सुदूरपश्चिममा डेंगु : आठ महिनामा तीनजनाको मृत्यु, आठ सय बढी संक्रमित

हिमाल प्रेस १० असोज २०८० ९:१३ | Wednesday, September 27, 2023
सुदूरपश्चिममा डेंगु : आठ महिनामा तीनजनाको मृत्यु, आठ सय बढी संक्रमित

कञ्चनपुर- गत आठ महिनामा सुदूरपश्चिममा आठ सय ७७ जनालाई डेंगुको संक्रमण देखिएको छ। सुदूरपश्चिममा सबैभन्दा बढी संक्रमण कैलाली, कञ्चनपुर र पहाडी जिल्ला दार्चुलामा देखिएको छ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत हेमराज जोशीले डेंगु संक्रमणबाट कञ्चनपुरमा दुई र दार्चुलामा एक गरी तीन जनाको मृत्यु भएको जानकारी दिए।

‘तथ्यांकानुसार यहाँ गत माघ महिनायता आठ सय ७७ जनामा संक्रमण देखिसकेको छ’, उनले भने, ‘तर पछिल्लो समय संक्रमण नियन्त्रण हुँदै आएको छ।’

यहाँ सुदूरपश्चिम प्रदेश सरकारले संक्रमित बिरामीको व्यवस्थापनमा सहजीकरण गर्ने, जिल्लामा रहेको स्वास्थ्य कार्यालयले सोसम्बन्धी सचेतना र कर्मचारीको क्षमता अभिवृद्धि गर्ने र स्थानीय पालिकाले लामखुट्टेको लार्भा नष्ट अभियान सञ्चालन गरिरहेको जानकारी दिए।

यहाँ गत माघदेखि हालसम्म कैलालीमा तीन सय ७६, दार्चुलामा एक सय ९६, कञ्चनपुरमा एक सय ५९, अछाममा ५२, बाजुरामा ३२, डोटीमा १९, बझाङमा १३ र बैतडीमा नौ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

गर्मी हुने क्षेत्रमा देखिँदै आएको डेंगुको संक्रमण यसपटक सुदूरपश्चिमका पहाडी जिल्लामा समेत देखिएको छ । संक्रमित ज्वरो आउने, आँखा दुख्ने, हातखुट्टा र ढाड दुख्नेलगायतका लक्षण देखिने गरेको छ।

त्यसैगरी स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले डेंगु रोकथाम र सचेतना अभियान नौवटै पालिकामा सञ्चालनमा रहेको बताए। ‘कञ्चनपुरमा संक्रमित ८५ प्रतिशत भीमदत्त नगरपालिकामा प्रभावित छन्’, उनले भने, ‘भीमदत्तका १९ वटै वडामा रोकथामका लागि सक्रियता बढेको छ।’

उनले वडा–वडामा माइकिङ गर्ने, जोगिने उपायबारे नागरिकलाई जानकारी गराउनेलगायतका काम चलिरहेको बताए।

प्रकाशित: १० असोज २०८० ९:१३ | Wednesday, September 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast