च्याम्पियन्स लिग : इत्तिहादमा अल्भारेज नायक, बार्सिलोनाको ठाँटिलो जित

हिमाल प्रेस ३ असोज २०८० ६:४७
12
SHARES
च्याम्पियन्स लिग : इत्तिहादमा अल्भारेज नायक, बार्सिलोनाको ठाँटिलो जित

काठमाडौँ- नयाँ सिजनको युरोपेली च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन (पीएसजी) र बार्सिलोनाले विजयी सुरुवात गरेका छन्। यी ठूला टिमबाहेक मंगलबार राति आआफ्ना खेल जित्ने अन्य टिम नेदरल्यान्ड्सका पीएसभी आइन्डहोभन र फियोनार्ड तथा एफसी पोर्टो र आरबी लाइपजिग रहे।

तर सात पटकको च्याम्पियन एसी मिलान र एट्लेटिको म्याड्रिड भने आआफ्ना खेलमा बराबरीमा रोकिए।

यसपालि पनि विजेता बन्ने दाउमा रहेको सिटीले इत्तिहादमा सर्बियाको एफके क्रेभेना भेज्दालाई ३–१ ले पराजित गर्‍यो। समूह ‘जी’ को यो खेलमा सिटीलाई जित दिलाउन युलियान अल्भारेजले दुई तथा रोड्रीले एक गोल गरेका थिए। सर्बियाली टिमका लागि ओस्मान बुकारीले एक गोल फर्काए।

सिटीले पहिलो हाफ सकिनै लाग्दा गोल खाएको थियो। बुकारीले ४५ औँ मिनेटमा अप्रत्याशित गोल गरेपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओला निराश देखिएका थिए। उनको निराशाको अर्को कारण थियो, निरन्तर आक्रमण बुने पनि असफलता। सिटीले सुरुको ४५ मिनेटभित्र २२ पटक आक्रमण गरेको थियो।

दोस्रो हाफ सुरु हुनसाथ अल्भारेजले गोल गरेपछि सिटी खेलमा फर्किएको थियो। उनले ६० औँ मिनेटमा अर्को गोल थपे भने रोड्रीले ७३ औँ मिनेटमा सिटीको तेस्रो गोल गरे।

‘पहिलो हाफमै गोल गर्न सकेको भए खेल अर्कै हुन्थ्यो। गोलका अवसर सिर्जना नभएका होइनन्। तर अग्रपंक्तिमा खेल्नेहरुले आफ्नो दायित्व पूरा गर्न ढिलो गरे,’ खेलपछि सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने।

समूह ‘एफ’ को खेलमा पीएसजीलाई महत्त्वपूर्ण जित दिलाउन किलियान एम्पाप्पेले ४९ औँ मिनेटमा पेनाल्टीमा र अचरफ हाकिमीले ५८ औँ मिनेटमा गोल गरेका थिए।

घरेलु रंगशाला पार्क डेस प्रिन्समा पीएसजीले पहिलो हाफ आफ्नो नियन्त्रणमा राखेको थियो। यद्यपि डर्टमन्डको रक्षापंक्ति भने तोड्न सकेन।

दोस्रो हाफ सुरु भएको चार मिनेटपछि डर्टमन्डका अनुभवी रक्षक निकलस सुलले ह्यान्ड गरेपछि भने पीएसजीले गोल गर्ने अवसर पायो। जसलाई एम्पाप्पेले सजिलै सदुपयोग गरे। पहिलो गोल गरेको १० मिनेट पनि नबित्दै हाकिमीले आफ्नो पूर्वक्लबविरुद्ध गोल गरे।

यही सिजन पीएसजीको प्रशिक्षक बनेका लुइस एनरिकेले च्याम्पियन्स लिगमा सकारात्मक सुरुवात गर्न पाएकोमा प्रसन्नता व्यक्त गरे।

‘मैले आज रमाइलो माने। हामीले सुरुबाटै एउटै रफ्तारमा खेल्न सक्यौँ। अझ एक गोल थप्न सकिन्थ्यो, तर दुई गोलसहितको जितमा चित्त नबुझाउनु पर्ने कारण छैन। फेरि यो समूह साह्रै कठिन छ,’ बार्सिलोनालाई च्याम्पियन्स लिग जिताएका एनरिकेले भने।

जोआओ फेलिक्सले दुई गोल गरेपछि बार्सिलोनाले समूह ‘एच’ मा बेल्जियन टिम रोयल आन्टवेर्पलाई ५–० ले पन्छायो। क्याम्प नौउको पुनःनिर्माण जारी रहेकाले यो सिजन ओलिम्पक रंगशाला लुइस कम्पनिजमा सरेको बार्सिलोनाले १९ औँ मिनेटमा गोलको खाता खोलेको थियो।

यही सिजन बार्सिलोना पुगेका दुई खेलाडीले पहिलो गोलका लागि सहकार्य गरे। एल्काइ गुन्डोवानको पास भेटेपछि फेलिक्सले गोल गरेका थिए। आठ मिनेटपछि लेवान्डोस्कीले अग्रता दोब्बर बनाए।

फ्रान्की डे योङले दिएको लामो पास नियन्त्रणमा लिँदै फेलिक्सले लेवान्डोस्कीका लागि अवसर सिर्जना गरिदिएका थिए। जसलाई भेट्रान लेवान्डोस्कीले गोलमा परिणत गरे। युरोपेली क्लब फुटबलमा यो लेवान्डोस्कीको एक सयौँ गोल थियो।

बार्सिलोना २२ मिनेटभित्र ३–० ले अघि बढेको थियो। तेस्रो गोल भने रोयल आन्टवेर्पका येल्ले बाटाइलेको नाममा रह्यो। रफिन्हाको क्रस राइब्याक बाटाइलेसँग डिफ्लेक्ट हुँदै रोयल आन्टवेर्पको पोस्टमा छिरेको थियो।

दोस्रो हाफ सुरु हुन साथ बार्सिलोनाले चौथो गोल ग¥यो। यसपालि गोल गर्ने पालो थियो, पेड्रीको। उनले लामो दूरीबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो। बार्सिलोनाको अन्तिम गोल फेलिक्सले गरे। रफिन्हाले दिएको क्रसलाई फेलिक्सले फिनिसिङ टच दिएका थिए।

गएका दुई सिजन च्याम्पियन्स लिगको समूह चरण नै कट्न नसकेको बार्सिलोना यसपालि सजग छ। यस्तोमा प्रशिक्षक जाभीले आफ्नो प्राथमिक लक्ष्य समूह चरण पार गर्नु रहेको बताएका छन्। ‘अहिले हाम्रा खेलाडीहरुले लोभलाग्दो खेल देखाइरहेका छन्। यस्तै प्रदर्शन गरिरहनु पर्छ, किनभने स्थिरता सबैभन्दा महत्त्वपूर्ण छ,’ पूर्वमिडफिल्डर जाभीले भने।

ला लिगामा गत शनिबार रियल बेटिसलाई ५–० ले हराएको बार्सिलोना लोभलाग्दो लयमा छ। बेटिस र रोयल आन्टवेर्पमाथिको जितलाई जाभीले आफ्नो प्रशिक्षणकालका सबैभन्दा उम्दा प्रदर्शन मानेका छन्।

बेटिसविरुद्ध पनि फेलिक्सले गोल गरेका थिए। एट्लेटिकोबाट ऋण सम्झौतामा बार्सिलोना आएका फेलिक्स गत सिजन चेल्सीमा थिए। प्रतिभावान् भए पनि अपेक्षाकृत खेल दे्खाउन नसकिरहेको आरोप खेपिरहेका फेलिक्सले बार्सिलोना बसाइ सुखद हुने विश्वास व्यक्त गरे। ‘सुरुवात राम्रो गरेको छु। आशा छ, यही स्तर कायम राख्नसक्छु,’ २३ वर्षीय फरवार्ड फेलिक्सले भने।

युरापेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा २० वर्षपछि पुनरागमन गरेको न्युकासल युनाइटेडले मिलानलाई गोलरहित बराबरीमा रोक्यो। पहिलो पटक च्याम्पियन्स लिगको स्वाद चाख्न पाएका न्युकासलका प्रशिक्षक एड्डी हाउ र धेरै खेलाडीका लागि सान सिरोको अनुभव भावानात्मक रह्यो।

‘सान सिरोमा मिलानसँग खेल्नु सजिलो छैन। हाम्रा लागि यो निकै राम्रो अनुभव रह्यो। हाम्रा लागि यो अनुभव काम लाग्नेछ,’ हाउले भने।

इन्जुरी समयमा गोलरक्षक इभान प्रोभेडेलले हेडर गोल गरेपछि लाजियोले एट्लेटिको म्याड्रिडबाट एक अंक खोस्यो। लाजियोको मैदानमा पाब्लो बारियोसले २९ औँ मिनेटमा गोल गरेपछि स्पेनी टिम खेलमा अघि बढेको थियो।

तर खेल सकिनै लाग्दा लाजियोले गोल फर्कायो। लुइस अल्बर्टोले प्रहार गरेको कर्नरबाट आएको बललाई प्रोभेडेलले जाली चुमाएका थिए।

यही समूह ‘इ’ को अर्को खेलमा फियोनार्डले नौ खेलाडीमा सीमित सेल्टिकलाई २–० ले पन्छायो। समूह ‘जी’ मा लाइपजिगले स्विस टिम योङ ब्वोइजमाथि ३–१ को जित हात पार्यो। त्यसैगरि समूह ‘एच’ कोे खेलमा पोर्टोले युक्रेनको शाख्तार डोनेस्कलाई ३–१ ले हरायो।

मंगलबार रातिका नतिजाः

फियोनार्ड २–० सेल्टिक
लाजियो १–१ एट्लेटिका म्याड्रिड
एसी मिलान ०–० न्युकासल युनाइटेड
पीएसजी २–० बोरुसिया डर्टमन्ड
योङ ब्वोइज १–३ आरबी लाइपजिग
म्यानचेस्टर सिटी ३–१ क्रेभाना भेज्दा
बार्सिलोना ५–० रोयल आन्टवेर्प
शाख्तार डोनेस्क १–३ एफसी पोर्टो

प्रकाशित: ३ असोज २०८० ६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast