यस वर्ष ८८.५ प्रतिशत मनसुनी वर्षा, मनसुन केही दिनमा बाहिरिने

हिमाल प्रेस २३ असोज २०८० १७:४०
16
SHARES
यस वर्ष ८८.५ प्रतिशत मनसुनी वर्षा, मनसुन केही दिनमा बाहिरिने फाइल तस्बिर

काठमाडौँ- नेपालमा यस वर्ष मनसुन अवधिमा ८८.५ प्रतिशत वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनाको अवधिमा सरदरभन्दा कम वर्षा भएको छ।

नेपालमा मनसुन अवधिमा सरदर १ हजार ४७२ मिलिमिटर वर्षा हुने गरेकामा यस वर्ष मनसुन अवधिमा १ हजार ३०३ मिलिमिटर वर्षा भएको छ। विभागका मौसमविद् सुदर्शन हुमागाईले आकलन गरेअनुसार यस वर्षको मनसुन सरदरभन्दा कम वर्षा भएको बताए।

उनले सरदरभन्दा कम वर्षा हुने आकलन गरिए पनि जोमसोममा २१०.७ मिलिमिटर वर्षा भएको छ, जुन सरदरको १३३.५ प्रतिशत हो।

त्यस्तै काठमाडौँमा १ हजार २८३ मिलिमिटर वर्षा भएको छ। जुन सरदरको १०९ प्रतिशत हो। काठमाडौँमा मनसुन अवधिमा सरदर १ हजार १७६.४ मिलिमिटर वर्षा हुन्छ।

त्यसै गरी ओखलढुंगामा १ हजार ४९२.१ मिलिमिटर वर्षा भएको छ, जुन सरदरको १०७ प्रतिशत हो। यसपालि जनकपुरमा सरदरको आधा हाराहारी वर्षा भएको छ। यस वर्ष ६३७.१ मिलिमिटर वर्षा मापन गरिएको छ। जनकपुरको सरदर वर्षा १ हजार १९५.८ मिलिमिटर हो।

मनसुन पूर्ण रूपमा बाहिरिन केही दिन लाग्ने

नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू-भाग भएर असोज १९ गते यस वर्षको मनसुन बाहिरिए पनि देशका अन्य भू-भागमा मौसम कायमै छ। बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालको पूर्वी तथा मध्य भू–भागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक असर रहेकाले अझै एक/दुई दिन देशका कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

महाशाखाका मौसमविद् गंगा नगरकोटीका अनुसार नेपालबाट मनसुन पूर्णरूपमा बाहिरिन अझै केही दिन लाग्नेछ।

नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख भए पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिन लागेको हो। बंगालको खाडीको उत्तर–पश्चिम भागमा विकास भएको न्यूनचापीय क्षेत्रको असरले मनसुन बहिर्गमनमा ढिलाइ भएको थियो।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो अर्थात् जुन १४ तारिख (जेठ ३१ गते) मनसुन भित्रिएको थियो।

प्रकाशित: २३ असोज २०८० १७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast