काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा चेल्सीको खराब लयले आइतबार राति पनि निरन्तरता पाएको छ। नयाँ सिजनको लिगमा तेस्रो हार व्यहोर्ने क्रममा चेल्सी एस्टन भिल्लासँग १–० ले पराजित भएको हो।
चेल्सीलाई उसकै मैदानमा हराउन भिल्लाका ओली वाट्किन्सले ७३ औँ मिनेटमा गोल गरेका थिए। चेल्सी स्टाम्फोर्ड ब्रिजमा लगातार दोस्रो खेलमा हारेको हो। लिभरपुलसँग १–१ को बराबरी खेल्दै सिजनको सुरुवात गरेको चेल्सीलाई गत साता नटिङहम फरेस्टले पराजित गरेको थियो।
नयाँ प्रशिक्षक माउरिसियो पोचेटिनोको प्रशिक्षणमा लिगमा एक खेल मात्र जितेको चेल्सी हाल १४ औँ स्थानमा छ। लगातार तीन खेलमा गोलविहीन बनेको चेल्सी रेलिगेसन क्षेत्रभन्दा जम्मा चार अंकले मात्र पर छ। उनाई एम्रीको टिमविरुद्ध चेल्सीले आधा घण्टाभन्दा बढी समय १० खेलाडीमा खेलेको थियो। लुकासु डिनमाथि फाउल गरेपछि चेल्सीका युवा रक्षक मालो गुस्टोले ५८ औँ मिनेटमा रातो कार्ड पाएका थिए।
निकोलस ज्याक्सनले पहेँलो कार्ड पाएपछि प्रशिक्षक पोचेटिनो थप निराश बनेका थिए। जारी सिजनको पाँचौँ कार्ड पाएका ज्याक्सनले आउँदो खेल गुमाउनेछन्। भिल्लारियलबाट यही सिजन चेल्सी पुगेका ज्याक्सनले जम्मा एक गोल मात्र गर्न सकेका छन्।
खेलपछि पोचेटिनोले आफू र आफ्ना खेलाडीले हारको जिम्मा लिनुपर्ने बताए। ‘हारको कारण रेफ्री वा भीएआरलाई दिन पाइँदैन, हामी आफैँले लिनुपर्छ। कतिपय स्थितिमा हामीले सम्हालिएको व्यवहार देखाउन सकेका छैनौँ। फुटबलमा अनेक क्षण आउँछन्, तिनलाई सम्हाल्नुपर्छ,’ पोचेटिनोले भने।
खेलाडी सरुवा बजारमा ३५ करोड पाउन्ड खर्च गरेर नयाँ स्वरूपको टिम निर्माण गरेको चेल्सीले पोचेटिनोको प्रशिक्षणमा संक्रमणकाल पार गर्ने अपेक्षा गरिएको थियो। तर चेल्सीले खर्चअनुसारको नतिजा दिन सकेको छैन।
‘हामी टिमका रूपमा हुर्किन आवश्यक छ। एक खेलाडीको प्रदर्शनले मात्रै फरक पार्नेछैन, समग्र टिमको प्रदर्शन सुध्रिन आवश्यक छ। निकोजस्ता खेलाडी युवा छन्। प्रिमियर लिग उनका लागि नयाँ छ। उनी यहाँ अभ्यस्त हुन समय लाग्छ,’ पोचेटिनोले भने।
चेल्सीको व्यवस्थापनले नयाँ खेलाडी अनुबन्ध गर्दा युवालाई प्राथमिकतामा राख्ने गरेको छ। जसकारण पोचेटिनोसामु अनुभवविहीन खेलाडीको समूह छ। त्यसमाथि चेल्सीका कैयौँ खेलाडी घाइते छन्। यसले पनि पोचेटिनोलाई अप्ठ्यारोमा पारेको छ।
‘धेरै खेलाडी नयाँ छन्, युवा छन्। अनुभव पुगेको छैन। यसकारण जित्नुपर्ने खेलमा पनि हामी अंक गुमाइरहेका छौँ। हाम्रा कैयौँ खेल यही स्थितिबाट गुज्रिएका छन्,’ पोचेटिनोले भने।
पोचेटिनोको हालको टिमले हार व्यहोरे पनि पूर्वटिम टोटनहमले भने आर्सनलसँग २–२ को बराबरी खेल्यो। दुई पटक पछि परेको टोटनहमलाई एक अंक दिलाउन कप्तान ह्युङ मिन सन निर्णायक साबित भए। टोटनहमको दुवै गोल दक्षिण कोरियाली फरवार्डको नाममा रह्यो।
त्रिस्टियन रोमेरोले आत्मघाती गोल गर्दा आर्सनलले २६ औँ मिनेटमा अग्रता लिएको थियो। बुकायो साकोको प्रहार रोमेरोसँग डिफ्लेक्ट भएको थियो। तर सनले ४२ औँ मिनेटमा गोल फर्काएपछि पहिलो हाफ बराबरीमा सकिएको थियो।
बुकायो साकाले ५४ औँ मिनेटमा पेनाल्टीमा गोल गरेपछि आर्सनल फेरि अघि बढ्न सक्यो। यद्यपि टोटनहम पुनः खेलमा फर्कियो। नयाँ खेलाडी जेम्स म्याडिसनको क्रसमा कप्तान सनले दोस्रो पटक बराबरी गोल फर्काए।
नयाँ प्रशिक्षक आन्ज पोस्टेकोग्लुको प्रशिक्षणमा सात लिग खेल खेलेको टोटनहमले पाँचौँ पटक पुनरागमन गर्दै अंक बटुल्न सफल भएको हो।
‘आर्सनल खतरनाक टिम हो। हामीले कतिपय स्थितिमा त रक्षात्मक खेल्नुपर्यो। तर नडराई खेलेको भएर गोल फर्काउन सक्यौँ। हामीले आगामी खेलमा पनि बहादुरी देखाउन आवश्यक छ,’ आन्जले भने।
‘नर्थ लन्डन डर्बी’ भनिने यो खेलमा आर्सिनलले आफ्नो महँगा मिडफिल्डर डेक्लान राइसलाई दोस्रो हाफ मैदान उतार्न पाएन। चोटका कारण खेल्न नसकेका उनको स्थान जर्जिन्होले लिएका थिए। जसको गल्तीका कारण टोटनहमले दोस्रो गोल गर्न सकेको थियो।
टोटनहमसँग बराबरीमा रोकिएपछि गत सिजनको उपविजेता आर्सनल पाँचौँ स्थानमा झरेको छ। टोटनहम भने चौथो स्थानमा छ। यी दुवैसँग १४–१४ अंक छ। शीर्ष तीनमा म्यानचेस्टर सिटी, लिभरपुल र ब्राइटन छन्। सिटीको १८, लिभरपुलको १६ र ब्राइटनको १५ अंक छ।
बर्नमाउथलाई ३–१ ले हराएपछि ब्राइटनले तेस्रो स्थानमाथि कब्जा जमाएको हो। एक गोलले पछि परेको स्थिति उल्टाउँदै ब्राइटनले बर्नमाउथलाइ पराजित गरेको हो।