कर्णालीमा ८०१ बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइने

हिमाल प्रेस २४ भदौ २०८० १९:५६ | Sunday, September 10, 2023
कर्णालीमा ८०१ बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइने

सुर्खेत- कर्णाली प्रदेशका आठ सय बालिकालाई पाठेघरको मुखको क्यान्सर रोगविरुद्धको खोप लगाइने भएको छ। भदौ २७ देखि ३० गतेसम्म सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा १४ वर्ष उमेरका ८०१ बालिकालाई सो खोप लगाइने भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले पाइलट कार्यक्रम मार्फत कर्णाली प्रदेशका लागि हाललाई प्रादेशिक अस्पताल सुर्खेतमा पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको खोप लगाउने कार्यक्रम अगाडि सारेको हो। महाशाखाले देशका अन्य ६ स्थानमा पनि सो खोप दिनेछ।

जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख गणेशभक्त गौतमका अनुसार यो खोप दुई मात्रामा लगाउनुपर्दछ। पहिलो मात्रा लगाएको ६ महिनापछि अर्को मात्र लगाइनेछ।

२०६५ भदौ ३० गतेदेखि २०६६ भदौ ३० गतेभित्र जन्मेका बालिकालाई मात्र अहिले सो खोप लगाइनेछ। विद्यालयमा कक्षा ६ मा अध्ययन गर्ने बालिका तथा विद्यालय बाहिरका १४ वर्ष उमेर समूहका बालिकालाई मात्र सो खोप लगाइने उनले जानकारी दिए।

प्रदेश अस्पतालमा खेर जानसक्नेसहित गरी ८४१ डोज खोप आएको छ। त्यसमध्ये ८०१ जना बालिकालाई खोप लगाइनेछ। लक्ष्य भने ३ हजार ७९३ जनालाई लगाउनुपर्ने हो। खोप केन्द्रमा दुई जना स्वास्थ्यकर्मी परिचालन हुनेछन्।

स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले कर्णालीमा पाठेघरको मुखको क्यान्सर लाग्ने दर बढ्दो रहेकोले नेपाल सरकारले पाइलट कार्यक्रमका लागि यो खोप कार्यक्रम ल्याएको बताए। कर्णालीमा ३० वर्षदेखि ४९ वर्ष उमेर समूहका ५४ जना महिलाको परीक्षण गर्दा ५ जनामा सो रोग देखापरेको छ।

स्वास्थ्य विभागका खोप फोकलपर्सन पार्थमणि न्यौपानेले निकै महँगो खोप भएकोले खोपलाई खेर जान नदिन सुझाव दिए। उनका अनुसार नेपाल सरकारले सो खोपका लागि प्रतिडोज ४ हजार ५५३ रुपैयाँ खर्च गरेको छ। उनले अहिले पाइलट कार्यक्रमअनुसार अहिले प्रदेश अस्पतालमा सो खोप लगाइने र आगामी वर्षदेखि नियमित खोप कार्यक्रममार्फत विद्यालयमा कक्षा ७ देखि १० सम्म अध्ययन गर्ने र विद्यालय बाहिर रहेका ११ वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई सो खोप लगाइने जानकारी दिए।

खोप लगाइसकेपछि खोप लगाएको ठाउँ दुख्ने, सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने, रिंगटा लाग्ने, ज्वरो आउने तथा एलर्जी हुनसक्ने असर भए पनि केही समयपछि सो समस्या आफै हट्ने भएकोले लक्षित वर्गको खोप लगाउनुपर्नेछ।

प्रकाशित: २४ भदौ २०८० १९:५६ | Sunday, September 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast