सन् १९४५ नोभेम्बर २९ देखि सन् १९४८ को ३० अप्रिलसम्म पद्मशमशेर जबरा नेपालका प्रधानमन्त्री एवं श्री ३ महाराज थिए। उनी राणा प्रधानमन्त्री भीमशमशेरका विवाहिता जेठा महारानीबाट जन्मिएका एकमात्र रोलवाला (ए क्लास) छोरा थिए।
चन्द्रशमशेरको समयमा पहिलोपटक फर्पिङबाट नेपालमा बिजुली उत्पादन गरी बत्ती बाल्ने काम हुँदा सम्पूर्ण आयोजना सुपरीवेक्षणको जिम्मेवारी पद्मशमशेरले नै निर्वाह गरेका थिए। पछि प्रथम विश्वयुद्धको समयमा उनी भारतमा खटिएका थिए।
विवाहिता महारानीबाट जन्मिएका छोरा भए पनि उनलाई भीमशमशेरले त्यति मन पराउँदैनथे। भित्रिनीपट्टिबाट जन्मिएका हिरण्यशमशेर, प्रकाशशमशेर, रामशमशेर र यज्ञशमशेर उनका मन पर्ने छोरा थिए।
२९ वर्षसम्म प्रधानमन्त्री चन्द्रशमशेरको कमान्डर इन चिफ रहेका भीमशमशेर प्रधानमन्त्री हुनुअघिसम्म आफैँ पनि त्यति सम्पन्न थिएनन्। भीमशमशेर प्रधानमन्त्री नहुँदै पद्मशमशेर आफ्ना बाबुसँग छुट्टिएर अलग बसेका थिए। त्यसैले उनको आर्थिक अवस्था त्यति राम्रो थिएन। चन्द्रशमशेरको शासनकालको अन्तिम समयतिर खटपट हुँदा नेपाल भोटसँग युद्ध गर्न तम्सिएको थियो। युद्धका लागि उतिखेर लगभग तीन करोड रुपैयाँ छुट्याइएको थियो। भोटले नेपालसँग माफी मागेपछि युद्ध टर्यो। पछि त्यो सबै रकम रातारात मुलुकी खानाबाट टंगाल दरबार (भीमशमशेरको दरबार)मा सारिएको थियो। गाडाका गाडा चाँदीका रुपैयाँका तोडा ओसारिएका थिए। (त्यस बखतको नेपाल, भाग–२, सरदार भीमबहादुर पाँडे)
पछि त्यही रकमले भीमशमशेरका अन्य छोरा सम्पन्न भए। तर पद्मशमशेर बाबुबाट अलग भइसकेकाले उक्त धनको कुनै हिस्सा पाएनन्। त्यसैले उनको आर्थिक अवस्था अरू भाइको दाँजोमा पछिसम्म पनि कमजोर थियो। पिता भीमशमशेर प्रधानमन्त्री हुँदा उनी दक्षिणतर्फका कमान्डिङ जनरल थिए। भीमशमशेरको निधन भएपछि उनी कमान्डर इन चिफ रुद्रशमशेरभन्दा पछि अर्थात् तेस्रो वरीयताका पश्चिमतर्फका कमान्डिङ जनरलसहित जंगीलाठ भएका थिए।
सन् १९३४ को मार्चमा तत्कालीन कमान्डर इन चिफ रुद्रशमशेर र हिरण्य, तेज र प्रतापशमशेरलाई रोलबाट झिकी काठमाडौँबाहिर धपाएपछिको नयाँ रोलक्रमअनुसार पद्मशमशेर प्रधानमन्त्रीभन्दा पछि दोस्रो वरीयताको कमान्डर इन चिफ नियुक्त भएका थिए।
राणाकालीन प्रशासनमा कमान्डर इन चिफको भूमिका सेनाको भर्ती र अन्य केहीको नियुक्तिमा समेत हुने गर्दथ्यो। त्यस्तै कमान्डर इन चिफको खान्की र भत्ता अलि बढी हुन्थ्यो। त्यसैले त्यही अवधिमा उनले पहिलेभन्दा आफ्नो केही आर्थिक हैसियत माथि उठाएका थिए। पछि छोटो समय प्रधानमन्त्री हुँदा उनले सुनचाँदीसहित धन जम्मा पारेका थिए।
सन् १९४५ नोभेम्बर २९ मा प्रधानमन्त्री जुद्धशमशेरले एकाएक राजपाट त्यागे। जंगी पोसाकको बदलामा गेरुवस्त्र धारण गरे। श्रीपेचको ठाउँमा गेरुफेटा बाँधेर राजर्षि महाराजका रूपमा रिडीतिर प्रस्थान गरे। जुद्धशमशेर हिँडेपछि नेपालको शासन सत्ताको जिम्मेवारी पद्मशमशेरले सम्हाले।
जुद्धशमशेरको परिवार असाध्यै ठूलो थियो। जुद्धशमशेरका नाति नरशमशेरका अनुसार तीन सय रोपनी क्षेत्रफलमा फैलिएको जाउलाखेल दरबार तीनतले र त्यहाँ चार सय कोठा थिए। त्यहाँ जुद्धका रानी, छोराछोरी र नातिनातिना गरी १ सय २० जना जतिको विशाल परिवार थियो। (जनरल नरशमशेर जंगबहादुर राणाको जीवनी उहाँकै जुबानी, प्रस्तुतकर्ता : हेमन्तशमशेर राणा, २०५८ काठमाडौँ)
जुद्धशमशेरको तुलनामा पद्मशमशेरको परिवार सानो थियो। उनका जेठा छोरा वसन्तशमशेर पहिले नै उनीबाट अलग भइसकेका थिए। परिवार ठूलो भएकाले मुलुकको ढुकुटीको दुई तिहाई जुद्धशमशेर सँगसँगै गएको थाहा पाउँदा पद्मशमशेर आश्चर्यमा परेका थिए।
तर पद्मशमशेरको परिवार सानो भएकाले राजस्व मुलुकको समृद्धिमा लाग्नेछ भन्ने टिप्पणी नेपालस्थित ब्रिटिस मिनिस्टर फाल्कनरको थियो। त्यस्तै आफ्ना अरू भाइ नहुनु र छोरासमेत साथमा नहुनुले पद्मशमशेर धनवान् चन्द्रसन्तान र बलिया जुद्धसन्तानको चेपुवामा पर्नेछन् भन्ने उनको आकलन थियो। (नेपालस्थित ब्रिटिस मिनिस्टर फाल्कनरले आफ्नो सरकारलाई पठाएको प्रतिवेदन, राष्ट्रिय अभिलेखागार नयाँ दिल्ली)
भीमशमशेर प्रधानमन्त्री हुँदा उनीविरुद्ध षड्यन्त्रको आरोपमा उनका छोरा वसन्तशमशेर दण्डित भइसकेका थिए। भीमले विवाहितापट्टिका छोरा पद्मलाई अलग्गै राखे पनि साथमा भएका अविवाहितापट्टिका छोरा शक्तिशाली थिए। तर पद्मशमशेर प्रधानमन्त्री हुँदा उनीसँग उनका बलिया छोरा थिएनन्। उनका अर्का छोरा नरेन्द्रशमशेर पद्मशमशेर प्रधानमन्त्री हुँदा ती त्यति महत्त्वपूर्ण जिम्मेवारीमा थिएनन्। प्रधानमन्त्री चन्द्रशमशेरले २९ वर्षसम्म नै आफ्ना छोरा मोहनशमशेरलाई हजुरिया जनरल नियुक्त गरेका थिए। भीमशमशेरले समेत उक्त जिम्मेवारीमा आफ्नै छोराहरूलाई निरन्तरता दिए।
जुद्धशमशेरले आफ्ना छोरा बहादुरशमशेर र उनको अनुपस्थितिमा मात्र चन्द्रका छोराहरू सिंहशमशेर र कृष्णशमशेरलाई दिए। आफ्ना बलिया छोरा साथमा नहुँदा पद्मशमशेरले जुद्धशमशेरकै छोरा बहादुरशमशेर र उनले राजीनामा गरेपछि चन्द्रका छोरा कृष्णशमशेरलाई दिए। आफ्ना भाइ र छोरा नहुँदा उनी चन्द्र र जुद्ध परिवारबाट सुरुदेखि नै चेपुवामा परेका थिए।
जंगबहादुरले सुरुवात गरेको राणा व्यवस्था पद्मशमशेरको पालासम्म आउँदा तेस्रो पुस्तामा आइपुगेको थियो। पहिलो पुस्तामा जंगबहादुर र उनका भाइ रणोद्वीप सिंह थिए। दोस्रो पुस्तामा धीरशमशेरका छोरा वीर, देव, चन्द्र, भीम र जुद्ध थिए। तेस्रो पुस्ताका पहिलो प्रधानमन्त्री थिए पद्मशमशेर। उनले द्वितीय विश्वयुद्धको समाप्तिसँगै प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि नयाँ वैश्विक शक्ति संरचनामा नेपालको आन्तरिक र बाह्य नीतिमा सुधार गर्नु र राणा शासन व्यवस्थालाई कायम राख्दै उल्लिखित ती दुई परिवारको बीचको सत्ता संघर्षमा आफूलाई कायम राख्ने मुख्य चुनौती थियो।
पद्मशमशेर प्रधानमन्त्री भएपछि आन्तरिक रूपमा आर्थिक, शैक्षिक र सामाजिक सुधार गर्ने प्रयास भए। त्यस्तै उनले सीमित राजनीतिक हक र स्वतन्त्रतासहितको पहिलो लिखित संविधानसमेत जारी गरेका थिए। राणा शासकमध्ये देवशमशेरपछिका उनी सुधारवादी थिए। उनको उदारवादी शासनको समयमा काठमाडौँमा कन्या स्कुलसहित देशभर केही शैक्षिक संस्था खुलेका थिए।
पद्मशमशेर प्रधानमन्त्री हुँदा अर्को महत्त्वपूर्ण उपलब्धि मुलुकको वैदेशिक सम्बन्ध हो। लिगेसन स्तरमा रहेको नेपाल–बेलायत सम्बन्धलाई दूतावास स्तरमा स्तरोन्नति गर्नु, ब्रिटिस उपनिवेशबाट स्वतन्त्र हुन लागेको भारतसँग औपचारिक स्वतन्त्रताअगावै आफैँले पहलकदमी लिएर दूतावास स्तरमा सम्बन्ध कायम राख्नु उनको कार्यकालका महत्त्वपूर्ण उपलब्धि थिए।
संसारको बलियो शक्तिसँग मित्रता कायम राखी अगाडि बढ्ने नीति राणाकालीन नेपालले लिएको थियो। त्यही परिस्थितिमा द्वितीय विश्वयुद्धपछि जापानमा अणु बम प्रहार गरी शक्तिशाली बनेको अमेरिकासँग दौत्य सम्बन्ध कायम गर्नु पद्मशमशेरको अर्को दूरदर्शी कदम थियो। लामो समयसम्म नेपाली प्रतिनिधिमण्डल आफैँ चीन पुगेर गणतान्त्रिक चीनसँग सम्बन्ध नवीकरण गरेको थिएन। उनकै पालामा नेपालले चीन पुगेर चिनियाँ राष्ट्रपति च्याङकाई सेकलाई तक्मा प्रदान गरी प्रत्यक्ष सम्पर्क राख्ने कोसिस गरेको थियो।
उनले सन् १९४७ नोभेम्बरतिर केही महिनापछि राजीनामा गरी अवकाश लिने योजना बनाइरहेका थिए। नेपालस्थित ब्रिटिस राजदूत फाल्कनरसँगको कुराकानीमा आफ्नो बुढ्यौली उमेर र स्वास्थ्यका कारण प्रधानमन्त्रीको जिम्मेवारी वहन गर्न नसकिरहने भएकाले छिट्टै राजीनामा गर्ने संकेत उनको थियो।
