२२औँ आहा रारा पोखरा गोल्डकपबाट ३ लाख १८ हजार रुपैयाँ बचत

हिमाल प्रेस १२ भदौ २०८० १२:२७
6
SHARES
२२औँ आहा रारा पोखरा गोल्डकपबाट ३ लाख १८ हजार रुपैयाँ बचत

पोखरा- सहारा क्लब पोखराको आयोजनामा गत वर्ष भएको २२औँ आहा रारा पोखरा गोल्ड कपबाट ३ लाख १८ हजार रुपैयाँ बचत भएको छ। पोखरा रंगशालामा १४ देखि २३ पुषसम्म भएको प्रतियोगिताबाट ९४ लाख ६५ हजार आम्दानी भएकोमा खर्च कटाएर सो रकम बचत भएको हो।

आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो। आर्थिक संकलन उपसमिति संयोजक सुनिल गुरुङले आयव्यय सार्वजनिक गर्दै फाइनलमा दर्शक टिकटबाट मात्रै १० लाख आम्दानी भएको बताए।

मुख्य प्रायोजक रहेको हिमश्री फुड्सले २२ लाख २५ हजार सहयोग गरेको भने प्रवर्द्धक पोखरा महानगरपालिकाले १० लाख रुपैयाँ दिएको थियो। त्यस्तै मुख्य प्रायोजकबाट एक लाख बराबरको रारा तयारी चाउचाउ दर्शकलाई वितरण गरिएको थियो।

बेस्ट प्लेयरलाई टेल–जी इलेक्ट्रिक स्कुटरको तर्फबाट प्रायोजनबापत एक लाख २५ हजार रुपैयाँ, एक्सटेप स्पोर्टस् वयर काठमाडौँबाट स्वयंसेवक पोशाक प्रायोजनबापत १ लाख रुपैयाँ, बुद्ध एयरबाट २६ वटा हवाई टिकट, सिजी कम्पनीबाट भाग्यशाली दर्शकलाई ३० हजार बराबरको २४ इन्चको टिभी, सहारा युकेद्वारा म्यान अफ दि म्याच ट्रफीसहित नगद, बेस्ट अफ फाइभ ट्रफी र अन्य ट्रफी, मेडल गरी २ लाख २० हजार बराबरको अतिरिक्त सहयोग प्राप्त भएको आयोजकले बताएको छ।

१० टिमले भाग लिएको प्रतियोगितामा संकटा क्लबले उपाधि जितेको थियो भने भुटनीज युथ स्पोर्टस् क्लब मिनोसोना युएस उपविजेता भएको थियो। गोर्खा ब्रुअरी, हिमाअस एजुकेसन कन्सल्टेन्सी-मुल्बेरी इन्स्टिच्युट अफ हस्पिटालिटी-मुग्लान रेस्टुरेन्ट, चरक मेमोरियल हस्पिटल उपप्रायोजक रूपमा सहयोग गरेका थिए।

राष्ट्रिय खेलकुद परिषद्ले ५ लाख ५० हजार, प्रदेश खेलकुद परिषद् गण्डकीले ५ लाख, पब्लिक फोके टिभी (बार्दली मिडिया) ले ५ लाख, सहारा क्लब हङकङले ३ लाख, गोर्खा ब्रुअरी (टुवर्ग बियर) ले ३ लाख सहयोग गरेका थिए।

क्लब अध्यक्ष हरिराम गुरुङ (सुरज) को अध्यक्षतामा भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष वसन्त थकाली, वरिष्ठ उपाध्यक्ष केशवराज बराल र महासचिव रामजीप्रसाद अधिकारी लगायतले प्रतियोगितालाई अझै व्यवस्थित गर्दै लैजाने बताए।

क्लबले पोखरा दोबिल्लामा सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै कठिन परिस्थिति एवं विपन्न वर्ग बालकलाई फुटबल प्रशिक्षण सहित आश्रय दिँदै आएको छ।

प्रकाशित: १२ भदौ २०८० १२:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =