गण्डकी- शनिबार अपराह्न डुंगा व्यवसायी शिवप्रसाद पाण्डे बेगनास ताल किनारमा टहलिरहेका भेटिए। चाडपर्वको याम त्यहीमाथि बिदाको दिन। ताल छेउछाउ फाट्टफुट्ट मात्र पर्यटक देखेर उनी निराश देखिन्थ्ये। ‘यो पाली अचम्मै भएको छ, पर्यटक किन आएनन् खै!,’ पाण्डेले भने, ‘मुख्य पर्यटकीय याममा पनि बेगनासको यो अवस्था छ।’
शनिबार २ बजेसम्म जेनतेन पचास आन्तरिक पर्यटकले मात्र डुंगामा ताल सयर गरेका उनले बताए। बेगनास ताल डुंगा व्यवसायी समितिमा ३ सय ३१ डुंगा व्यवसायी छन्। ‘भोकभोकै आएर पनि डुंगा व्यवसायी पालोमा बस्छन्, तर पर्यटक कुर्दाकुर्दै दिन बित्छ, पालो आउँदैन,’ पाण्डेले भने, ‘अघिपछि यो याममा दैनिक ५० भन्दा बढी डुंग व्यस्त हुन्थे। अहिले त चार/पाँच वटा चल्न पनि धौधौ छ।’
स्थानीय पर्यटन व्यवसायीले बेगनासमा पर्यटक घट्नुमा सडकको दूरावस्थालाई मुख्य कारक मान्छन्। मुग्लिन-पोखरा राजमार्गको तालचोक हुँदै बेगनास जोडिने सडक अहिले निर्माणाधीन अवस्थामा छ। ‘सडक बनिरहेकाले बेगनासको यात्रामा पर्यटकलाई सास्ती छ,’ डुंगाको टिकट कक्षका कर्मचारी राजु कँडेलले भने, ‘हिलो, धुलो र खाल्डाखुल्डीले हिँडिसाध्य छैन।’
आर्थिक मन्दीका कारण पनि मानिस घुमघाममा कम निस्केको हुनसक्ने उनको भनाइ छ। कँडेलका अनुसार पहिले मुक्तिनाथ दर्शन गर्न आउने भारतीय पर्यटक बेगनास ताल घुमेर स्वदेश फर्कन्थे। अहिले अति न्यून संख्यामा विदेशी पर्यटक त्यहाँ पुग्छन्। ‘पहिले टिकट बेच्न दुई जनालाई भ्याइनभ्याइ हुन्थ्यो। अहिले काउन्टर रुँघेर बस्नुपरिरहेको छ,’ उनले भने, ‘डुंगा व्यवसाय मात्र नभएर बेगनासको सिंगो पर्यटन क्षेत्र सुस्ताएको छ।’
तालमा पर्यटक आकर्षित गर्न गत साउनदेखि ‘मोटरबोट’समेत सञ्चालनमा ल्याइएको कँडेलले बताए। उनका अनुसार पोखरा महानगरपालिका–३१ स्थित बेगनास ताल क्षेत्रको पर्यटनले डुंगा, मत्स्य, होटल तथा रेष्टुराँलगायत स्थानीय व्यवसायीको जीविका भरथेग हुँदै आएको छ।
अहिलेकै स्थिति रहिरहे पर्यटनको आयआर्जन गुम्ने स्थानीयवासीमा चिन्ता छ। सुन्दरीडाँडास्थित बेगनास–रुपा सूचना केन्द्र तथा ‘भ्यूवाटर’का कर्मचारी सरु भुजेलले कोभिड–१९ महामारीपछि बेगनासमा पर्यटकको संख्या नसोचेको ढंगले घटेको बताइन्। ‘दैनिक सयौँ जनाले टिकट लिएर भ्यूटावर चढ्नुहुन्थ्यो। अहिले कुनै दिन त एक जना पनि पर्यटक आउनुहुन्न,’ उनले भनिन्, ‘आम्दानी नभएपछि भ्यूटावरको मर्मतसम्भार र रेखदेखमा समस्या भइरहेको छ।’
शनिबार पनि ‘भ्यूटावर’को अवस्था सुनसान रहेको भुजेलले सुनाइन्। एकैसाथ बेगनास र रुपातालसहित मनोरम दृश्यावलोकन गर्न सकिने भए पनि पर्यटक नआउँदा भ्यूटावर क्षेत्र सुनसान भएको उनको भनाइ छ।
भ्यूटावर चढ्दा विद्यार्थीलाई २० रुपैयाँ, अन्यलाई ३० रुपैयाँ र विदेशीलाई ५० रुपैयाँको टिकट लाग्ने भुजेलले जानकारी दिइन्। टिकटको आम्दानीमध्ये ४० प्रतिशत ताल संरक्षणमा, २० प्रतिशत स्थानीय अरुण ज्योती आधारभूत विद्यालयमा, २० प्रतिशत जैविक स्रोत संरक्षण संस्थामा र बाँकी तलब लगायतमा खर्च हुने गरेको उनले बताइन्। ‘पर्यटक आउन छाडेपछि तलब खान पनि धौधौ परिरहेको छ। अरु संस्था धान्ने त झन् टाढाको कुरा भयो,’ भुजेलले भनिन्, ‘कोभिड–१९ को बन्दाबन्दीपछि पर्यटक आउने क्रम घटेको घटै भयो। मुख्य पर्यटकीय याममा पनि बेगनास क्षेत्र सुनसान छ।’
आन्तरिक पर्यटक पनि आउन छोडेपछि बेगनासको पर्यटनलाई लिएर चिन्ता थपिएको उनको भनाइ छ। पोखरा महानगरपालिका–३१ का वडाध्यक्ष ढकनाथ कँडेलले पोखरा सहर छेउमै भएर पनि बेगनास क्षेत्र ओझेलमा परेको बताए। ‘पर्यटन पूर्वाधार र प्रवर्द्धनका दृष्टिले बेगनास अझै पनि पछाडि छ,’ उनले भने, ‘त्यसमाथि अहिलेको आर्थिकमन्दी, कमसल सडक तथा पूर्वाधारलगायत कारणले यहाँ पर्यटकीय चहलपहल कम भएको छ।’
वडाध्यक्ष कँडेलले पोखराको पर्यटन भनेपछि फेवाताललाई केन्द्रित गर्ने मानसिकताबाट सबै उम्कनुपर्ने बताए। ‘सरकार र पर्यटनसम्बन्धी संस्थाको नजर पोखराका अरु तालमा पनि जानुपर्यो। पूर्वाधारमा लगानी बढाउनुपर्यो,’ उनले भने, ‘प्रदेश सरकार र पोखरा महानगरले यसलाई विशेष प्राथमिकतामा राखेर योजना बनाउनुपर्छ।’ रासस