यस्तै सन्देश भारतको विदेश मन्त्रालयका महासचिव सर गिरिजाशंकर बाजपेयीमार्फत भारतका गभर्नर जनरल, प्रधानमन्त्री र गृहमन्त्रीलाई समेत दिएका थिए। साथै उनले नेपालबाट राजीनामा गरेपछि बाँकी जीवन राँचीमा बस्न चाहेको उल्लेख गरेका थिए। राँचीमा घर बनाउन जमिन, आवश्यक निर्माण सामग्री र घरको सुरक्षाका लागि भारतीय सुरक्षाकर्मी तथा व्यक्तिगत सुरक्षाका लागि समेत हतियार राख्न पाउनुपर्ने माग पद्मशमशेरको थियो। त्यही प्रसंगमा उनले आफूले नेपालबाट चार–पाँच हजार तोला सुन साथमा लिएर जान चाहेकाले त्यो लैजाँदाका कठिनाइ र राँचीमा साम्प्रदायिक दंगाको अवस्थाबारे समेत जिज्ञासा राखेका थिए। (नेपालस्थित ब्रिटिस मिनिस्टर फाल्कनरले आफ्नो सरकारलाई पठाएको प्रतिवेदन, राष्ट्रिय अभिलेखागार नयाँ दिल्ली)
आफ्ना उत्तराधिकारी मोहनशमशेरले सोही अप्रिल (नेपाली नयाँ वर्ष) देखि कार्यान्वयन गर्ने गरी उनले सन् १९४८ जनवरी २६ मा नेपालमा नयाँ संविधान जारी गरे। (द इन्डियन एक्स्प्रेस २८ जनवरी १९४८) जसलाई हामीले २००४ सालको नेपालको पहिलो संविधानका रूपमा स्मरण गर्ने गर्छौँ। भारततिर बस्ने आफ्नो सबै बन्दोबस्त मिलाएपछि औषधोपचारका लागि भन्दै पद्मशमशेर सोही फेब्रुअरी २० मा कलकत्तातर्फ प्रस्थान गरे। (द इन्डियन एक्स्प्रेस, २१ फेब्रुअरी १९४८)
भारतमा जाँदा पद्मशमशेरले आफ्ना पुराना मित्र त्यहाँका गभर्नर जनरल लर्ड माउन्टबेटन र प्रधानमन्त्री जवाहरलाल नेहरूसँग अनौपचारिक भेट गर्ने इच्छा व्यक्त गरेका थिए। प्रधानमन्त्रीबाट राजीनामा नगरी भारत जाँदा केहीले भने झैँ नेहरूसँग भेट गरी सत्ता फर्काउने उनको इच्छा थिएन। प्रधानमन्त्रीका रूपमा भारतमा जाँदा आफूलाई सहज हुने र पछिल्लो अक्टोबरमा बेथमसँगको कुराकानीमा उल्लेख गरेका विषय आफूले प्राप्त गर्न सहज हुने आकलन उनको थियो। भारतमा बस्ने सबै बन्दोबस्त मिलेपछिमात्र राजीनामा गर्ने उनको मनसाय देखिन्छ।
काठमाडौँबाट पहिले उनी कलकत्ता पुगे। कलकत्ताबाट राँची गए। जहाँ उनले आफ्ना परिवारका अन्य सदस्यसहित सामान छाडे। भारतको केन्द्र सरकारको स्वीकृतिमा बिहार सरकारले राँचीमा उनलाई २५ एकड जमिन ९९ वर्षका लागि लिजमा उपलब्ध गराएको थियो।
त्यसपछि उनी राँचीबाट सोही १२ मार्चमा दिल्ली पुगे। दिल्लीमा पुगेर गभर्नर जनरल लर्ड माउन्टबेटन र प्रधानमन्त्री नेहरू, उपप्रधान एवं गृहमन्त्री सरदार बल्लभभाई पटेल, रक्षामन्त्री सरदार बलदेव सिंहसँग शिष्टाचार भेट गरे। पद्मशमशेरले त्यतिबेला महात्मा गान्धी स्मारक कोषलाई ५० हजार भारतीय रुपैयाँ र प्रधानमन्त्री आपत्कालीन कोषमा अर्को ५० हजार रुपैयाँ चन्दा दिएका थिए। उनले इन्दिरा गान्धीलाई समेत बहुमूल्य गहना उपहार दिएका थिए।
दिल्लीमा उनी बारखम्बास्थित नेपाली राजदूतावासमा बसे। त्यतिबेला दिल्लीमा नेपाली राजदूतमा कमान्डिङ जनरल सिंहशमशेर जबरा थिए। पद्मशमशेर भारत जाँदा उनका साथमा ६ जना जनरल थिए। तिनमा कृष्णशमशेर, एकराजशमशेर, मृगेन्द्रशमशेर, विजयशमशेर, सुरशमशेर र सुवर्णशमशेर थिए।
काठमाडौँबाट कलकत्ता पुग्नासाथ उनलाई इलाहाबाद विश्वविद्यालयले ‘डाक्टर अफ ल’को मानार्थ उपाधि दिने प्रस्ताव गरेको थियो। नेपालसँग राम्रो सम्बन्ध रहेका त्यस्तै सरदार रुद्रराज पाण्डेका गुरुसमेत रहेका ईश्वरीप्रसाद इलाहाबाद विश्वविद्यालयको ‘सिभिक्स र पोलिटिक्स’ विभागका प्रमुख थिए। ईश्वरीप्रसादले जुद्धशमशेरको जीवनी लेखेका छन्। उक्त पुस्तक सन् १९७५ मा प्रकाशित भएको थियो। उनलाई जुद्धशमशेरले पहिलोपटक ‘इतिहास शिरोमणि’ को उपाधि दिएका थिए। उनले नै सरदार रुद्रराज पाण्डे र प्रधानमन्त्रीका प्रिन्सिपल प्राइभेट सेक्रेटरीमार्फत पद्मशमशेरलाई उक्त उपाधिको प्रस्ताव गरेका थिए।
इलाहाबाद विश्वविद्यालयका उपकुलपतिमा डीआर भट्टाचार्य थिए। ईश्वरीप्रसादको उक्त प्रस्ताव पद्मशमशेरले स्वीकार गरेपछि औपचारिक रूपमा पछि उपकुलपति भट्टाचार्यमार्फत पद्मशमशेरसँग पत्राचार गरिएको थियो।
विश्वविद्यालय स्थापनाको हीरक जयन्तीका अवसरमा विशेष दीक्षान्त समारोह आयोजना गरेर पद्मशमशेरलाई मानार्थ उपाधि प्रदान गरिएको थियो। इलाहाबाद विश्वविद्यालयको स्थापना भारतको चौथो विश्वविद्यालयका रूपमा सन् १८८७ मा भएको थियो। त्यसअघि मद्रास, कलकत्ता र बम्बे विश्वविद्यालय थिए। विश्वविद्यालयको कुलपतिमा उक्त राज्यको राज्यपाल (गभर्नर) हुने प्रावधान थियो। त्यतिबेला भारतीय स्वतन्त्रता आन्दोलनकी अग्रणी स्वतन्त्रता सेनानी सरोजनी नायडु उक्त राज्य संयुक्त प्रान्तकी गभर्नर थिइन्।
पद्मशमशेर दिल्लीबाट लखनउ हुँदै इलाहाबाद पुग्ने र त्यहाँ उनको बिहानदेखि बेलुकासम्म मात्र बसाइ भएकाले समय मिलाउन हम्मेहम्मे परेको थियो। दिल्लीबाट १९ मार्चमा पद्मशमशेर विशेष रेल चढेर लखनउतर्फ लागेका थिए। उनी त्यहाँबाट २२ मार्चको बिहान सबेरै ६ बजे इलाहाबाद पुगेका थिए। सोही बिहान इलाहाबाद विश्वविद्यालयको सिनेट हलमा एक विशेष दीक्षान्त समारोह आयोजना गरिएको थियो। जसमा विश्वविद्यालयका उपकुलपति डीआर भट्टाचार्यले प्रधानमन्त्री पद्मशमशेरलाई ‘डाक्टर अफ ल’ को मानार्थ उपाधि प्रदान गरेका थिए।
विश्वविद्यालयका सबै विभागका प्रमुख र डिनसहित प्रतिष्ठित व्यक्तिसहित धेरै मानिसको उपस्थितिमा समारोह सम्पन्न भएको थियो। भारत सरकारका शिक्षा सल्लाहकार एवं सोही विश्वविद्यालयका पूर्वउपकुलपति शिक्षाविद् डाक्टर तारा चन्द पनि समारोहमा उपस्थित थिए। सबैभन्दा पहिले विश्वविद्यालयकी कुलपति सरोजनी नायडुले उपकुलपतिलाई सम्बोधन गरी पठाएको पत्र पढेर सुनाइएको थियो। आफू उक्त समारोहमा प्रत्यक्ष उपस्थिति हुन नसकेकोमा उनले दुःख प्रकट गरेकी थिइन्।
नेपालमा ज्ञान आर्जनको संरक्षकका रूपमा मूल्यांकनसहित सो मानार्थ उपाधि प्रदान गरिएको थियो। भट्टाचार्यले एक प्रसिद्ध सैनिक, दूरदर्शी राजनीतिज्ञ र धार्मिक शासकका रूपमा पद्मशमशेरको एसियामै विशिष्ट स्थान रहेको बताएका थिए। राणाकालीन नेपालले ज्ञान आर्जनका लागि संसारभरका अध्येतालाई सहायता र सहजीकरण गरेको उपकुलपतिको भनाइ थियो।
प्रधानमन्त्री पद्मशमशेरले आफूलाई उपाधि प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए। उनले इलाहाबाद विश्वविद्यालयमा नेपाली विद्यार्थीको संख्या बढ्दै गएको उल्लेख गरेका थिए। उनले प्राचीन धर्म, संस्कृति र सभ्यताको अध्ययन, अनुसन्धानका लागि नेपाल उपयुक्त भूमि रहेको सम्भावनासमेत औँल्याएका थिए। (अमृतबजार पत्रिका इलाहाबाद संस्करण, २३ मार्च १९४८)
सन् १९०८ मा बेलायत भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले अक्सफोर्ड विश्वविद्यालयबाट ‘डक्टर अफ ल’ को मानार्थ उपाधि हासिल गर्दै त्यस्तो उपाधि पाउने प्रथम राणा प्रधानमन्त्रीका रूपमा आफ्नो नाम दर्ज गरेका थिए। त्यसपछि भारतको इलाहाबाद विश्वविद्यालयबाट यस्तै मानार्थ उपाधि पाउने पद्मशमशेर दोस्रो राणा प्रधानमन्त्री हुन्। इलाहाबादबाट बनारस हुँदै उनी पुनः राँची फर्किएर त्यहीँ स्थायी बसोबास गरेका थिए।
३० अप्रिल १९४८ मा भारतबाटै उनले प्रधानमन्त्रीबाट राजीनामा दिए। सोही दिन नेपालमा मोहनशमशेर नयाँ प्रधानमन्त्री घोषित भए। नेपालमा २००७ सालको परिवर्तनपछि एकपटक र सन् १९५६ मा राजा महेन्द्रको राज्याभिषेक समारोहमा भाग लिन पद्मशमशेर काठमाडौँ आएका थिए। सन् १८८२ मा जन्मिएका उनको ७९ वर्षको उमेरमा सन् १९६१ को ११ अप्रिलमा कलकत्तामा हृदयाघातका कारण निधन भएको थियो। (द लिडर पोस्ट, १३ अप्रिल १९६१)