डाक्टरमाथि कुटपिट भएको भन्दै कारबाहीको माग

हिमाल प्रेस २८ भदौ २०८० ७:३४ | Thursday, September 14, 2023
डाक्टरमाथि कुटपिट भएको भन्दै कारबाहीको माग

काठमाडौँ- हेटौँडामा डाक्टरमाथि कुटपिट भएको भन्दै नेपाल चिकित्सक संघले कारबाहीको माग गरेको छ। संघले बुधबार विज्ञप्ति जारी गर्दै चिकित्सकमाथि हातपात गर्नेलाई कारबाहीको माग गरेको हो।

संघका आजीवन सदस्यसमेत रहेका चिकित्सकद्वय डा विकास थापा र डा प्रशान्त विडारीमाथि हातपातको घटनामा संलग्न दोषीलाई अविलम्ब स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाही गर्न संघले माग गरेको हो।

‘भाद्र २७ गतेका दिन नेपाल चिकित्सक संघका आजीवन सदस्यद्वय डा विकास थापा र डा प्रशान्त विडारीमाथि सन्चो अस्पताल हेटौँडामा बिरामीहरूको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको घटनाप्रति नेपाल चिकित्सक संघ घोर भर्त्सना र निन्दा गर्दछ’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘श्रावण २२ गते एकजना बिरामी डेंगी रोगको लक्षण लिई उपचारका लागि सन्चो अस्पताल हेटौँडामा आएको र उक्त बिरामीलाई थप उपचार आवश्यक भएको हुनाले २३ गते चितवनको सुविधा सम्पन्न अस्पतालमा प्रेषण गरिएको थियो। उक्त बिरामीको २०८० श्रावण २५ गते उपचारका क्रममा असामयिक निधन हुन गएको घटनालाई लिएर पहिला पनि क्षतिपूर्तिका लागि धम्की दिने गरेको तथा मिति २०८० भाद्र २७ गते सन्चो अस्पताल हेटौडामा कार्यरतद्वय डा थापा र विडारीमाथि शारीरिक हमला गरी गम्भीर घाइते बनाई अन्य स्वास्थ्यकर्मीहरूलाई धम्क्याएको घटनाका सम्बन्धमा नेपाल चिकित्सक सघ स्तब्ध भएको छ।’

नियमित रूपमा उपचार प्रक्रियालाई इमानदारीपूर्वक पालना गरी थप सुविधा सम्पन्न अस्पतालमा प्रेषण गरिएको बिरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकहरूलाई नै हातपात गर्ने जस्तो अस्वाभाविक र अमानवीय घटनाप्रति संघको गम्भीर आपत्ति रहेको जनाइएको छ।

संघका महासचिव डा. सन्जिव तिवारीले दोषीलाई यथाशीघ्र पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेका छन्।

७२ घण्टाभित्र उक्त घटनामा संलग्न दोषीलाई कानुनी कारबाही नगरिएको अवस्थामा नेपाल चिकित्सक संघ चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने उनले विज्ञप्ति मार्फत जानकारी गराएका छन्।

प्रकाशित: २८ भदौ २०८० ७:३४ | Thursday, September 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast