एमाले मुख्यालयमा नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नेको भीड [तस्बिरहरू]

दिपेश श्रेष्ठ २६ भदौ २०८० १३:५३ | Tuesday, September 12, 2023
एमाले मुख्यालयमा नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नेको भीड [तस्बिरहरू]

काठमाडौँ-  नेकपा एमालेको मुख्यालय च्यासलमा पार्टीका दिवंगत उपाध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली दिनेको भीड लागेको छ। ७० वर्षीय नेम्वाङको सोमबार राति हृदयाघातबाट निधन भएको थियो। त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।

उनको पार्थिव शरीर केही बेरअघि त्रिवि शिक्षण अस्पतालबाट च्यासल लगिएको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेम्वाङको शवमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेकी छन्। यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको झन्डा ओढाएर नेम्वाङलाई श्रद्धाञ्जली दिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरले पनि च्यासल पुगेर नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल र झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, सरकारका मन्त्रीहरू, उद्योगी व्यवसायी, पेसाकर्मी, एमालेका पदाधिकारीहरू, विभिन्न दलका नेताकार्यकर्ता र शुभचिन्तकहरू च्यासल पुगेका छन्।

यसैबीच एमाले सचिवालय बैठकले पार्टी संगठनमा रहेका अत्यन्तै महत्त्वपूर्ण योगदान गर्दै आएका नेम्वाङको योगदानलाई मूल्यांकन गर्दै विशेष शोक प्रस्ताव पारित गरेको छ। सचिवालयको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

नेम्वाङको निधनको शोकमा पार्टीले देशभरका पार्टी कार्यालयमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। यस्तै तीन दिनसम्म पार्टीको सबै खालको कार्यक्रम स्थगित गरिएको ज्ञवालीले बताए। सरकारले नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने भएको छ।

                

प्रकाशित: २६ भदौ २०८० १३:५३ | Tuesday, September 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast