजरायली सैनिकका अनुसार यो वार पारको लडाइँ हो। इजरायली सेनाले कत्ति पनि आफूलाई क्षति नहुने र विपक्षमा पनि लडाकुबाहेक अन्यलाई केही नहुने गरी नै युद्ध लड्छ। हरेक घरको छानामा पहिला सानो बम हानेर घर खाली गराउने र त्यसपछि आक्रमण गर्ने उनीहरूको युद्ध रणनीति हो। गाजा क्षेत्रको अस्पतालमा त्यसरी बर्बर रूपमा आक्रमण नगरेको उनले बताए। आफूहरूलाई छक्काएर गल्ती देखाउन उतैबाट आक्रमण गरेको दृश्यसमेत उनले मोबाइलमा देखाए। उरिल भन्छन्, ‘विश्वभर इजरायलीले हानेको भनिरहेका छन्। यो दुःखद कुरा हो।’ हामी निर्दोष मानिसको ज्यान जोगाउन सधैँ तत्पर रहन्छौँ र आतंककारी मारिनुपर्छ। त्यस्तालाई समुदायले पनि बाहिर ल्याउन आवश्यक छ।’
नेपालका केही मानिसले प्यालेस्टाइनप्रति सद्भाव राखेको देखिन्छ। सायद आतंककारीको साथमा कोही नहोला। नेपाल र इजरायल सम्बन्ध अहिलेको होइन।
राजदूत गोडेरले भने, ‘नेपालमात्र होइन ४१ मुलुकका नागरिक बन्धक बनाइएका छन्। त्यस्ता बन्धक नागरिक अर्थात् निहत्थालाई कति यातना दिएको छ। गाजाको छेउबाट जमिन, पानी र हवाई तीनैतिरबाट उनीहरूको प्रवेश भएको थियो।’
सेनालाई समेत बन्धक बनाइएको उनीहरूको बुझाइ छ। उरिल भन्छन्, ‘हामीले ठूलो हडताल सुरु गरेका छैनौँ। जब त्यो हडताल सुरु हुन्छ त्यतिबेला त्यहाँ केही पनि हुँदैन। हामी अब सबै सकिने गरी अघि बढेका छौँ। हामी मात्रै कति सहेर बस्ने? हामीले जहिले पनि जवाफी आक्रमण मात्र गरेका छौँ। पहिलो आक्रमण कहिल्यै गरेनौँ। तर पनि कतिपयले हामीप्रति प्रश्न गर्दा अब पछि हट्ने अवस्था छैन’ प्यालेस्टाइनका उग्रवादी, आतंककारीका लागि मानवअधिकार अनि इजरायलका लागि चाहिँ मानवअधिकार हुँदैन? भन्ने उनको प्रश्न छ।
उनले भने, ‘हामीसँग आइरन डोम थिएन भने के हुन्थ्यो? हमासाले ६ हजार ६ सयभन्दा बढी रकेट हानिसकेको छ। बंकरमा गएर लुकेर बसेकालाई त्यहीँ पुगेर गोली हानेको छ। ग्रेनाइट प्रयोग गरेको छ। त्यस्तालाई मानवअधिकार सोध्नुपर्दैन?’, उनले भने, ‘मानवअधिकारको प्रश्न हामी इजरायलीलाई मात्र हुन्छ? हामी अब हाम्रो आगामी पुस्तालाई शान्त बस्ने गरी नयाँ युगको थालनीमा लाग्नेछौँ।’
हुन त अहिले गाजा क्षेत्र इजरायलीको कब्जामा छ। त्यहाँ सयौँ हमास आतंककारी मारिएका छन्। हमासका केही मुख्य कमान्डर मारिएका पनि छन्। विश्वभरबाट करिब दुई हजार इजरायली मुलुक बचाउन घर फर्किएका छन्।
इजरायली सेनाका अनुसार हमास सक्ने तर हिजगुल्लाबाट पनि यस प्रकारको आक्रमण नहोला भन्न सकिन्न। त्यसैले इजरायली सेना निकै चनाखो बनेको छ। इजरायलले राष्ट्रिय भवन, मरिटाइम स्पेस, मुभमेन्टलगायतमा ध्यान दिएर मात्र आक्रमण गर्छ।
‘हामीले युद्ध कार्यमा के गर्ने, के नगर्ने बुझेर मात्र गोली हान्छौँ,’ उरिलले भने। हुन पनि सबै युद्धमा इजरायल सधैँ रक्षात्मक देखिन्छ। इजरायलले युद्ध कहिले सुरु गरेको छैन। तर पनि किन इजरायललाई औँला उठाउने? यी सबै युद्धको केन्द्रमा प्यालेस्टाइन हो। जुन आफैँमा अस्तित्वको लडाइँमा लामो समयदेखि सहभागी छ।
आक्रमणको सिद्धान्त हुन्छ, एक गोली पनि खेर जानु हुँदैन। आइरन डोमको कराण विद्रोही लडाकु सहजै इजरायलमा सफल त हुन सकेनन्। तर पनि अनाहकमै धेरैको ज्यान गइरहेको छ।
इजरायल र प्यालेस्टाइनबीचको यो युद्धको जरा अहिलेको होइन। पुरानै हो। यसको पछाडि ऐतिहासिक र सभ्यताजन्य कारण छन्। सयौँ वर्ष पुरानो यो लडाइँका अनेक आयाम छन्। हरेक चरणका संघर्ष अघिल्लोभन्दा झन् पेचिलो बन्दै गरिरहेको छ। अरब र इजरायलबीच इजरायलको स्थापना भएयता पाँच वटा ठूला युद्ध भए।
पहिलो हो, अरब–इजरायल युद्ध सन् १९४८, दोस्रो, स्वेज नहर युद्ध १९५६, तेस्रो ६ दिने युद्ध १९६७, चौथो योम किपुर युद्ध १९७३ र पाँचौँ लेबनानमाथि आक्रमण १९८२। यो युद्धलाई १९७३ पछिको ठूलो युद्धका रूपमा लिइएको छ।