मानिस हेर्न, जान्न, बुझ्न र अनुभूत गर्ने उद्देश्यले भ्रमण गर्न मन पराउने एक जिज्ञासु प्राणी हो। यसको निमित्त ऊ सदैव एक ठाउँबाट अर्को ठाउँ यात्रा गर्ने चाहना राख्दछ। कुनै बेला आहारा, बसोबास र प्राकृतिक एक जैविक आक्रमणबाट सुरक्षाका निमित्त मानवले पृथ्वीको एक कुनाबाट अर्को कुनामा गरेको यात्रा मानव सभ्यताको सुरुवात बिन्दु थियो। यस क्रममा विभिन्न सभ्यताको स्थापना, विनाश र पुनरोदय हुन पनि पुग्यो।
आज मानव पाइताला पृथ्वीका उच्चतम बिन्दु सगरमाथा होस् वा अन्टार्टिका होस् पृथ्वीका सबैजसो स्थानमा पुगेर अन्तरिक्षमा चन्द्रमामा पनि टेकिसकेको छ। पाइताला मंगल ग्रह वा अन्य ग्रहमा टेकाउन र बस्ती बसाउन मानिसहरू उद्यत छन्। मानिस यस्तो प्राणी हो जो आफू र आफ्नो परिवेशभन्दा दूर रहेको भौगोलिक, सामाजिक, ऎतिहासिक, सांस्कृतिक अवस्थिति र जनजीवनको फरकपन, नयाँपन वा विशिष्ट पहिचानको अवलोकन र भ्रमण गर्न लालायित रहन्छ।
जीवन पद्धति वा सभ्यताको विविधताले एकआपसका विषयमा जान्ने उत्कट चाहना र आकर्षणले मानिसलाई एक ठाउँबाट अर्को ठाउँको यात्रा गर्न उत्प्रेरित गर्दो रहेछ। आज विभिन्न उदेश्य परिपूर्तिका लागि मानिस विश्वका कुनाकुनामा पुगेको छ। हिजो नेपालको कुनै भागबाट नेपालकै अर्को ठाउँमा चालिएका पाइला आज अस्ट्रेलिया, अमेरिका र युरोपतर्फको यात्रामा देखिन्छन। आज कुनै अमुक ठाउँमा पुगेको मानिसको उसको पुस्ता त्यहाँबाट पनि कतै अन्य सर्ने क्रम नरहला भन्न सकिन्न। मानिसको नियति नै नयाँपनको खोजमा हिँड्नुरहेछ भन्ने लाग्दछ इतिहास र वर्तमान हेर्दा।
युरोप र एसियामा बनेका विभिन्न सभ्यताको इतिहास हेरौँ वा कोलम्बसले पहिलो पाइला टेकेको अमेरिकी भूमि भनौँ सबै एक वा एक समूह मानिसको अमिट चाहनाद्वारा सिर्जित यात्राको प्रतिफल हो। नयाँ स्थानप्रतिको आकर्षण र नयाँ ढंगबाट जिउने लालसाले मानिसलाई अन्वेषक त बनायो नै, स्थानीय रीतिरिवाज र जीवनशैलीमा भने आमूल परिवर्तन ल्याइदियो। अंग्रेज व्यापारीहरूको कच्चा पदार्थको खोजी र व्यापारको बढोत्तरीको निमित्त सुरु भएको यात्राले अफ्रिका र एसियामा उसको एकछत्र राज सयौँ वर्षसम्म कायम रह्यो। समयक्रममा यात्राको नाम र स्वरूप फेरियो तर सार भने उही रह्यो।
ज्ञान, विज्ञान, खोज, आफू र आफ्नो परिवेशभन्दा फरकप्रतिको आकर्षण, व्यापार विस्तारसँगसँगै आफ्नो प्रभुत्वको विस्तार, शक्तिशालीले कमजोरमाथि कायम गर्ने हैकमको नवीन परिवेशको विकास आदिको निमित्त गरिने यात्रा अनि अन्य जनसाधारणले ज्ञान, जिज्ञासा वा मनोरञ्जन परिपूर्तिको निमित्त गरिने यात्राको अन्तर्य अवश्य नै फरक हुन्छ। जिज्ञासु प्राणी मानिस पृथ्वी मात्र होइन अन्तरिक्ष पनि भ्रमण गर्न सक्ने भएको छ। यसर्थ यात्राको अर्थ, सीमा र उद्देश्य समयअनुसार विस्तारित र परिवर्तित हुँदै जाने रहेछ।
दक्षिण एसियास्थित मनोरम हिमशृंखलाको काखमा अवस्थित नेपाल युगौँसम्म बाह्य संसार खास गरी आफ्ना भूसीमा जोडिएका मुलुक बाहेक समुद्रपार यात्रामा जाने कसैमा न सोच, न आवश्यकता र न सायद क्षमता थियो। बाह्य संसारबाट अलग यो भूमिका मानिस आफ्नै संसारमा रमाएका थिए। चीनबाट सुयेन चांग वा फायियान नेपाल भ्रमणमा आएको विवरण होस् अथवा भनौँ राजकुमार सिद्वार्थको महलबाट महापरिनिर्वाणसम्मको यात्रा भनौँ वा भारतबाट सम्राट् अशोकको नेपाल भ्रमण होस् सबै नै इतिहासमा अंकित भएका महत्त्वपूर्ण यात्रा हुन्।
नेपाल राष्ट्रको निर्माण पहाडमा अवस्थित एक सानो राज्य गोरखाका एक युवा राजाको कान्तिपुरको यात्रापछि पलाएको महत्त्वाकांक्षाबाट सुरु भएको थियो। मार्कोपोलोको एसियाली रेसममार्गको यात्रा (सन् १२७१) होस् वा कोलम्बसले पहिला पाइला टेकेको मानिने आजको संयुक्त राज्य अमेरिका (सन् १४९२) पनि मानिसको खोजपूर्ण यात्राको परिणति थियो। युरोपबाट भारतको समुद्री बाटो पत्ता लगाउने भास्कोडिगामा (सन् १४९८) होस् वा अस्ट्रेलिया न्युजिल्यान्ड फेला पार्ने जेम्स कुक (सन् १७७०) तिनको उद्देश्य नयाँ ठाउँको खोज र यात्राको चाहनाले नै त्यो सम्भव भएको थियो। रोजगारी, शिक्षा अनि घुमघामका लागि हिजो पनि मानिस आफ्नो घरसंसार छोडेर हिँड्थे भने त्यो क्रमले आज द्रुतता पाएको मात्र हो। प्रविधि र साधनको सहज विकास भइनसकेकाले यो क्रम आफ्नै परिवेशवरिपरि सीमित थियो तर प्रविधिको विकाससँगै सहज हुँदै आयो।
केही वर्षअघिसम्म पनि सामान्य नेपालीको निमित्त विदेश भ्रमण वा यात्रा सपना मात्र थिएन; त्यो असम्भवजस्तो थियो। प्रथम तथा दोस्रो विश्वयुद्धले नेपालीलाई अन्जान पराई भूमिमा अरुले चलाएको युद्धमा होमिने बाध्यतामा पारे पनि आमनेपालीको विश्व यात्राको सुरुवात भने त्यही बिन्दुबाट सुरु भएको भन्दा फरक नपर्ला।
औपचारिक रूपमा पहिलो राणा प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाको बेलायत र फ्रान्सको यात्रा (सन् १८५०) नै नेपालको पहिलो बाह्य वा भनौँ युरोपयात्राको औपचारिक सुरुवात थियो। यसरी नै उनका उत्तराधिकारी चन्द्रशमशेरको युरोपको यात्रा (सन् १९०६) पनि नेपालको इतिहासमा अंकित छ। रोजगारी, शिक्षा र अवसरहरूको खोजीमा खाडी राष्ट्रलगायत युरोप, अमेरिका, अस्ट्रेलिया आदि देशमा नेपालीको संख्या बढेसँगै त्यहाँ यात्रा गर्ने नेपाली युवाको विमानस्थलमा भीड देखिनु अनौठो हुन छोडिसकेको छ।
विदेशयात्रा अब नेपालीका निमित्त एक सामान्य विषय बन्दै गइसकेको आभास हुन्छ। यात्रा गर्नेहरूले यात्रामा देखेका, भोगेका अनि अनुभूत गरेका नयाँ ठाउँ अनि परिवेशको जनजीवन, संस्कृति, बोलीचाली, खानपिन अनि त्यहाँको सभ्यता, संस्कृति, धर्म, मानिस आनीबानी आदिका बारेमा अभिलिखित गरिदिँदा त्यो इतिहास बन्न जान्छ। विगतमा लेखिएका यस्ता कृति आजका पुस्ताले यात्रा साहित्य (नियात्रा) पढी त्यतिबेलाको परिवेशसँग परिचित हुन अवसर पाएका छन्।
नेपाली साहित्यमा नियात्रा विधामा कलम चलाउने अनेकौँ सर्जक छन् र तिनले यो विधालाई समृद्ध बनाउँदै लगेका पनि छन्। नेपालमा पहिलो नियात्राका रूपमा ‘राजा गगनिराजको यात्रा’ (वि.सं १५५०) नामक कृतिलाई मानिएको छ। यसरी नियात्राकारहरूले पाठकहरूलाई आफू नपुगेको वा पुगेका ठाउँका विषयमा लेखकको आँखाबाट देखिएको संसार चिहाउन सबैलाई सहज बनाइदिएका छन्।
यसै सन्दर्भमा हालै मैले पढ्न पाएँ- नेपालका सफल एवं विख्यात पर्यटन व्यवसायी श्याममोहन श्रेष्ठ लिखित नेपालदेखि फ्रान्स र पुन: लगभग उही बाटो हुँदै नेपालसम्मको फिर्ती यात्राको रोमाञ्चक विवरणको ‘काठमाडौँ-पेरिस -काठमाडौँ बस र रेल यात्रा : साहस र आँटले डोर्याएको जिन्दगी’ नामक पुस्तक। यस कृतिले एक नेपाली युवाको साहसको कथा सरल रूपमा बताएको छ जुन एकपटक पढ्न सुरु गरेपछि अन्त्य नहुन्जेल छोड्न मन लाग्दैन। यो पुस्तक यात्रा विवरण वा नियात्रा वा संस्मरण मात्र होइन अपितु एक मध्यमवर्गीय परिवारका एक नेपाली युवाको जीवनका उतारचढाव, सफलताअसफलता र संघर्षको एक उत्प्रेरक आत्मकथा पनि हो।
राजधानी काठमाडौँ सहरको मुटु त्यौड टोलमा २००४ सालमा जन्मिएका श्याममोहन श्रेष्ठको बुवाको मृत्यु ५६ वर्षमा (२०२८ सालमा) भयो। त्यसपछि सम्पूर्ण परिवारको गहन जिम्मेवारी २४ वर्षीय युवकको काँधमा आइपरेको थियो। बुवा सरकारी जागिरे भए पनि आमातर्फको परिवार व्यापारिक वर्ग भएकाले श्याममा सानैदेखि व्यापार व्यवसायमा रुचि थियो।
बाल्यकालमा भीमफेदीमा आफ्ना बाजेबज्यैकहाँ हुर्किएका श्याममोहन त्यहाँ रहँदा वाम विचारधाराप्रति आकर्षण भएको र विभिन्न सांस्कृतिक कार्यक्रम तथा नाटकमा सहभागी हुँदा मानिसको भीड अगाडि बोल्न धक नमान्ने कुराको विकास हुन गएकाले उनको व्यक्तित्व विकासमा त्यसले सकारात्मक प्रभाव पार्दछ। त्यहाँ रहेको पुस्तकालयमा रेखदेख गर्ने जिम्मेवारी लिन र सामाजिक कार्यमा लाग्दै बाहिरी किताब पत्रपत्रिका पढ्ने बानीले विश्वका घटना र स्थानबारे थप जिज्ञासु बनाउँछ। नेपालमा २००७ मा राणा शासन समाप्त भएर प्रजातन्त्र स्थापना हुँदा श्याममोहन तीन वर्षका बालक मात्र रहेछन्। यसर्थ राजनीतिक खुलापनमा हुर्कन पाएका श्याममा थप नयाँ सोच, जोस र आत्मविश्वास विकसित हुँदै जान्छ।
२०१८ सालमा दरबार हाइस्कुलमा पढाइ सुरु गरेका उनी नेपालमा भर्खर सुरु भएको पञ्चायती व्यवस्थाको साक्षी भएर हुर्कँदै गए। स्कुलमा पढ्दा पनि घुम्ने सोखले छोडेन र स्कुल गयल भएर पनि साझा बस चढ्दै सहर घुम्ने सोख थियो उनको। केटाकेटीमा आफ्ना पिताबाट प्रथम/द्वितीय विश्वयुद्ध अनि युरोपका देशमध्ये फ्रान्सको नाम सुन्दा उनलाई फ्रान्स भन्ने कस्तो मुलुक रहेछ एकपटक पुग्न पाए हुन्थ्यो भन्ने अन्तर्मनमा छाप गढेको रहेछ।
त्यही चाहनाले दरबार स्कुलमा रहेको विश्वभाषा कक्षामा फ्रेन्च भाषाको अध्ययन सुरु गरे। एकातिर रातभरको क्यासिनोको जागिर, दिउँसो कलेज गर्दा पढाइ राम्रो हुने कुरा थिएन। केटाकेटी हुँदा सुनेको नाम “फ्रान्स” कालान्तरमा उनको जीवनको एक महत्त्वपूर्ण पक्ष हुन्छ भन्ने कुरा त्यतिबेला कल्पना बाहिरको विषय थियो। फ्रान्सबाट सुरु भएको विश्वयात्राले श्यामलाई विश्वका विभिन्न देश घुम्ने अवसर उपलब्ध गरायो भने ‘फ्रान्सदेखि फ्रान्ससम्म’ जस्तो लाग्ने उनको जीवन फ्रान्सको वरिपरि घुमिरहेको देख्दा त्यो पनि जीवनको एक संयोग नै जस्तो लाग्दछ। नेपालको पहिलो क्यासिनोमा जागिर भएको र राम्रो कमाइ पनि भएको मानिस एकाएक सबै छोडेर युरोप खासगरी फ्रान्स भ्रमणमा जानुमा काठमाडौँमा भएको फ्रान्सेली पर्यटकहरूसँगको भेटघाट र उनीहरूसँगको मित्रता एकअर्को कारण हुनपुग्यो।
मानिसको जीवनको मोड कुन बेला कहाँ मोडिन्छ कसैलाई पनि थाहा हुँदैन भनेको यही होला। २०२५ सालमा खुलेको नेपालको पहिलो क्यासिनोमा कार्यरत उनी आफ्नो अमेरिका गएको एक नेपाली साथीले ‘अमेरिका आऊ’ भनेको आधारमा पहिला फ्रान्स जाने र त्यताबाट अमेरिका जाने सोच बनाउन थाल्छन्। क्यासिनोको काम त्यागेर उनी अन्तत: लगभग २३ वर्षको उमेरमा सन् १९७० मार्च २३ का दिन जेजस्तो परिस्थितिको सामना गरेर भए पनि फ्रान्ससम्म एक्लै जाने हिम्मतका साथ यात्रा सुरु गर्छन् ।
के गर्न फ्रान्स जाने, किन जाने केही टुंगो नभएको एक नेपाली नौजवानले त्यतिबेला सजिलै भिसा पाएको विषय र वर्तमानमा नेपालीलाई विकसित राष्ट्रबाट भिसा पाउन पर्ने कठिनाइ दाँज्दा नेपाल राष्ट्रले विगतमा आर्जन गरेको प्रतिष्ठा र विश्वसनीयता कतै गुमाउँदै गएको त होइन भन्ने लाग्दछ। कुनै बेला जर्मनीलगायतका युरोपेली देशमा नेपालीलाई ४५ दिनसम्मको आगमन भिसा पाउने सुविधा थियो भन्दा आजको पुस्ताले सायद विश्वास पनि गर्दैन होला किनकि त्यस्तो सुविधा अब केही नगण्य देशमा मात्र बाँकी छ। देशको राजनीतिक, आर्थिक र सामाजिक सम्पन्नता र स्थिरताले मात्र विश्वमा नेपाल र नेपालीको विश्वसनीयता र प्रतिष्ठा कायम हुने रहेछ। यसरी सहजै भिसा पाएका श्याम स्थल मार्गबाटै फ्रान्स जान चाहन्थे तर काठमाडौँबाट पटनासम्म हवाईजहाज र त्यसपछि ट्रेनबाट दिल्ली हुँदै पाकिस्तान, अफगानिस्तान, इरान र टर्की हुँदै युरोप पुग्ने अनि त्यहाँबाट फ्रान्स पुग्ने उनको योजना बन्न जान्छ।
दिल्लीबाट हवाईजहाजमा अफगानिस्तानको काबुल जानु श्रेयस्कर हुने सुझावपछि हवाई टिकट किन्ने क्रममा एक जर्मन वृद्धले १० डलर थपेर सहयोग गरे भनेर दंग परेका श्याम काबुल पुगेपछि झन्डैझन्डै उसको फन्दामा परेको विषयले उनलाई जीवनका यस्ता अँध्यारा पक्षहरूप्रति सचेत गराउँछ। कुनै मान्छेले सहयोग गर्छ भने – त्यो पनि विदेशमा – किन गर्न लाग्यो भन्ने सोचेर मात्र त्यस्तो सहयोग लिनुपर्ने रहेछ भन्ने राम्रै पाठ पढ्छन्। १९७० को काबुल र त्यहाँको जनजीवनको वर्णनले त्यतिबेलाको विकसित, सभ्य र आधुनिक समाजको झल्को दिन्छ जुन आज पूर्ण रूपमा विपरीत दिशामा त गएको होइन भन्ने आभास हुन्छ। काबुलबाट हेरात, कान्दाहार हुँदै इरानको करिब १ हजार किलोमिटरको बसयात्रा गर्दै उनी पुग्छन् इरानको राजधानी तेहरान। परिवर्तित राजनीतिक अवस्थाले गर्दा आज यति सहज रुपमा इरान भ्रमणमा जाने कल्पना पनि गर्न सकिँदैन।
४ रात ५ दिनको बसबाट इरानबाट टर्कीसम्मको यात्रा वर्णन पनि कम रोचक छैन। नेपाल जस्तो नामै नसुनेको देशको एक्लो युवक साहसका साथ यात्रामा निस्केको देख्दा सबैलाई आश्चर्य लाग्नु स्वाभाविक हो। अन्कारा हुँदै युरोप र एसिया जोड्ने इस्तानबुल पुगेका उनी त्यहाको प्राकृतिक र ऎतिहासिक रुपमा समृद्ध सहर देखेर मोहित हुन्छन्। त्यहीँ अकस्मात् भेटिएका एक अधबैँसे महिला र उनको १८-२० वर्षको छोरीसँगको चिनाजानीले उनको जीवनमा नौलो अवस्था सिर्जना गरिदिन्छ। भाषा नबुझे पनि इसाराबाट पनि मानिसले अन्तरक्रिया गर्दा मित्रता हुने रहेछ भन्ने उदाहरण थियो त्यो।
आमाछोरीसँगको घनिष्ठता केही दिनमै बढ्दै गएर ‘मेरो छोरीसँग बिहे गर’ भन्नेसम्म पुगेको प्रसंगले युवा श्यामको मन मस्तिष्क हल्लाउने घटना हुन पुग्दछ यो जम्काभेट। इसाराले मिलाएको सन्जोग जीवनको एउटा अर्को पाठ बन्न जान्छ। इस्तानबुलको ऎतिहासिक र सांस्कृतिक स्थानहरूको केही दिनको भ्रमण पश्चात उनी त्यहाँबाट बल्गेरियाको राजधानी सोफिया हुँदै बेलग्रेडतर्फ लाग्छन्। बेलग्रेडबाट इटालीको मिलानसम्म रेलमा आएपछि मिलानमा लेखकको जम्काभेट हुन्छ एक मारिया नामकी युवतीसँग र उनैसँग उनी मज्जाले घुमघाम गर्छन्। मारियासँगको त्यो जम्काभेटले सिर्जना गरेको मित्रता जीवनपर्यन्त रहेको कुरा कालान्तरमा मारिया पतिसहित नेपाल आएर गरेको भेटघाटको प्रसंग मनमोहक लाग्छ।
मिलानबाट फ्रान्सको मार्सेको रेलयात्रा र रेलबाट देखिएका स्थान र प्रकृतिको वर्णन अनि मार्से पुगेपछि ५ वर्षपहिले नेपालमा भेटिएका फ्रेन्च साथी जाँ मिसेल र उनको परिवारसँगको भेट विस्मृत गर्ने खालको छ। मार्से पुगेपछि भने उनको फ्रान्स पाइला टेक्ने सपना पूरा हुन जान्छ।
विभिन्न देश र विविध संस्कृतिका मानिसहररूसँग घुलमिल हुन सक्ने, हाँसखेल र मित्रता गाँस्न सक्ने विलक्षण क्षमताले श्यामलाई यात्राका क्रममा असहज हुँदा सबैबाट मिल्ने सहयोग र समर्थनले राम्रो स्वभावले राम्रो प्रतिक्रिया पाइने पाठ पढाउँछ। अचेलको भाषामा भनिने ‘नेट वर्किङ’ जस्तो १९७० को दशकमा पत्राचारका माध्यमबाट विदेशीहरूसँग राखिएको सम्पर्क र सम्बन्ध निकै लोभलाग्दो देखिन्छ भने समस्या पर्दा त्यही सम्पर्कले काम गरेको पनि देखिन्छ। अन्जान ठाउँमा कोहीबाट पाउने सानो सहयोग र सहारा पनि महत्त्वपूर्ण र अविस्मरणीय हुन्छ।
नेपालको क्यासिनोमा कार्यरत हुँदाका मित्र हुन् वा नेपाल भ्रमणमा आएका पर्यटकसँग नै पनि कायम राख्न सकेको मित्रताको निरन्तरताले दिएको विश्वास र भरोसमा स्थल मार्ग हुँदै युरोपयात्रा गर्ने साहस उनमा जुटेको आभास हुन्छ। तर सबैसँग सहजै घुलमिल हुनसक्ने बानी र अरूको कुरामा तत्काल विश्वास गरिहाल्ने प्रवृत्तिले कतिपय अवस्थामा उनलाई जटिल परिस्थितिमा पारेको अनेक उदाहरण पनि वर्णित छन् पुस्तकमा।
श्यामको सही समयमा सही काम गर्ने बानी उनको अर्को उत्कृष्ट गुण हुन पुग्छ। तोकिएको समयमा यात्रामा हिँड्न अरूलाई समेत सचेत गराउने उनको समयप्रतिको पाबन्दी देखेर सहयात्रीहरूले “मिस्टर अलार्म’ नाम पनि राखिदिएका हुन्छन्। समयको पदचाप बुझ्ने र यसको सम्मान गर्नसक्ने मान्छे जीवनमा सफल हुन्छ। फ्रान्स जाने क्रममा यति धेरै प्लेन, बस वा ट्रेन चढ्ने समयमा कुनै समयमा पनि ढिलाइ नहुनु बरु छिटो पुग्नु उनको विशेषता देखिन्छ। सामूहिक यात्राका क्रममा आफ्नो कारणले अरुलाई असुविधा नपुगोस् भनेर सचेत रहने श्यामप्रति सहयात्रीहरूले सहयोगी भावना र सम्मान देखाउँदा स्वाभाविक लाग्दछ।
मार्सेमा केही हप्ता मित्र जाँ मिसेलको परिवारसँग बिताएपछि उनी पेरिस लाग्छन् र एकाएक हामीलाई पेरिसको त्यो भव्यतामा पुर्याइदिन्छन्। मिसेलकी हजुरआमासँग केही दिनको बसाइपछि युथ होस्टेलमा दिनहरू बिताउँदै गर्छन्, नयाँ साथीहरू बनाउछन्, ऎतिहासिक र पर्यटकीय स्थानहरू घुम्छन्। पूर्वी सभ्यतामा जन्मिएका हुर्किएका श्याम एकैपटक पश्चिमा संस्कृति र व्यवहार भोग्न पुग्दा अनेक सांस्कृतिक झट्का पाउँछन् र हामीलाई त्यसको रसास्वादन गराउँछन। युरोपको खासगरी फ्रान्सको जनजीवन, उनीहरूको जिउने तौरतरिका अनि संस्कृति नजिकबाट बुझ्न यो पुस्तकले सघाउँछ नै, साथै यो पुस्तक फ्रान्सको त्यो कालखण्डको जीवित इतिहास पनि बन्न पुगेको छ। यसमा युवा अवस्थामा लेखकले अत्मानुभूति गरेका विषयले पुस्तक भरिपूर्ण छ।
विश्वमा नै पेरिस इतिहास, कला, वास्तुकला, सभ्यता, प्रेम र सुन्दरताको प्रतीक मानिन्छ। सबैलाई जीवनमा एक पटक पेरिस पुग्ने चाहना हुन्छ। ‘उज्ज्यालोको सहर’ नामले परिचित पेरिसको वर्णन गर्दै लेखक हामीलाई पेरिसका प्रमुख स्थान नोत्रेदाम क्याथेड्रल, आइफल टावर, मोमात्रे दादो र सान्क्रे कर आदिको भ्रमण गराउँछन् र तिनको सुन्दरता, ऎतिहासिक तथ्य आदिबारे परिचित गराउँछन्। लेखकले साँझ लिझ, आर्क दे त्रुम्फ, इन्भ्यालिड्स क्वार्टर, लुभ्र कला संग्रहालय आदिका विषयमा भने लेखेको नपाइँदा अचम्म लाग्दछ। त्यतिबेला लेखक सायद ती स्थानमा गएनन् वा लेख्न छुट भएको हो त्यो भने खुलेको छैन। पेरिसमा निकै समय बिताएका लेखक -जो घुम्न सोखिन छन् – उनले भर्साइ दरबारको भ्रमण र यसको कला अनि अद्भुत मानिने त्यहाँको बगैँचाबारे उल्लेख गरेको नदेख्दा केही छुटेको जस्तो आभास हुन्छ।
तीन महिनाको भिसा भएकाले फ्रान्समा बस्ने, घुम्ने र पछि अमेरिका नेपाली साथीकहाँ जाने उनको योजना र सपना फ्रान्समा बस्दै गर्दा भएका विभिन्न घटनाले भंग भएको एक युवाको त्यसबेलाको मनस्थिति बुझ्न भने पुस्तक नै पढ्दा थप रोचक, ज्ञानवर्धक र श्रेयस्कर हुन्छ। फ्रान्समा अन्तिम भिसा थप पनि सकिएपछि अमेरिका जाने आफ्नो उत्कट चाहना सधैँको लागि त्याग्दै उनी नेपाल फर्किने यात्राको थालनी गर्छन् र अगस्ट १८, १९७० का दिन उनी नेपाल फर्किन क्रममा पेरिसबाट स्विट्जरल्यान्डको जुरिख पुग्छन्। जुरिखमा कार्यरत एक नेपालीको सहयोगमा केही दिन घुमेपछि सस्तो तवरमा स्थलमार्गबाट नेपाल जाने योजना बनाइरहेका दुई अमेरिकी युवाका साथ ट्रेनबाट उनी इटालीको भेनिस पुग्छन्।
भेनिस समुद्रमाथि बनेको नहरैनहरको अद्भुत सुन्दर सहर हो जहाँ उनी केही दिन घुम्छन्। केही दिनपछि भेनिसबाट रोम र रोमबाट ब्रिन्दसी बन्दरगाहको सहरबाट पहिलोपटक पानीजहाजमा ग्रिस पुग्छन्। युरोपियन सभ्यताको जननी मानिने ग्रिसको एथेन्स सहरको केही दिनको बसाइमा उनी त्यहाँका ऎतिहासिक सम्पदा हेर्न, घुम्न र बुझ्न छोड्दैनन्। एथेन्सबाट ट्रेनमार्फत उनी टर्कीको इस्तानबुल प्रवेश गर्छन्। यसरी इस्तानबुलबाट बसमा इरान, अफगानिस्तान, पाकिस्तान, भारत हुँदै नेपाल फर्कने उनको यात्रा अन्तिम चरणमा पुग्छ।
१८ अक्टोबर १९७० का दिन उनी अफगानिस्तानबाट पाकिस्तानको पेसावर सहर पुग्छन्। लाहोर पुगेपछि त्यहाँका केही उद्दण्ड पाकिस्तानी युवाको फन्दामा झन्डैझन्डै फसेको क्षणबाट मुक्त भई पाकिस्तान-भारत सीमा पार गरेर ट्रेनबाट दिल्ली आइपुग्छन्।
दिल्लीमा केही दिन घुमघाम गरेपछि पटनासम्म ट्रेनमा आई उनी पटनाबाट प्लेनमा काठमाडौँ सकुशल अवतरण हुन्छन्। यसरी मार्च १९७० मा सुरु गरेको उनको यो साहसिक यात्रा अक्टोबर १९७० मा सकिँदा ७ महिना ७ दिन पुगेको थियो।
१९७० को दशकमा आजको जस्तो विज्ञान र प्रविधि विकास नभइसकेकाले एक ठाउँबाट अर्को ठाउँमा पुग्न सहज थिएन। तर पनि एउटा राजनीतिक सीमाबाट अर्को सीमा प्रवेश गर्न भने त्यति असहज पनि थिएन भन्ने उदाहरणका रूपमा श्याम मोहनको यो यात्राले प्रमाणित गरिदिएको छ।
विश्व राजनीतमा आएको उतारचढावले आज यसरी यात्रा गर्न असम्भव छ। आधुनिकतासँगै आएको जडता र भिन्न संस्कार र सभ्यताको अस्तित्व स्वीकार नगर्ने संस्कृतिको विकासले विवेक र सहनशीलता लुप्त हुँदै गएको फलस्वरूप आज यस प्रकारको यात्राको कल्पनासमेत गर्न सकिँदैन।
प्रविधि र हवाई यातायातको विकाससँगै आजका मानिसहरू स्थलमार्गभन्दा हवाई मार्गबाट समयको बचत हुने, छोटो समयमा धेरै ठाउँमा पुग्न सकिने र किफायतीसमेत हुने मान्दछन्। भलै बस, ट्रेन वा कार वा समुद्री जहाजबाट यात्रा गर्दाको अनुभव र अनुभूति फरक हुन्छ। श्यामले यो यात्रामा धेरै बसबाट, अनि केही ट्रेन र केही मात्रामा समुद्री जहाज र हवाईजहाजबाट यात्रा गरी सबै साधनबाट गरिने यात्राको अनुभव बटुलेका छन्।
तेस्रो अध्यायदेखि पुस्तकले श्याममोहनको क्यासिनोको जागिरबाट सुरु भएको व्यावसायिक जिन्दगीले कालान्तरमा नेपालको एक सफल पर्यटन तथा होटेल व्यवसायीका रूपमा स्थापित गरेको विषय समेटेको छ। किशोर अवस्थादेखि नै फ्रान्ससँग प्रभावित लेखकको काठमाडौँ-पेरिस-काठमाडौँको यात्रा मात्र होइन नियतिले फ्रेन्च एयरसँगको उनको आबद्धताले जिन्दगीभर फ्रान्ससँग अटल सम्बन्ध कायम गराएको पुष्टि हुन्छ। नेपाल-फ्रान्स सम्बन्धलाई जनस्तरमा प्रवर्धन गरेको फलस्वरूप फ्रान्सले उनलाई त्यहाँको सर्वोच्च पदकबाट विभूषित गरी सम्मान दिनु उनको सफलताको उच्चतम बिन्दु मान्नुपर्दछ।
श्यामको जीवन कथाले मानिस जे जस्तो सोच्छ त्यहीबमोजिम कर्म गर्ने हो भने त्यही बन्न सक्दछ भन्ने कुराको ज्वलन्त उदाहरण दिएको छ। पुस्तकमा उनका जीवनका पारिवारिक घटना, प्रेम, बिछोड, सन्तानप्राप्ति, जीवनमा गरिएका अन्य प्राप्ति र गुमाएका अवसरको विवरण पढ्दा एक संघर्षशील मानिसको प्रेरणात्मक जीवन्त इतिहास पढिरहेको आभास हुन्छ।
पुस्तकको एउटा रोचक पक्षको चर्चा यहाँ गर्नैपर्छ। यात्राका क्रममा बारम्बार उनको जम्काभेट हुनपुग्छ सुन्दर युवतीहरूसँग। तिनीहरूसँगको रमाइला प्रसंगहरूले उनको यात्रा विवरणलाई थप रोमाञ्चक पनि बनाउँछ। मार्सेमा भेटिएकी क्याथी हुन् वा जर्मन केटी वा दिल्लीमा भेटिएकी अमेरिकी नियोगकी युवती होस् वा इस्तानुबुलकी युवती-उनको यात्रामा उनीसँग कतै न कतै युवती भेटिने संयोग जुरेको देखिन्छ। श्यामको निश्छलपना, मिलनसार अनि साहसिक यात्रामा निस्केको नेपालको एक युवकप्रति युवतीहरूको आकर्षण हुनु अस्वाभाविक पनि नहोला। हाँसेर बोल्ने नेपालीको बानीले आधा संसार जितिन्छ भने जस्तै कठिन परिस्थितिमा पनि ओठमा रहने स्थायी मुस्कान र अरुलाई परेको अप्ठेरोमा सकेको सहयोग गर्ने बानीले उनी सबैको प्यारो र मित्रवत् हुन सफल भएका हुन्।
जाली फटाहा र क्रोधी मान्छे एकछिन सफल होला तर मुस्कानका साथ आफ्नो निश्छलपन कायम गर्ने मान्छे नै आफ्नो उद्देश्यमा सफल हुँदोरहेछ अर्थात् सबैको माया, स्नेह र सदभाव पाउँदो रहेछ भन्ने ज्वलन्त उदाहरण हुन् श्याम।
अन्जान अनकन्टार ठाउँमा पनि कोही न कोही आएर सहर डुलाउने, खाना खुवाउने, अन्य आवश्यक सहयोग र ढाढस पाउनुमा उनले अरूप्रति गरेको मित्रवत् सहयोगी व्यवहार र असल कर्मको फल प्राप्त गरेका हुन् भन्ने स्पष्ट हुन्छ। सायद यसैलाई ईश्वरको आशीर्वाद भनिन्छ होला।
यो पुस्तकको अर्को एक महत्त्वपूर्ण पक्ष भनेको यसमा संकलित तस्बिरहरू हुन्। संलग्न तस्बिरहरूले श्यामको व्यक्तिगत जीवनको कथा सिलसिलेवार रुपमा भन्छ भने तत्कालीन समयको नेपाल एवं विश्व इतिहास पनि प्रतिबिम्बित गर्दछ।
पुस्तकले यायावरका रूपमा संसार घुम्न मन पराउने एक नेपाली युवक कसरी आफ्नो अनवरत मिहेनत र लगनले स्थापित व्यवसायी बन्न सफल भए भन्ने बताउँछ। साथै केही गरिछाड्छु भन्ने संकल्प, अठोट र साहसले आफ्ना सपना परिपूर्ण गरेको पढ्दा वर्तमान र भाबी पुस्ताले लगन, साहस र हौसला अनि कस्तै कठिन परिस्थितिमा पनि धैर्य गर्दै समस्याको सामना गर्न श्याम मोहनको जीवनको यो साहसिक यात्राबाट थप ऊर्जा, उत्साह र उत्प्रेरणा प्राप्त गर्न सक्दछन् भन्ने मेरो विश्वास छ।
[कूटनीति र साहित्य लेखनमा रुचि भएका लेखक जर्मनीका लागि नेपालका पूर्वराजदूत र शिष्टाचार महापाल हुन्।]