जनकपुरधाम- जनकपुरका पवन ठाकुरले ४० वर्षदेखि सुनचाँदीको व्यापार गर्दै आएका छन्। कुनै बेला उनको न्यू महालक्ष्मी ज्वेलर्समा ग्राहकको भीड थामी नसक्नु हुन्थ्यो। दैनिक १०/१२ लाखसम्मको व्यापार गर्न कुनै पर्व वा विवाहको साइत पर्खिनु पर्दैनथ्यो। अहिले ग्राहक पाउनै मुस्किल भएको ठाकुरको भनाइ छ। उनी भन्छन्, ‘डेढ, दुई लाखको व्यापार गर्न पनि गाह्रो छ।’
जनकपुरमा ४५ वर्षदेखि कपडा व्यापार गर्दै आएका रामबाबु गुप्ताले पहिले पाँचजनालाई रोजगारी दिएका थिए। केही वर्षयता व्यापार खस्किँदो अवस्थामा रहेकाले दुई कर्मचारीको भरमा व्यापार चलाइरहेका छन्।
जनकपुरधाम उपमहानगरपालिका–४ स्थित रामपरी स्टोरका सञ्चालक शेखर साहको पनि यस्तै गुनासो छ। १८ वर्षदेखि खाद्यान्न व्यापार गर्दै आएका साहले दैनिक उपभोग्य वस्तुको व्यापारमा समस्या होला भनेर सोचेका पनि थिएनन्।अहिले व्यापारमा ७५ प्रतिशतले कमी आएको साहको भनाइ छ। ‘पहिले सामान लिन पालो पर्खिनुपथ्र्यो तर अहिले ग्राहक नै आउँदैनन्,’ उनले भने, ‘पछिल्लो समय २५ प्रतिशतमा व्यापार झरेको छ।’
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ दैनिक उपभोग्य सामानको मागसमेत घट्नु अर्थतन्त्रमा गम्भीर समस्या देखिएको संकेत भएको बताउँछन्। उनका अनुसार व्यवसायमा मन्दी लागेपछि एक सयभन्दा बढी व्यापारीले सटर बन्द गरिसकेका छन्। आधा दर्जन ठूला व्यापारी बैंक तथा वित्तीय संस्थाको कर्जा तिर्न नसक्दा जायजेथा छाडेर भागेका छन्।
व्यापारमा सुधार नहुँदा पसलहरू बन्द हुने मात्रै होइन, बैंकको ऋण तिर्न नसक्दा असुल उपरका लागि बैंकले लिलामको सूचना गर्दा लिलाम सकार्ने (बोलकबोल गर्ने) मान्छेसमेत भेटिँदैनन्। वर्षौंदेखि फार्मेसी सञ्चालन गर्दै आएका व्यापारीको घर लिलाम हुने अवस्था आएपछि वाणिज्य संघका पदाधिकारीले घर खरिद गरिदिएको चेम्बर अफ कमर्स मधेस प्रदेशका अध्यक्षसमेत रहेका सुनचाँदी व्यवसायी ठाकुरले जानकारी दिए। ‘वर्षौंदेखि फार्मेसी सञ्चालन गर्दै आएका व्यवसायी रातारात पलायन भएका छन्। बैंकको ब्याज तथा अन्य साहुमहाजनबाट लिएको ऋण तिर्न नसकेपछि लिलाम हुने अवस्थामा थियो,’ उनले भने, ‘ऋण त उनलाई लाग्यो, जे होस् घर चाहिँ संघले जोगाइदियो।’
पछिल्लो एक महिनामा मात्रै १०/१२ वटा लिलामी सूचना प्रकाशित भएका छन्। लिलाम सकार्ने मान्छे नभेटिँदा संघको रोहवरमा कतिपय समस्या समाधान गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष महासेठले जानकारी दिए। ‘व्यापारीले ऋण तिर्न नसक्ने र लिलाम गर्दा किन्ने मान्छे नभेटिने अवस्थाले यहाँको विकराल अवस्थालाई प्रष्ट्याउँछ,’ उनले भने।
कसरी आयो संकट?
कोरोना महामारी, अन्तर्राष्ट्रिय प्रभाव, बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव, आर्थिक शिथिलता, कारोबारमा आएको मन्दीलगायत कारण सिङ्गो देशले समस्या भोगिरहेको छ। यसको प्रभाव प्रत्यक्षरूपमा व्यापार, व्यवसायमा परेको व्यवसायी जीवनाथ चौधरीले बताए। ‘यहाँको मुख्य आधार भनेको धार्मिक पर्यटन हो। अहिले पर्यटकीय गतिविधि ठप्पजस्तै छ,’ चौधरीले भने।
संघका अध्यक्ष महासेठले पछिल्लो ८/१० वर्षको अवधिमा २/३ वर्ष व्यापार बन्द गर्नुपरेकाले समस्या झन् बढेको बताए। ‘मधेश आन्दोलन र भूकम्पको प्रभाव त छँदैथियो। २०७४/७५ मा जनकपुरमा सडक विस्तारका साथै ढल निर्माणका बेला करिब ६/७ महिना व्यापार ठप्प भयो,’ उनले भने, ‘लगत्तै कोरोना महामारीका समयमा भएको बन्दाबन्दीले व्यवसायलाई थप संकटग्रस्त बनायो।’ पटकपटक व्यापार बन्द हुने, घरभाडा र बैंकको ब्याज निरन्तर बढ्नेलगायत कारणले यस्तो अवस्था आएको उनको भनाइ छ।
– रासस