कहिले खुल्छ टिप्ताला नाका?

हिमाल प्रेस ७ भदौ २०८० १३:४३
6
SHARES
कहिले खुल्छ टिप्ताला नाका? ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ र चीनको सिमावर्ती क्षेत्र टिप्ताला नाकामा चीनले निर्माण गरेको संरचना । तस्बिर : दिलकुमार लिम्बू/रासस

फुङ्लिङ- ताप्लेजुङको ओलाङ्चुङगोलास्थित टिप्ताला नाका चार वर्षदेखि बन्द छ। कोरोना भाइरस महामारी फैलिएपछि बन्द भएको नाका अहिलेसम्म खुल्न नसक्दा सीमावर्ती क्षेत्रका बासिन्दालाई सास्ती खेप्नु परेको छ।

सीमावर्ती बस्ती फक्ताङलुङ–७ ओलाङ्चुङ्गोला, याङ्मा र घुन्सा क्षेत्रका समुदायको ९० प्रतिशत चीनको बजारमा निर्भर रहेको स्थानीयवासी छेतेन टाँसी शेर्पाले बताए। उनले भने, ‘लामो समयसम्म नाका बन्द हुँदा दैनिक जीवनमा आवश्यक खाद्य तथा अन्य सामग्री चीनबाट आउन बन्द भएको छ।’

नाका बन्द भएपछि चीनसँगको व्यापार ठप्प भएको फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन भोटेले बताए। समुद्र सतहदेखि ३२०० मिटर उचाइँमा पर्ने ओलाङ्चुङ्गोला क्षेत्रका स्थानीयको आम्दानीको स्रोत व्यापार र पशुपालन हो। समुद्र सतहदेखि ४२०० मिटरमा पर्ने याङ्माका समुदाय पनि चीनको बजारमा निर्भर हुँदै आएको थियो।

लामो समयसम्म पनि टिप्ताला नाका नखुलेपछि आवश्यक खाद्य सामग्री ताप्लेजुङको सदरमुकामदेखि ढुवानी गर्दै आएको कञ्चनजङ्गा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सहायक कार्यक्रम संयोजक जितेन चेम्जोङले जानकारी गराए। उनले भने, ‘विगतदेखि नै याङ्माको समुदाय चीनको बजारमा निर्भर हुँदै आएको थियो। नाका बन्द भएदेखि नेपाली बजारमा भर पर्न थालेका छन्।; नाका बन्द भएपछि आर्थिक संकट बढ्दै गएको उनको भनाइ छ।

चीनका विभिन्न बजारमा यहाँको चौँरी, याक तथा पशुजन्य खाद्य पदार्थको प्रमुख बजार हो। यसअघि चौँरी, याक, घिउ, छुर्पी, याक, चौँरीका मासु, जमर (याकको पुच्छर) चीनको बजारमा विक्री हुने गरेको छ। नाका बन्दसँगै व्यापार नभएपछि स्थानीयबासीको आयआर्जनको बाटो नै बन्द भएको छ।

याङ्माका कान्दे ग्याबु शेर्पाको दुई वर्षअघि ३२ याक थिए तर अहिले बढेर ६४ भएका छन्। कोरोनाका कारणले चार वर्षदेखि चीनतर्फको नाका बन्द भएसँगै याक चीनका बजारमा बिक्री नहुँदा याकको सङ्ख्या बढ्दै गएको शेर्पाले बताए। उनले भने, ‘चार वर्ष भयो, याक बिक्री भएको छैन। यसले गुजारा गर्नै मुस्किल भइसक्यो।’

फिन्चो शेर्पाको गोठमा भएका याक पनि चार वर्षदेखि बिक्री भएका छैनन्। शेर्पाको चार वर्षअघि २५ याक रहेकामा अहिले ६० हाराहारीमा छन्। चीनका बजारमा प्रतियाक ६० हजारदेखि एक लाख ५० हजारसम्ममा बिक्री हुने गरेको थियो। छुर्पी र घिउ प्रतिकिलो १ हजार २०० मा बिक्री हुने गरेको याङ्माका फिम्जो शेर्पाले बताए।

बुनिएका गलैँचाले चीनमा राम्रो बजार लिएको थियो। गलैँचा विक्री गरेरै यहाँका स्थानीयले राम्रो आयआर्जन गर्थे। तर चार वर्षदेखि गलैँचा घरमै थुप्रिराखेको ओलाङचुङ्गोलाबासी लामा भुजुङ शेर्पाले बताए। उनले भने, ‘मेरो घरमा ५० वटा गलैँचा थुपारिराखिएको छ। जिल्ला सदरमुका फुङ्लिङ बजारमा कम मूल्यमा बिक्री गर्नुपर्छ। त्यसैले घरमै राखेको छु।’

ओलाङचुङ्गोलाको नाका हुँदै चीन पठाउन इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङका विभिन्न स्थानमा उत्पादित चिराइतो धेरैअघि ओलाङ्चुङ्गोलामा पु¥याएर राखिएको थियो। लामो समयसम्म नाका बन्द हुँदा फेरि सदरमुकाम हुँदै भारतको सिक्किम पठाउनुपरेको व्यापारी दावाच्युङ्दाक शेर्पाले बताए।

चीनमा चिराइतो निकासी नभएपछि ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुम जिल्लाका चिराइतो कृषक निरास भएको सिरिजङ्घा गाउँपालिका—७ यामफुदिन निवासी मनकुमार राईले बताए। उनले भने, ‘पहिलापहिला चिराइतो खोज्दै व्यापारी घरघर आउँथे तर आजभोलि त्यसको कुरा गर्ने व्यापारी भेटिँदैनन्।’ चीनतर्फ चिराइतो निर्यात हुन छाडेसँगै खेती गर्न छाड्दै गएको फक्ताङलुङ—६ निवासी चिराइतो कृषक राजकुमार राईले बताए।

सदरमुकामदेखि ओलाङचुगोलासम्म महंगो मूल्यमा सामान ढुवानी गर्नुपरेको छ। सदरमुकाम फुङ्लिङदेखि एक दिनमा लेलेपसम्म गाडीमा सामान पुर्‍याउन सकिन्छ। लेलेपदेखि खच्चर र मान्छेले बोकेर ओलाङ्चुङ्गोला, याङ्मा, फले र घुन्साजस्ता ३२०० देखि ४५०० सय मिटरसम्मको उचाइँका बस्तीसम्म खाद्य सामग्री ढुवानी गर्नुपर्छ। यसले गर्दा सामानको परेको मोलभन्दा ढुवानीमा तीन गुणा बढी खर्च हुन्छ।

नाका बन्दा नहुँदासम्म चीनदेखि टिप्ताला नाकासम्म चीनको गाडीले सामान ल्याउने गरेको थियो। सीमा क्षेत्रदेखि आफ्नै याकमा सामान बोकाएर घरसम्म पु¥याइने गरेको शेर्पाले बताए। उनले भने, ‘चीनदेखि सामान ल्याउँदा ढुवानी खर्च एकदम कम हुन आउँछ, तर सदरमुकामदेखि ल्याउँदा सामानको खरिद मोलभन्दा तीन गुणा बढी खर्च पर्न आउँछ।’

भदौ अन्तिम साता अर्थात् सेप्टेम्बर १० देखि टिप्ताला भन्ज्याङ नाका खुल्ने फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन वालुङले बताए। नाका खुल्ने खबरले सीमा क्षेत्रका समुदायहरु अहिले निकै उत्साहित भएका छन्।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले पनि नाका खोल्ने प्रक्रिया सुरु भएको बताइन्। नाका खुलाउने विषयमा गत वैशाख २२ मा डिङ्जे काउन्टीका प्रतिनिधि र ताप्लेजुङका प्रतिनिधिबीच भर्चुअल बैठक भएको थियो।

नाका खोल्न समन्वय गरिदिन यसअघि वडा कार्यालय ओलाङचुङगोला, फक्ताङलुङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले गृह, परराष्ट्र मन्त्रालयलाई पटकपटक अनुरोध गरेका थियो। छेतेनका अनुसार टिप्ताला भन्ज्याङबाट मात्रै आउजाउ गर्ने गरी खुलाउने चिनियाँ अधिकारीले बताएका छन्। यसअघि घाङला नाकाबाट पनि आउजाउ हुने गरेको थियो।

विशेषगरी याङ्मावासी घाङला नाका भएर रिउ जाने आउने गरेका थिए। सीमावर्ती क्षेत्रकालाई सिमानादेखि २५ किमी दूरीमा रहेको रिउसम्म जाने अनुमति दिइन्छ। रिउ तिब्बतको एउटा व्यापारिक केन्द्र हो। तिब्बतले अहिले रिउबाट ३५ किमि दूरीमा रहेको घुम्तीमा पनि व्यापारिक केन्द्र बनाएको छ। ताप्लेजुङ र सङ्खुवासभालाई केन्द्र पर्ने गरी उक्त केन्द्र निर्माण भएको हो। सिमानादेखि ओलाङचुङगोलाको बस्ती पनि २४ किमी दूरीमा छ।

सिमानादेखि नजिकैका बस्ती याङमाबाट रिउ पुग्न तीन दिन लाग्छ भने ओलाङचुङगोलाबाट एक दिनमा पुगिन्छ। सिमानादेखि दुवै देशका बस्तीसम्म मोटरबाटो जोडिएको भए पनि नेपालतर्फको सडक पूरै अवरुद्ध छ। मर्मतसम्भार हुन सकेको छैन ।

दिलकुमार लिम्बू/रासस

प्रकाशित: ७ भदौ २०८० १३:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast