संकटबाटै शिखरतर्फ पाकिस्तानी फिल्मकर्मी

हिमाल प्रेस २३ भदौ २०८० १७:१८
4
SHARES
संकटबाटै शिखरतर्फ पाकिस्तानी फिल्मकर्मी फिल्म निर्माता सरमिन ओसेद चिनोय। उनी आफ्नो देशका लागि अस्कर अवार्ड जित्ने पहिलो पाकिस्तानी महिला हुन्।

पाकिस्तान गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ। त्यहाँका नागरिकलाई बिहानबेलुका छाक टार्न पनि हम्मेहम्मे परिरहेको विभिन्न तथ्यांकहरूले देखाएका छन्। यसरी अनेक अप्ठ्यारोबीच पाकिस्तानीहरू बाँचिरहेका छन्। बिग्रँदो अर्थतन्त्रको असर सबैतिर परेको छ। पाकिस्तानी फिल्म उद्योग पनि त्यसबाट बच्न सकेको छैन। तैपनि पाकिस्तानी फिल्मकर्मी संसारसामु आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन्।

चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) का कडा नीति र रूढिवादी समाजका विभिन्न अवरोधका कारण पाकिस्तानी फिल्मकर्मीले रचनात्मक स्वतन्त्रता पाएका छैनन्। काम गर्ने वातावरण राम्रो नभए पनि, मेहनतको कदर नभए पनि, कामको श्रेय र प्रशंसा नपाए पनि फिल्मकर्मी अझै आशावादी छन्। बिस्तारै पाकिस्तानी फिल्म उद्योगले उचाइ लिइरहेको उनीहरू बताउँछन्।

सन् २०१२ फिल्म निर्माता सरमिन ओसेद चिनोयको फिल्म ‘सेभिङ फेस’ले अस्कर अवार्डमा सर्वोत्कृष्ट वृत्तचित्रको अवार्ड जित्यो। सरमिन आफ्नो देशका लागि अवार्ड जित्ने पहिलो पाकिस्तानी महिला हुन्। वृत्तचित्र पाकिस्तानका एसिड आक्रमण पीडितमाथि आधारित थियो।

चार वर्षपछि सन् २०१६ मा ‘अनर किलिङ’ मा बनेको फिल्म ‘ए गर्ल इन द रिभर : द प्राइस अफ फरगिभनेस’ अस्कर पाउने दोस्रो फिल्म बन्यो। जसमा १८ वर्षीया युवतीको जीवनलाई पछ्याइएको छ। ती युवती अनर किलिङबाट बाँच्न सफल भएकी छन्।

पाकिस्तानलगायत केही मुलुकमा आफ्नो धार्मिक, सामाजिक र पारिवारिक मूल्यमान्यताविपरीत जाने महिलालाई परिवारका सदस्यले ज्यान लिने गरेका छन्। जसलाई ‘अनर किलिङ’ भनिन्छ। अर्थात्, ‘पारिवारिक इज्जतका खातिर गरिने हत्या’। त्यसमाथि बनेको फिल्म हो, ‘ए गर्ल इन द रिभर : द प्राइस अफ फरगिभनेस’। यो फिल्म पनि सरमिनले बनाएकी हुन्। अहिले उनी सन् २०२५ मा आउने फिल्म ‘स्टार वार्स’ को निर्देशनमा व्यस्त छिन्।

युवा फिल्म निर्माता आसिम अब्बसीको फिल्म ‘केक’ र वेब सिरिज ‘चुडैल्स’ ले पनि समीक्षकबाट खूब प्रशंसा बटुल्यो। अहिले उनी ‘द फेमस फाइभ’ को निर्देशनमा व्यस्त छन्।

पाकिस्तानीहरूले अन्तर्राष्ट्रिय स्तरमा उपलब्धि हात पार्न थालेपछि स्थानीय आलोचक र विश्लेषकको समूहमा नयाँ धारणा बनिरहेको छ। पाकिस्तानी फिल्महरूले संसारभरि पहिचान पाउँदैछन्। तैपनि एउटा प्रश्न अझै बाँकी रहन्छ, ‘यी उपलब्धिहरूले पाकिस्तानको फिल्म निर्माण उद्योगको अवस्थालाई स्पष्ट पार्छन् त?’ पाकिस्तानी फिल्म उद्योग किन देशभित्रै आफ्ना आवश्यकता पूरा गर्न यति संघर्ष गरिरहेको छ?

लामो समयदेखि फिल्मकर्मीले विभिन्न कारणले पाकिस्तान सरकारको नयाँ मापदण्डअनुसार काम गर्नुपरेको छ। ‘तर बिस्तारै परिस्थिति बदलिँदैछन्,’ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दा सरमिनले भनेकी छन्, ‘पाकिस्तानी फिल्मकर्मी संसारलाई आफ्नो कला प्रदर्शन गर्न चाहन्छन्। आफ्नो क्षमता देखाउन चाहन्छन्।’

यी कुरा निर्देशकमात्र नभई अभिनेता-अभिनेत्रीमा पनि लागू भइरहेको सरमिन बताउँछिन्। ‘पाकिस्तानी कलाकार विश्व सिनेमालाई आफ्नो कला प्रदर्शन गर्न चाहन्छन्,’ उनी भन्छिन्, ‘आफ्नो सीप देखाउन चाहन्छन्। त्यसमा युवा कलाकार लागिपरेका छन्।’

सरमिनका अनुसार पाकिस्तानमा फिल्म बनाउन गाह्रो छ। ‘त्यहाँ हामीले कुनै आर्थिक सहायता पाउँदैनौँ,’ उनी भन्छिन्, ‘सरकारी संरक्षण पाउँदैनौँ। सेन्सरसिप छ। आफूले चाहेको सुन्दर र महत्त्वपूर्ण कथा भन्न त्यहाँ गाह्रो छ।’

पाकिस्तानमा अवसर नपाए ती कथा भन्न देशबाहिर जानुपर्ने उनले बताएकी छन्। ‘पाकिस्तानमा फिल्मकर्मीले आफ्नो कथा भन्ने मौका पाएनन् भने उनीहरू पक्कै पनि देशबाहिर ती कथा भन्नेछन्,’ सरमिन भन्छिन्, ‘जोयल्यान्ड, जिन्दगी तमासा फिल्मबारे देशमा कति विवाद भयो। फिल्मकर्मीले सम्मान पाउनुपर्छ। उनीहरूको सीपको प्रशंसा गर्नुपर्छ।’

केही पाकिस्तानीले संसारका विभिन्न फिल्मको निर्देशन गरिरहेको देख्दा आफूलाई खुसी लागेको सरमिनको भनाइ छ। पाकिस्तानी फिल्म ‘द लिजेन्ड अफ मौला जट’ ले संसारभरको बक्स अफिसमा राम्रो कारोबार गर्‍यो। विश्वमा पहिचान दिलाउन सक्ने यस्ता फिल्म अझै धेरै बन्नुपर्नेमा पाकिस्तानी फिल्मकर्मी जोड दिइरहेका छन्। त्यसका लागि आफूहरूले सरकारबाट आर्थिक सहायता र वातावरण हुनुपर्ने उनीहरू बताउँछन्।

पाकिस्तानी सिनेमाले लोकप्रियता पाइरहँदा त्यसको प्रभाव फिल्म उद्योगमा पर्नेमा फिल्मकर्मी आशावादी छन्। ‘त्यसो हुँदा धेरैभन्दा धेरै फिल्म निर्माता उत्साहित हुनेछन्,’ फिल्मकर्मी सरमिन भन्छिन्, ‘उनीहरूले आफ्नो बाटो आफैँ बनाउन सक्नेछन्।’

बलिउड फिल्ममा प्रतिबन्ध

पाकिस्तानजस्तै त्यहाँको फिल्म क्षेत्रको अवस्था पनि खासै गतिलो नभएको फिल्मकर्मीहरूको भनाइ छ। कोरोना महामारीले उद्योगको ढाडै भाँचेको छ। त्यसमाथि पाकिस्तानमा भारतीय फिल्म प्रदर्शनमा प्रतिबन्ध छ। त्यसको असर पनि पाकिस्तानी फिल्म उद्योगमा देखिएको एट्रियम सिनेप्लेक्सका मालिक र फिल्म वितरक नदीम माण्डवीवाला बताउँछन्।

‘सुन्दा नरमाइलो लाग्ला तर पछिल्ला केही वर्षमा बलिउड र हलिउड फिल्मकै कारण पाकिस्तानको सिनेमा उद्योगमा वृद्धि भएको हो,’ उनी भन्छन्, ‘२०२४ मा ठूला ब्यानरका पाकिस्तानी फिल्म प्रदर्शनमा आउने छैनन्। बलिउड फिल्ममा पनि प्रतिबन्ध छ। कारोबार हलिउड फिल्ममा निर्भर भएको छ।’

सन् २०१६ मा भारत प्रशासित जम्मु-कश्मीरको उरी सहर नजिकैको भारतीय सेनाको ब्रिगेड मुख्यालयमा जैस-ए-मोहम्मद विद्रोहीले आक्रमण गर्‍यो। जसमा १९ जना भारतीय सैनिक मारिएका थिए।

यसअघि सीमामा जेजस्तो तनाव भए पनि गीतसंगीत र फिल्मका माध्यमले यी दुई देशले एकअर्कासँग सांस्कृतिक भावना आदानप्रदान गर्दै आएका थिए। पाकिस्तानी अभिनेता-अभिनेत्रीले हिन्दी फिल्ममा अभिनय गर्थे भने गायकगायिकाले गीत गाउँथे। पाकिस्तानी कलाकारले सीमापार आफ्नो सिर्जना पस्किन्थे। तर उरी आक्रमणपछि भारत सरकारले पाकिस्तानी कलाकारलाई भारतमा प्रतिबन्ध लगायो। त्यस्तै पाकिस्तानले भारतीय फिल्मलाई प्रतिबन्ध लगायो।

बलिउड फिल्ममा प्रतिबन्ध लागे पाकिस्तानको फिल्म उद्योगले ७० प्रतिशत घाटा भोग्ने धेरैको अनुमान थियो। उद्योगीहरूको त्यो डर सत्य साबित भयो। कोरोना महामारीले त्यो घाटालाई झनै बढाइदिएको माण्डवीवाला बताउँछन्।

‘द लिजेन्ड अफ मौला जट’ का अभिनेता फवाद खानले पाकिस्तानी सिनेमाको वर्तमान र भविष्यबारे कुरा गर्दा हलिउड वा बलिउडका ठूला बजेटका फिल्मसँग पाकिस्तानी फिल्मको तुलना गर्न नसकिने बताएका थिए। ‘देशको सिनेमाप्रति आशावादी छु,’ उनले भनेका थिए, ‘फिल्ममा लगानी बढे उद्योग आफैँ फराकिलो हुन्छ।’

-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast