बाको गोडा

जीवन जीवन्त २८ भदौ २०८० ८:४७
बाको गोडा

एकातिर एमफिलको अन्तिम सत्रको शोधपत्र बुझाउनुपर्ने समयसीमा सकिन लागिसकेको थियो भने अर्कातिर बालाई अस्पतालमा राखेको दुई साता बितेको थियो। अस्पताल बसाइमा पनि केही पढ्नैपर्ने बाध्यता थियो। बिहान आठ बजेतिर वार्ड सफा गर्ने समय भएकाले कुरुवा सबै जना बाहिर जानुपर्ने भयो।

अस्पतालको कोरिडोर निकै व्यस्त थियो। बिरामी र आफन्त आशाका ससाना दीप बाल्दै यताउता गरिरहेका थिए। म अस्पतालअघिल्तिर सानो बगैँचाको पर्खालमा बसेर किताब पल्टाइरहेको थिएँ। रातको निद्रा पनि आँखाभरि सिंगै बाँकी रहेकाले किताबतिर मन जान सकिरहेको थिएन।

अकस्मात् मलाई परबाट आइरहेको बिग्रेको ट्रलीको खट्याङट्याङ आवाजले आकर्षित गर्‍यो।  मैले त्यसमाथि नमिठो दृष्टि फ्याकेँ- डस्टबिनको कालो धोक्रो बोकेर आइरहेको थियो, त्यसमाथि सेतो प्लास्टिक थियो।

म हातको पुस्तक फ्यात्त भुइँमा फ्याकेर जुरुक्क उठेँ। त्यसभित्र एउटा काटिएको गोडा थियो। नियालेर हेरेँ- त्यो त मेरै बाको गोडा थियो। मेरा बाको गोडा काटिएको थिएन, अपरेसन गरिएको थियो। (म यसैमा विश्वस्त थिएँ) राति हामीलाई हेर्न दिइएको थिएन।

पट्टी लगाइएको गोडा लिएर सुतिरहनुभएको बालाई पोस्ट अपरेसन वार्डमा लगेर देखाइएको थियो। सेतो प्लास्टिकमा बेरिएको बाको गोडा मैले एकै झमटमा चिनिहालेँ किनभने त्यो मैले तीस वर्षदेखि देखिरहेको थिएँ। त्यसै गोडामाथि टेकेर मैले तातेताते सिकेको थिएँ। त्यसै गोडाको पछि लागेर पहिलोपटक स्कुल गएको थिएँ। त्यसै गोडाको पछिपछि म सयौँपटक बजार घुमेको थिएँ। झोलामा मकैको बिउ हलोको हलोको सियोमा हाल्दै त्यही गोडाको पछिपछि हिँडेको थिएँ म।

मेरा लागि त्यो गोडा मैजत्तिकै परिचित थियो। सधैँ बाको कम्मरमुनि रहेको त्यो गोडा आज शरीरबाट विच्छेद भएको थियो। एक्लै सेतो प्लास्टिकको झोलाभित्र बिग्रेको ट्रलीमा सवार थियो। त्यसले बाको शरीर मात्र छाडेको थिएन, मेरो साथ पनि छाड्दै थियो। त्यो बासँग हुँदा जस्तो फुर्तिलो थिएन। रातोरातो भरभराउँदो थिएन। त्यो त पहेँलिँदै थियो, ओइलाउँदै थियो। मैले त्यसलाई चिनेँ तर त्यो गोडाले मलाई अपरिचितजस्तै गर्‍यो। वास्तै गरेन।

ट्रलीसँगै त्यो गोडा मबाट टाढा हुँदै गयो। म अलि परसम्म पछ्याउँदै गएँ। मलाई त्यो झोला खोलेर बाको गोडा मुसार्न मन थियो। त्यसको सेवा गर्ने र त्यसमा प्राण भर्न मन थियो। तर म धेरै चलमलाउन सकिरहेको थिइनँ। मेरो दृष्टिले मात्रै पछ्याइरह्यो। पछिपछि जान सकिनँ। मेरो शरीर करिब जमिसकेको थियो। डिलमा उभ्याइएको मूर्तिजस्तै म एकोहोरो हेरिरहन विवश थिएँ।

यो घटना भएको एक दशकपछि गत वर्ष म एमए, अंग्रेजी तेस्रो सत्र, एकेडेमिक राइटिङको परीक्षा दिइरहेको थिएँ। त्यसमा चाङ री ली नामक कोरियाली-अमेरिकाली लेखकको ‘‘कमिङ होम’ शीर्षकको निबन्धबाट प्रश्न सोधिएको थियो।

निबन्धमा कोरियाली खाना, संस्कृतिका माध्यमबाट रोगी आमाको विस्मृतिगत संवेदना कुँदिएको छ। खाना-संस्कृतिसँग जोडेर आफ्नो अभिभावक वा परिवारको विस्मृतिका सम्बन्धमा एउटा लेख तयार गर्नुपर्ने थियो। मैले एक दशकअघि बित्नुभएको मधुमेहका रोगी बाको स्मृतिलाई विषय बनाएर निबन्ध लेख्न थालेँ। निबन्ध लेख्दै जाँदा बाको विस्मृतिले मेरा आँखा सजल भए। खाली हातले आँसु पुछेँ, निकैबेर आँखा चिम्लेर बसिरहेँ।

बालाई गुलियो असाध्यै मन पर्थ्यो। मोरङको पथरीमा आइतबार र बिहीबार हाटबजार लाग्थ्यो। हाटको दिन प्रायः बा बजार जानुहुन्थ्यो। फर्केर आउँदा जुलबी (जेरी) छुट्दैनथ्यो। आधाजति उहाँ एक्लै खानुहुन्थ्यो अनि बाँकी हामी चार जना बाँडेर खान्थ्यौँ। त्यतिले हामी अघाउँथ्यौँ तर बा तृप्ति पूरा नभएजस्तो देखिनुहुन्थ्यो। जति खाए पनि पचाउनुहुन्थ्यो पनि।

बा धेरै गुलियो खाएर कहिल्यै  बिरामी परेको थाहा भएन। अहिले पनि म पथरी बजार जाँदा हलुवाइबाले पकाउने गरेको जुलबी सम्झिने गर्छु तर त्यसरी खाइहाल्दिनँ। मलाई गुलिया कुरा मन पर्ने भए पनि अपहत्ते हुँदैन।

समयक्रममा म काठमाडौँ आएँ। बाको त्यो बानी बासँग टाढा हुँदै गयो तर मेरो स्मृतिबाट उहाँको जुलेबीप्रेम हराउने कुरै थिएन। नियतिको खेल! एमए पढ्न भनेर  काठमाडौँ आएको मलाई होटलमा खाना बनाउने कुक बनाइदियो। तालिम लिएर होटलमा काम गर्न थालेँ। त्यहाँ मिठाई बनाउने छुट्टै शाखा थियो। कुक अलग्गै थिए।

बाको जुलबीप्रेमले मलाई पनि जेरी बनाउन सिक्न प्रेरित गर्‍यो। मैले जेरी बनाउन सिकेँ।

होटलमा कामको व्यस्तता थियो। कमाइ भने खासै थिएन। विदेश गए राम्रो कमाइ हुन्छ भन्ने विश्वासले दुःख गरिरहेको थिएँ। जागिरसँगैसँगै म्यानपावर एजेन्सी धाउने क्रम बढेको थियो। भिसा लागेको थिएन। यता समयले नेटो काटिसकेको थियो। कमाइ नभएको हो कि होटलमा बिदा नपाएर हो म केही वर्षदेखि घर गएको थिइनँ। बढी कमाइ हुने देशको भिसा लागेपछि मात्र जाने हो भन्ने रहर थियो। यसले गर्दा केही वर्ष बितेको पत्तै भएन।

केही वर्षपछि बिदा मिलाएर म घर गएँ। कलंकीमा नाइट बस चढेदेखि नै बालाई जुलबी बनाएर खुवाउने सपना सजाइसकेको थिएँ। अब त किनेर खुवाउनु पर्दैनथ्यो। म आफैँ बनाएर बालाई मन लागेजति खुवाउन सक्ने भएको थिएँ। यस्तै विचार गर्दागर्दै भोलिपल्ट बिहान घर पुगेँ। मेरो योजना अलि गोप्य राखेर बालाई ‘सरप्राइज’ दिने विचार आयो।

भोलिपल्ट दिउँसो बाआमा बाहिर जानुभएको समयमा मैले जुलबी पकाएँ। नाङ्लाभरि जुलबी फिँजाएर राखेँ अनि बा फर्कने पर्खाइमा बसेँ। साँझतिर उहाँहरू आउनुभयो। खुसी हुँदै बाको अघिल्तिर एक नाङ्लो जुलबी राखिदिएँ। उहाँहरू छक्क पर्नुभयो, ‘कहाँबाट ल्याएको यति धेरै जुलबी’, बाले भन्नुभयो। ‘मैले पकाएको नि! तपाईंलाई धेरै मन पर्ने भएकाले मैले होटलमा सिकेर आएको छु, अनि यहीँ घरैमा पकाएको, लु खानुस्, बा मन लागेजति खानुस्’, मैले रोमाञ्चित हुँदै भनेँ।

बाले आमाको मुहारतिर हेर्नुभयो। कुनै प्रतिक्रिया दिनुभएन। मैले आफ्नै हातले टिपेर उहाँको मुखैनिर पुर्‍याइदिएँ। किनभने म बालाई अघाउन्जेल जुलबी खुवाउन चाहन्थेँ। आमाले भन्नुभयो, ‘तैँले के पकाएको यो? बाले खानुहुन्छ त?’

‘के भएको छ र, बालाई?’

‘यी हेर्न रिपोट, भर्खर जँचाएर आएको, चिनी रोग भएछ’, आमाले विस्मित हुँदै भन्नुभयो, ‘अब गुलियो कुरा खाँदैनखानू भनेका छन्, डक्टरले।’

मैले कति लामो समयदेखि बनाएको योजना आज कस्तो विडम्बनामा फसेको थियो। मैले बाको जुलेबीप्रेमकै कारण तातो तेलले कतिपटक हात पोल्दा पनि जेरी बनाउन सिकिछाडेको थिएँ। हलवाइवाला त्यति सजिलै सिकाउने वाला पनि थिएन।

‘तिमीलाई सिकाए पनि मेरो जागिर धरापमा परिहाल्छ नि’, भन्ने गर्थ्याे सधैँ। मैले धेरै खुसामत गरेर सिकाइमागेको थिएँ। किनभने मलाई घर गएर बालाई धीत मरुन्जेल जुलबी खुवाउनु थियो।

त्यसै योजनाअनुसार मैले यति धेरै जुलबी पकाएर बाको अघिल्तिर राखिदिएको थिएँ। उहाँको मुहार विस्मृत थियो, मनभरि जुलबी खाने रहर उम्लिरहेको थियो। मैले मुखैमा जुलेबी पुर्‍याउँदा मुख आफैँ खुलेर एक गाँस चपाइहाल्यो पनि तर आमाले हपार्दैै डाक्टरको कुरा सम्झाउनुभयो।

नाङ्लोभरिको जुलबी त्यसै घुङ्रिङ परेर बटारिरहेको थियो। त्यसमाथि चिल्लो गुलियो टल्किरहेको थियो। अब बाले कहिल्यै त्यो जुलबी खान नहुने भएको थियो। उहाँको जीवनको सबैभन्दा ठूलो रहर थियो- जुलबी खाने तर त्यो आजबाट रोकिएको थियो, मधुमेहका कारण गुलियो खान नहुने भएको थियो।

त्यसबेला देखिएको मधुमेह बाको गोडा काट्नुपर्ने कारक तत्त्व बन्यो, करिब बाह्र वर्षपछि। गोडा काटेर पनि उहाँको जिजीविषा बाँकी छँदै शरीरले प्राण धान्न सकेन। एघार वर्षपछि पनि काटिएको गोडा ट्रली चढेर गइरहेको विस्मृति हराउन सकेको छैन, बरु यस्तैयस्तै अवसरमा नवीकरण भइरहन्छ। बाको आत्मालाई शान्ति मिलिरहोस्! आर्काइभबाट

प्रकाशित: २८ भदौ २०८० ८:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast