भारतीय फुटबल : खेलाडी छान्न ज्योतिषको सहयोग

हिमाल प्रेस २७ भदौ २०८० १२:४१
56
SHARES
भारतीय फुटबल : खेलाडी छान्न ज्योतिषको सहयोग

कुरा जुन ९, २०२२ को हो। ४८ घण्टापछि भारत र अफगानिस्तान आमनेसामने हुन लागेका थिए। खेल थियो, एसिया कप छनोटको। कोलकातामा हुन लागेको खेलअघि भारतीय टिमका प्रशिक्षक इगोर स्टिमचले भूपेश शर्मा नाम गरेका एक व्यक्तिलाई मोबाइलमा सन्देश पठाए।

रोचक के छ भने, शर्मा दिल्ली एनसीआर क्षेत्रमा बस्ने ज्योतिष थिए। योभन्दा थप रोचक तथ्य, शर्मालाई अरु कसैले नभएर भारतीय फुटबल संघ (एआईएफएफ) कै कसैले स्टिमचसँग चिनजान गराएको थियो।

भारतीय अखबार द इन्डियन एक्सप्रेसका अनुसार स्टिमचले ती ज्योतिषलाई सन्देश पठाउनुको उद्देश्य थियो, अफगानिस्तानसँगको खेलमा क-कसलाई खेलाउने भन्ने सल्लाह लिने। पहिलो एघारबारे निर्णय लिनुअघि स्टिमच ज्योतिषसँग सल्लाह गर्न चाहन्थे।

केही घण्टापछि ती ज्योतिषले स्टिमचलाई जवाफ दिए। स्टिमचले पठाएको खेलाडीको नाममा प्रतिक्रिया दिन थाले। ‘राम्रो खेल्नसक्छ’, ‘आज औसतभन्दा कम प्रदर्शन गर्छ’, ‘आज उसलाई नखेलाएकै राम्रो’ खेलाडीबारे ज्योतिषले दिएका प्रतिक्रिया यस्तै यस्तै थिए।

स्टिमचले ज्योतिषको सुझाव नमान्ने कुरै थिएन। जुन ११ को त्यो खेलका लागि घोषित भारतीय पहिलो एघारमा स्थापित दुई खेलाडी थिएनन्।

स्टिमचले फगत यही खेलका लागि मात्र ज्योतिषसँग सल्ल्लाह गरेका होइनन्। यसको प्रमाण हो, दुईबीच आदनप्रदान भएका सयौँ सन्देश। गत वर्षको मे र जुन महिनामा भारतले एसियन कप अन्तर्गत अफगानिस्तानबाहेक कम्बोडिया र हङकङको पनि सामना गरेको थियो। यी प्रत्येक खेलअघि स्टिमचले ज्योतिषलाई सम्पर्क गरेका थिए।

अन्तर्राष्ट्रिय फुटबलमा एक प्रशिक्षकले आगामी खेलमा खेलाउन लागेको टिमको सूचना बाहिर निकाल्नुलाई स्वाभाविक मानिँदैन। तर स्टिमचले भने गोपनीयताको प्रवाह नगरेको देखिएको छ।

त्यसरी पटक पटक आदनप्रदान गरिएका सन्देश इन्डियन एक्सप्रेसले प्राप्त गरेको छ। ती सन्देशले प्रस्ट पार्छन्, स्टिमचले कुनै पनि खेलअघि ज्योतिषलाई कस्तो टिमलाई मैदान उत्रार्दा ठिक होला भनेर राय माग्ने गर्थे। उनले एक सन्देशमा यसो भनेका छन्, ‘हेल्लो भुपेश, तपाईंसँग भेट्दा र सहकार्यका विषयमा कुरा गर्दा खुुसी लाग्यो। म यी उल्लेखित खेलाडीबारे जान्न चाहन्छु। कृपया बताइदिनु होला,’ यो सन्देशमा स्टिमचले चार खेलाडीको जन्म समय, मिति र स्थान लेखेका छन्।

मे २८, २०२२ मा भएको जोर्डनसँगको खेलअघि पनि स्टिमच र ज्योतिषबीच कुराकानी भएको थियो। त्यसबेला ज्योतिषलाई उनले टिममा रहेका खेलाडीको सूची पठाएका थिए। सुझाव स्वरुप ज्योतिषले खेलाडीको नाम पठाएका थिए। ज्योतिषको सुझाव पाउनसाथ स्टिमचले सञ्चारमाध्यमसँग आफ्ना दुई खेलाडी घाइते रहेको बताएका थिए।

फेरि एकपटक कुराकानी हुँदा ज्योतिषले स्टिमचलाई एक आक्रामक मिडफिल्डरको प्रदर्शन खराब हुनसक्ने सुझाव दिएका थिए। त्यसपछि स्टिमचले अन्य तीन फरवार्डबारे सोधे। जवाफमा ज्योतिषले चारै खेलाडीको वरीयता बनाइदिए। जसमा ती आक्रामक मिडफिल्डर तेस्रो स्थानमा परे। आखिरमा स्टिमचले ती खेलाडीलाई दोस्रो हाफमा मात्र मैदान छिराए।

ज्योतिषकै सल्लाह बमोजिम खेलाडी छानिए पनि भारत जोर्डनसँग पराजित भएको थियो। यो खेलपछि स्टिमचले केही खेलाडीको व्यक्तिगत प्रदर्शनमाथि टिप्पणी गरेका थिए। शारीरिक रुपमा कमजोर खेलाडीलाई बलियो टिमविरुद्ध उतार्दा घाटा हुने बताउँदै भारतीय टिममा परिवर्तनको संकेत पनि गरेका थिए। स्टिमचको कुरामा ज्योतिषले सन्देशमार्फत सहमति जनाएका थिए।

कोलकातामा जुन ८ देखि १४ सम्म भएका एसियन कप छनोटका खेलका लागि भेटेरै छलफल गर्ने सहमति स्टिमच र ज्योतिषले गरेका थिए। यी दुई प्रत्येक खेलको दुई दिनअघि भेट्थे। जुन ८ मा कम्बोडियासँग खेल्नुअघि स्टिमचले ज्योतिषलाई आफूले छानेको पहिलो एघार र त्यसपछि रोजाइमा परेका खेलाडीको सूची ज्योतिषलाई बुझाएका थिए।

पहिलो खेलमा कम्बोडियालाई २-० ले पराजित गरेको भारतले दोस्रो खेलमा अफगानिस्तानलाई २-१ ले पन्छाउन निकै मेहनत गर्नुपरेको थियो। अफगानिस्तानसँगको खेल सकिएपछि ज्योतिषले स्टिमचलाई सन्देश पठाएर आफ्नो सल्लाहले काम गर्यो वा गरेन भनेर सोधेका थिए। जवाफमा स्टिमचले सल्लाहले काम गरेको र विस्तृत कुरा भेटेरै बताउने वाचा गरेका थिए।

अफगानिस्तानसँगको खेलको भोलिपल्ट दिउँसो स्टिमच र ज्योतिषबीच भेट भएको थियो। जहाँ उनीहरुले हङकङसँगको खेलबारे छलफल गरेका थिए। हङकङलाई ४-० ले पराजित गरेपछि भारतले एसियन कप २०२४ मा स्थान पक्का गरेको थियो।

प्रतिक्रिया लिन इन्डियन एक्सप्रेसले ज्योतिष शर्मालाई सम्पर्क गरेको तर उनले टेलिफोन तथा सन्देशको जवाफ नदिएको बताइएको छ। त्यसबेलाका एआर्ईएफएफ अध्यक्ष प्रफुल पटेलले भने ज्योतिषबारे आफूलाई केही थाहा नभएको जिकिर गरेका छन् । यद्यपि तत्कालिन महासचिव कुशल दासले भने ज्योतिष शर्मासँग स्टिमचलाई मे, २०२२ मा चिनजान गराइदिएको स्वीकार गरेको इन्डियन एक्सप्रेसको समाचारमा उल्लेख छ।

‘हो, मेरो ज्योतिष शर्मासँग भेट भएको थियो। उनी भारतका ठूला ठूला टेलिकम कम्पनी र बलिउड कलाकारका लागि काम गर्थे। मैले सोचेँ, उनले भारतीय टिमलाई पनि सहयोग गर्न सक्छन्। फेरि म र इगोर दुवैजना भारत एसियन कपमा छनोट नहोला कि भनेर चिन्तित थियौँ। त्यसकारण मैले इगोरलाई ज्योतिषसँग चिनजान गराइदिएँ, कुरा सुन्दा ठिक लागे सल्लाह लिन सुझाव दिएँ,’ दासले इन्डियन एक्सप्रेससँग भनेका छन्।

स्टिमचले पनि इन्डियन एक्सप्रेसलाई प्रतिक्रिया दिएका छन्। ‘मलाई भुपेश शर्मासँग चिनजान गराइएको सत्य हो। खेलकुदमा पनि ज्योतिष विद्या काम लाग्छ भनेर मलाई मनाइयो। कुरा यत्ति हो। तर उनलाई दिइएको तलबको आँकडा सुनेर म छक्क परेको थिएँ,’ स्टिमचले भने।

ज्योतिष शर्मालाई दुई महिनाका लागि १२ देखि १५ लाख तिरिएको दासले स्वीकार गरेका छन्। तर उनले स्टिमच र ज्योतिष शर्माबीच के-के विषयमा कुराकानी भयो भन्नेबारे चाहिँ आफूलाई थाहा नभएको दाबी गरेका छन्। ‘म एआईएफएफमा १२ वर्ष रहेँ। त्यसदौरान कुनै दिन पनि खेलाडी छनोटबारे कुरा गरिनँ,’ दासको भनाइ थियो।

पटेल गत वर्ष मात्र एआईएफएफको अध्यक्षबाट हटेका थिए। विवादको शृंखला चलेसँगै उनको बहिगर्मन भएको थियो। त्यहीबेला भारतीय फुटबल फिफाको प्रतिबन्धमा पनि परेको थियो। पटेल अध्यक्ष हुँदा करिब १० वर्ष महासचिव रहेका दासले भने राजीनामा दिएका थिए।

हाल कल्यान चोबे अध्यक्ष छन् भने शजी प्रभाकरण महासचिवको भूमिकामा छन्। यी दुवैले प्रशिक्षक स्टिमच र ज्योतिष शर्माबीचको कुराकानीबारे प्रतिक्रिया दिन मानेनन्।

प्रकाशित: २७ भदौ २०८० १२:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast