चीन, चिनियाँ र एसियाली खेलकुद

अजय अलौकिक १३ असोज २०८० १२:५३
24
SHARES
चीन, चिनियाँ र एसियाली खेलकुद चिनको हाङ्चौमा जारी एसियाली खेलकुदमा कलात्मक जिम्न्यास्टिकको फाइनलमा प्रतिस्पर्धा गर्दै चीनकी जुओ टोङ। तस्बिर : एएफपी

एसियाली खेलकुद एसियाको सबैभन्दा ठूलो बहुखेल प्रतियोगिता र खेलकुद समारोह तथा महोत्सव हो। यो खेल महोत्सव एसियाको ओलम्पिक काउन्सिलका सदस्य राष्ट्रहरूले प्रत्येक चार चार वर्षमा आलोपालो आधारमा आयोजना गर्दे आएका छन्। सन् १९५१ देखि सुरु भएको यो खेल महोत्सव १८ पटक सफलतापूर्वक आयोजना भइसकेको छ।

यसपटक चीनको हाङचौमा भव्यताका साथ हुँदै गरेको (सेप्टेम्बर २३ देखि अक्टोबर ८) १९ औँ एसियाली खेलकुद समारोह हो, जहाँ एसियाली देश र क्षेत्रका ४५ वटै ओलम्पिक कमिटीले भाग लिएका छन्।

एसियाली खेलकुदको इतिहास

दोस्रो विश्वयुद्धपछि युद्धको आघातबाट मुक्त भएर जनजीवन शान्तिपूर्ण हुँदै जाँदा आममानिस खेलमा सक्रिय हुँदै गए। विश्वयुद्धका कारण १२ वर्षसम्म स्थगित ओलम्पिक खेल समारोह पुनः सुरु गरिएको थियो। यही पृष्ठभूमिमा एसियामा पनि खेलकुदको विकास तथा प्रवर्धनको हेतुले एउटा संगठन स्थापना गर्ने इच्छा एसियाली खेल समुदायमा देखिएको थियो।

सन् १९४८ को ग्रीष्मकालीन लन्डन ओलम्पिकका क्रममा चीन र फिलिपिन्सका खेल समुदायले फार इस्टर्न गेम्स पुनःसुरु गर्ने योजना बनाएर अन्य एसियाली देशका खेल समुदायसँग छलफल गरेका थिए। फार इस्टर्न गेम्स प्रतियोगिता सन् १९११ मा फिलिपिन्स स्पोर्ट्स एसोसिएसनले सुरु गरेको थियो र मनिला, साङहाई र ओसाकामा पालैपालो आयोजनासमेत गरिएको थियो।

लन्डन ओलम्पिकका क्रममा भारतीय खेलकुदका एक अगुवा व्यक्ति (गुरुदत्त सोँधी) ले फार इस्टर्न गेम्स एसियाली खेलकुदको स्तर र एसियाली जनताको एकता भावनालाई प्रतिबिम्बित गर्न पर्याप्त नभएको महसुस गर्दै सबै एसियाली देशले भाग लिन सक्ने गरी एसियाली खेलकुद स्थापना गर्न सुझाव दिएका थिए।

साथै उनले लन्डन ओलम्पिकमा भाग लिन आएका एसियाली खेलकुदका प्रतिनिधिलाई भेट गरी एसियाका १३ देश र क्षेत्रका प्रतिनिधिलाई एसियाली खेलकुद संगठन स्थापनाको तयारी बैठक बस्न आमन्त्रण गरेका थिए। बैठकले एसियाली खेलकुद सम्बन्धित दस्तावेज र नियमको मस्यौदा तयार गरी पहिलो एसियाली खेलकुद फेब्रुअरी सन् १९४९ मा भारतको राजधानी नयाँदिल्लीमा आयोजना गर्ने निर्णय पारित गरेको थियो। यद्यपि प्रतियोगितालाई सन् १९५१ मा सारिएको थियो।

अन्ततः सन् १९५१ मार्चमा नयाँदिल्लीमा पहिलो एसियाली खेलकुदको आयोजना गरियो र एउटा खेल महोत्सव आरम्भ भयो। यसरी एसियाली खेलकुद प्रतियोगिताको सुरु भएको थियो।

सन् १९५१ मा भारतको राजधानी नयाँदिल्लीमा भएको पहिलो एसियाली खेलकुदमा मार्चपास गर्दै भारतीय खेलाडी। उक्त खेलकुद भारतका तत्कालीन राष्ट्रपति राजेन्द्रप्रसादले गरेका थिए। तस्बिर साभार : द हिन्दु

सन् १९४९ फेब्रुअरीमा विभिन्न एसियाली देशका खेल प्रतिनिधिले नयाँदिल्लीमा भेला भएर औपचारिक रूपमा एसियन एमेच्योर स्पोर्ट्स फेडेरेसन स्थापना गरेका थिए। केही समयपछि यस फेडेरेसनको नाम एसियाली खेलकुद महासंघ र सन् १९८१ मा एसियाली ओलम्पिक परिषद् राखिएको थियो। एसियाली खेलकुद अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) सँग आबद्ध एसियाली मुलुकलाई एसियाली ओलम्पिक परिषद्ले प्रायोजन गरेको क्षेत्रीय खेलका रूपमा विस्तार भएको हो।

हामी भन्न सक्छौँ, सन् १९११ मा फिलिपिन्स स्पोर्ट्स एसोसिएसनले सुरु गरेको प्रतियोगिता आज एसियाली खेलकुद जसलाई एसियाड पनि भनिन्छ, एक यस्तो शक्ति बनिसकेको छ जसलाई विश्व खेल जगत्‌ले बेवास्ता गर्न सक्दैन।

एसियाली खेलकुदमा प्रतीक चिह्न

पहिलो एसियाली खेलकुदमा उदाउँदो सूर्यसहित ११ वटा रिङ प्रतीक चिह्नका रूपमा थिए, जसले संस्थापक राष्ट्रलाई इङ्गित गर्दछ। नयाँदिल्लीमा आयोजित पहिलो एसियाली खेलकुदमा ४८९ जना सहभागी थिए, जहाँ ११ देशका खेलाडीले भाग लिएका थिए र ६ वटा खेल (फुटबल, एथलेटिक्स, बास्केटबल, साइक्लिङ, पौडी र भारोत्तोलन) समावेश थियो। यसरी पहिलो एसियाली खेलकुदको प्रतीकको रातो सूर्यले एसियालाई विश्वको पूर्वको सूर्योदयको रूपमा र सूर्यको मुनि ११ वटा रिङले पहिलो एसियाली खेलकुदका ११ सहभागी देश वा क्षेत्रहरूको प्रतिनिधित्व गरेको थियो।

सन् १९५४ मा मनिलामा भएको दोस्रो एसियाली खेलकुदको प्रतीक पनि सूर्यमा केन्द्रित थियो र तलको वृत्तलाई बढाएर सहभागी देश र क्षेत्रअनुसार २० पुर्‍याइएको थियो र यसपटक एसियाली खेलकुदको नारासमेत थियो। यसरी एसियाली खेलकुदको आयोजनासँगै प्रतीक चिह्नमा फेरबदल भइरहेका छन्।

यसपटक चीनको चच्याङ प्रान्तको हाङचौमा भइरहेको १९ औँ एसियाली खेलकुदको प्रतीक चिह्न यस्तो छ, एउटा चिनियाँ पङ्खा, छ्येन थाङनदी, ज्वार, एउटा ट्रयाक, इन्टरनेट आइकन र एसियाली ओलम्पिक परिषद्को चम्किलो रातो सूर्य। यसरी ६ वटा तत्त्वहरू समावेश यस चिह्नलाई टाइड्स सर्जिङ अर्थात् उठ्दै गरेको ज्वारभाटा भनिएको छ। साथै तल आयोजक सहर र एसियाली खेलको संस्करण उल्लेख छ।

एसियाली खेलकुदमा चीनको इतिहास र चिनियाँ खेलाडीको सहभागिता र प्रदर्शन

सन् १९५१ मार्चमा भारतको नयाँदिल्लीमा आयोजना भएको पहिलो एसियाली खेलकुदमा ६ खेलमा ४८९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। तर त्यतिबेला जनगणतन्त्र चीनको स्थापना भर्खरै भएको हुनाले त्यो बेलासम्म अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र एसियाली ओलम्पिक कमिटीमा सामेल हुन सकेको थिएन, त्यसैले भाग लिएको थिएन।

सन् १९७४ सेप्टेम्बरमा इरानको राजधानी तेहरानमा सातौँ एसियाली खेलकुदमा चीनले १४ खेलमा प्रतिस्पर्धा गर्दै पहिलोपटक २६९ जनाको प्रतिनिधिमण्डल पठाएको थियो।

चीनले अन्तर्राष्ट्रिय बहुखेल प्रतियोगितामा सहभागिता जनाएको पनि यो पहिलोपटक थियो।

सो संस्करणमा चिनियाँ प्रतिनिधिमण्डलले कुल ३३ स्वर्ण, ६४ रजत र २७ कास्य जित्दै पदकतालिकामा जापान र आयोजक इरानपछि तेस्रो स्थानमा रहेको थियो। तीमध्ये सुटिङ, डाइभिङ, टेबलटेनिसलगायतका प्रतिस्पर्धामा उत्कृष्ट नतिजा प्राप्त गरेको थियो। यस प्रतियोगिताले चिनियाँ खेलाडीका लागि नयाँ ढोका पनि खोलेको थियो।

चीनले सन् १९७४ देखि हरेक एसियाली खेलकुदमा सहभागिता जनाउँदै आएको छ। सन् १९८२ मा भारतको नयाँदिल्लीमा सम्पन्न नवौँ एसियाली खेलकुदमा चिनियाँ प्रतिनिधिमण्डलले पहिलोपटक पदकतालिकामा शीर्ष स्थान हासिल गरेको थियो।

त्यसयता चीन लगातार १० पटक स्वर्ण पदक तालिकामा अग्रपङ्क्तिमा छ। यसपटक पनि चीननै अग्रपङ्क्तिमा रहने निश्चित छ। सन् १९९० मा बेइजिङमा सम्पन्न ११ औँ एसियाली खेलकुदमा चीनले १८३ स्वर्ण, १०७ रजत र ५१ कास्य पदक जितेको थियो। सन् २०१० मा क्वानचौमा भएको १६ औँ एसियाली खेलकुदमा चीनले १९९ स्वर्ण, ११९ रजत र ९८ कास्य पदक जितेको थियो।

सन् २०१८ मा जकार्तामा सम्पन्न १८ औँ एसियाली खेलकुदमा चीनले १३२ स्वर्ण, ९२ रजत र ६५ कास्य पदक जितेको थियो। एक हजारभन्दा बढी स्वर्ण पदकसहित चीन तालिकामा अग्रपङ्क्तिमा छ।

एसियाली खेलकुद योजकका रूपमा चिनियाँ इतिहासको तीस वर्ष : बेइजिङदेखि हाङचौसम्म

सन् १९९० को बेइजिङ एसियाली खेलकुददेखि सन् २०२३ को हाङचौ एसियाली खेलकुदसम्म चीनले ठूलो फड्को मारिसकेको छ। साथै खेल आयोजना गर्ने सोचमा पनि उल्लेखनीय परिवर्तन आएको देखिन्छ। यसपटकको परम्परागत आतिशबाजी छोडेर स्वच्छ ऊर्जा र डिजिटल प्रविधियुक्त उद्घाटन समारोहले आममानिसको मन जितेको छ।

११ औँ बेइजिङ एसियाली खेलकुद

सन् १९९० सेप्टेम्बर २२ देखि अक्टोबर ७ सम्म चीनको राजधानी बेइजिङमा ११ औँ एसियाली खेलकुद आयोजना भएको थियो। चीनमा आयोजित पहिलो बृहत् अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता थियो। एसियाको ओलम्पिक परिषद्का ३७ सदस्य देश र क्षेत्रका ६,५७८ खेल प्रतिनिधिमण्डलले भाग लिएका थिए।

१६औँ क्वाङचौ एसियाली खेलकुद

सन् २०१० को क्वाङचौ एसियाली खेलकुद एसियाली खेलकुदको १६ औँ संस्करण हो। सन् २०१० नोभेम्बर १२ देखि नोभेम्बर २७ सम्म चीनको क्वाङचौलगायत छिमेकी सहरले यो खेल आयोजना गरेको थियो, जुन बेइजिङपछि एसियाली खेलकुद आयोजना गर्ने दोस्रो चिनियाँ सहर थियो। कुल ४२ खेलमा प्रतिस्पर्धा भएको थियो।

चिनियाँ खेल प्रतिनिधिमण्डलले ४१६ (१९९ स्वर्ण, ११९ रजत, ९८ कास्य) पदकसहित पदकतालिकामा पहिलो स्थान हासिल गरेको थियो।

१९औँ हाङचौ एसियाली खेलकुद

सन् २०२२ को सेप्टेम्बर १० देखि २५ सम्म चीनको हाङचौमा १९ औँ एसियाली खेलकुद आयोजना गर्ने घोषणा एसियाली ओलम्पिक परिषद्ले गरेको थियो तर कोभिड-१९ महामारीका कारण सन् २०२३ सेप्टेम्बर २३ देखि ८ अक्टोबरसम्म आयोजना गरिने जनाएको थियो। सोहीअनुरूप अहिले चीनको चच्याङ प्रान्तको हाङचौ सहरमा १९ औँ एसियाली खेलकुद जारी छ।

यो १९ औँ एसियाली खेलकुदमा एसियाका ४५ राष्ट्र तथा क्षेत्रका १२ हजार ४ सय १७ खेलाडीको सहभागिता रहेको आयोजक हाङचौ एसियाली खेलकुद आयोजक समितिले जनाएको छ। दुई वर्षअघि टोकियो ओलम्पिकमा करिब ११ हजार खेलाडीले भाग लिएका थिए।

१९ औँ एसियाली खेलकुद उद्‌घाटन समारोह। तस्बिर : एएफपी

चिनियाँ सञ्चारमाध्यमका अनुसार प्रतियोगिता वा प्रशिक्षण स्थलको कुल लागत १० अर्ब १९ करोड युआन अर्थात् १ अर्ब ४० करोड अमेरिकी डलर छ। ५६ वटा प्रतियोगिता स्थलमध्ये १२ नयाँ स्थल र ४४ वटा पुनःनिर्मित वा अस्थायी हुन्।

यसबाहेक हाङचौमा एसियाली खेलकुद प्रतियोगिताले स्थल निर्माण, ऊर्जा आपूर्ति, इभेन्ट सञ्चालन लगायतका क्षेत्रमा हरित र दिगो अभ्यासप्रतिको आफ्नो प्रतिबद्धतालाई कायम राखेको छ। यसले चिनियाँ विशेषतासहित एसियाली शैली र लक्ष्यअनुरूप ‘हरित, स्मार्ट, मितव्ययी र सभ्य’ को अवधारणालाई पालना गरेको छ।

एसियाली खेलकुद एसियाको सबैभन्दा ठूलो बहुखेल प्रतियोगिता र खेलकुद महोत्सव त हो नै। यसबाहेक खेलाडीका लागि आफ्नो क्षमता र शक्ति प्रदर्शन गर्ने राम्रो अवसर पनि हो।

चीनले आफ्नो वर्चस्वलाई निरन्तरता दिइरहेको छ भने आयोजकका रूपमा पनि नयाँ प्रविधि तथा स्वच्छ ऊर्जालाई आत्मसात् गर्दै विश्वलाई चकित तुल्याएको छ।

विडम्बना यही छ कि नेपाली खेलाडीको स्तर खस्किँदो छ, आशा गरेका खेलमा पनि नेपाली खेलाडीले निराशा हात पारेका छन्। छिमेकी मित्रराष्ट्र चीनबाट नेपाली खेलकुद क्षेत्रको समग्र विकासमा सहयोग लिन सके केही हुन्थ्यो कि?

१९ औँ एसियाली खेलकुद समारोहमा नेपाली खेलाडी। तस्बिर : एएफपी
प्रकाशित: १३ असोज २०८० १२:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast