पोखरामा पुनः सुरु भयो प्याराग्लाइडिङ

हिमाल प्रेस २८ असोज २०८० १९:३७
16
SHARES
पोखरामा पुनः सुरु भयो प्याराग्लाइडिङ

कास्की- पोखरामा प्याराग्लाइडिङको उडान आज (आइतबार)  देखि पुनः थालिएको छ। पोखरा महानगरपालिका-१८, सराङकोटको तोरीपानीबाट उडान सुरु गरिएको हो।

पोखरा घुम्न आउने अधिकांश पर्यटकको रोजाइमा पर्ने साहसिक प्याराग्लाइडिङ गत पुस १७ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाई सुरक्षाको कारण देखाउँदै सराङकोटबाट बन्द गरिएको थियो। विमानस्थल सञ्चालनपछि यसको भविष्यलाई लिएर पर्यटन क्षेत्रमा चिन्ता व्यक्त हुँदै आएको थियो। त्यसपछि तत्कालका लागि पोखरा-२४, मान्द्रेढुंगाट प्याराग्लाइडिङ उडान थालिएको थियो। सराङकोट र तोरीपानीबाट बन्द भएको उडान नौ महिनापछि पुनःतोरीपानीबाट थालिएकामा यहाँका व्यवसायी उत्साहित बनेका छन्।

मान्द्रेढुंगा दूरीका हिसाबले पनि टाढा रहेको र उचाइमा मौसमका कारणले यहाँ प्याराग्लाइडिङ स्थापित हुन सकेको थिएन। तोरीपानी क्षेत्रबाट पुनःउडान सुरु भएसँगै स्थानीयवासी खुसी भएका छन्। पहिलो दिन उडानमा जाने पर्यटकलाई स्थानीयले माला र टीका लगाएर स्वागत गरे।

नेपाल हवाई खेलकुद संस्थाले नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोगमा मान्द्रेढुंगाबाट हुँदै आएको प्याराग्लाइडिङ क्षेत्र विस्तार गरी वाहाकोटको तोरीपानीबाट उडान गरी पामे क्षेत्रमा ‘ल्यान्डिङ’ सुरु गरेको हो। हवाई क्षेत्रको नियमनकारी निकाय रहेको प्राधिकरणको लामो समयको अध्ययनपछि तोरीपानी क्षेत्रबाट प्याराग्लाइडिङ उडान गर्दा हवाई सुरक्षामा जोखिम नपर्ने प्रतिवेदनपछि यसलाई पूर्ववत् स्थानमा फर्काइएको हो।

पर्यटन व्यवसायीले भने सराङकोटसम्म प्याराग्लाइडिङ क्षेत्र विस्तारको माग गरेका छन्। सराङकोटका विषयमा अझै अध्ययनको प्रक्रियामा नै रहेको छ। नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष सुनिलबहादुर भट्टराईले पोखराको प्याराग्लाइडिङका सम्बन्धमा तयार गरिएको अध्ययन प्रतिवेदनपछि नागरिक उड्ड्यन प्राधिकरणले पुरानै स्थानबाट ‘टेकअफ’ को अनुमति प्रदान गरेको बताए। प्राधिकरणको एटीएम विभागले ‘सेफ्टी रिक्स एसिस्मेन्ट’ गरी तोरीपानीबाट उड्न स्वीकृति दिएको हो। ‘टेकअफ’ का लागि पूर्ववत स्थान प्राप्त भए पनि अवतरणका लागि भने पामे बजार नजिकको स्थानमा नै गर्नुपर्नेछ।

मान्द्रेढुंगा अहिलेको स्थानबाट दूरीका हिसाबले २ किमी टाढा पर्छ। उडान स्थानसम्म पुग्न सडकको असुविधासँगै छिनछिनमा परिवर्तन हुने मौसमले प्याराग्लाइडिङले गति लिन सकेको थिएन। प्याराग्लाइडिङ गर्नेको संख्या न्यून थियो। मान्द्रेढुंगामा लामो समय कुहिरो लाग्ने, हावाको गति तलमाथि भइरहने र बिहानमा लामो समय हुस्सुका कारण समयै पुगेका पर्यटकलाई उडाउन अप्ठ्यारो हुने गरेको प्याराग्लाइडिङ पाइलट विजय गौतमले बताए। ‘अहिले पहिलाकै स्थानमा फर्किएका छौँ, यो ठाउँ सबै हिसाबले उपयुक्त छ, हामी सबै उत्साहित भएका छौँ,’ उनले भने।

पोखरा आउने अधिकांश पर्यटकको रोजाइमा प्याराग्लाइडिङ पर्ने गरेको छ। यसअघि सराङकोटबाट उडान हुँदा पर्यटकीय क्षेत्र लेकसाइड र बजार क्षेत्रबाट चरासरी उडेको दृश्यले सबैको ध्यान तानेको थियो। मान्द्रेढु‌ंगाबाट उडान हुँदा प्याराग्लाइडिङको दृश्य पर्यटकले बजारबाट देख्न पाएका थिएनन्। ‘ना’का महासचिव खेमराज आचार्यले तोरीपानीबाट उडान सुरु भएपछि यसले पहिलाकै लय समात्ने विश्वास रहेको बताए।

नाले व्यावसायिक उडान तोरीपानीबाट भए पनि सोलो (एकल) उडानलाई मान्द्रेढुंगा विकास गर्ने योजना बनाएको छ। यससँगै तोरीपानीमा पर्यटकको चाप बढेको खण्डमा मान्द्रेढुंगालाई उपयोगमा ल्याउन सकिन्छ। पोखराको आकाशमा अहिले सोलो उडान बन्द छ। नवौँ राष्ट्रिय खेलकुदका दौरानमा दुर्घटना भएपछि सोलो उडान बन्द हुँदै आएको छ।

२०७३ वैशाख १ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शिलान्याससँगै पोखराको प्याराग्लाइडिङको भविष्यलाई लिएर चासो र चिन्ता व्यक्त हुँदै आएको थियो। नागरिक उड्डयन प्राधिकरणले विभिन्न समयमा विभिन्न अध्ययन गर्दै आएको थियो। प्रतिवेदनहरूमा पोखराको पर्यटनको मुख्य गन्तव्य बनेकाले यसलाई विस्थापित नगरी अन्यत्र कतै स्थापित गर्नुपर्नेमा जोड दिइएको थियो। विमानस्थल उद्घाटनसँगै नागरिक उड्डयन प्राधिकरणले विभिन्न सर्तसहित १५ दिनका लागि मान्द्रेढुंगाबाट उडानको अनुमति दिएको थियो।

पोखरा प्याराग्लाइडिङ उडानका लागि उत्कृष्ट, प्राकृतिक हिसाबले मनमोहक र हावापानीका हिसाबले वर्षभरि उड्न मिल्ने हुँदा स्वदेशी एवं विदेशी पर्यटकहरुको रोजाइको विधा बन्दै आएको छ। पोखरामा दुई दशक अघिदेखि प्याराग्लाइडिङ सञ्चालन हुँदै आएको छ। पर्यटकीय सहरमा सञ्चालन भएको प्याराग्लाइडिङमा साहसिक पर्यटक आकर्षित हुँदै आएका छन्।

पोखरा आउने विदेशी तथा स्वदेशी पर्यटक साहसिक गतिविधि प्याराग्लाइडिङमा रमाउने गर्दछन्। हवाई खेलकुदको माध्यउमबाट नेपालको पर्यटन विकास र विस्तारमा सहयोग गर्ने उद्देश्यसहित २०५९ सालमा नेपाल हवाई खेलकुद संस्था(ना)को स्थापना गरिएको थियो। सुरुवातमा सात वटा प्याराग्लाइडिङ व्यावसायिक कम्पनीबाट संस्था सुरु गरिएकामा हाल ६२ वटा व्यावसायिक कम्पनीहरू रहेका छन्।

त्यसै गरी कम्पनीअन्तर्गत तीन सय ९९ प्याराग्लाइडिङ पाइलट क्रियाशील रहेको ‘ना’का निर्वतमान अध्यक्ष एवं पोखरा पर्यटन परिषद्का उपाध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए। उनले स्थानीय, प्रदेश, संघ सरकारबाट सकारात्मक सहयोग प्राप्त भएको बताए। प्याराग्लाइडिङ उडान सुरक्षित बनाउनका लागि पछिल्लो समय जिपिएस, लाइभ ट्याकर, रेडियो रिपिटर टावरसहित दुईतर्फी रेडियो सञ्चार तथा हटलाइन सेवा सञ्चालनमा ल्याइएको छ। -रासस

प्रकाशित: २८ असोज २०८० १९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast