किङ्स कलेज र नामीबीच ‘एआई शैक्षिक कार्यक्रम’ मा साझेदारी

हिमाल प्रेस १८ साउन २०८० १५:१८
किङ्स कलेज र नामीबीच ‘एआई शैक्षिक कार्यक्रम’ मा साझेदारी

काठमाडौँ- काठमाडौँस्थित किङ्स कलेज र नेपाल अप्लाइड म्याथमेटिक्स् एन्ड इन्फरमेटिक्स् इन्स्टिच्युट फर रिसर्च (नामी) ले संयुक्त रूपमा आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी शैक्षिक पाठ्यक्रम सञ्चालन गर्ने भएका छन्। उद्यमशीलताका साथमा सूचना प्रविधि अध्ययनअध्यापनलाई प्राथमिकता दिँदै आएको किङ्स कलेज र एआई शिक्षालाई सबै माझ पुर्‍याउन सक्रिय नामीले बिहीबार एक सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार अब छिट्टै एआई शैक्षिक पाठ्यक्रमअन्तर्गतको ६ महिने कक्षा सञ्चालन हुनेछ। यी दुई संस्थाको सहकार्यमा भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी विभिन्न विशिष्ट तथा एकीकृत पाठ्यक्रमको विकास गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने बताइएको छ। किङ्स कलेज र नामीले आवश्यक उच्च गुणस्तरीय शैक्षिक कार्यक्रमको डिजाइन गरी वितरण गर्नका लागि हातेमालो गरेका हुन्।

कार्यक्रमको पहिलो चरणमा सूचना प्रविधि तथा इन्जिनियरिङ विधामा काम गरिरहेका व्यक्तिलाई लक्षित गरे तापनि पछि आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रमा रुचि राख्ने जोकसैले पनि यस शैक्षिक शिक्षण कार्यक्रममा सहभागी हुन पाउनेछन्। तथापि कार्यक्रममा सहभागी हुन चाहनेहरुले पाइथन प्रोग्रामिङ चलाउन जानेको हुनुपर्नेछ।

किङ्स कलेजका प्रेसिडेन्ट नरोत्तम अर्यालले पछिल्लो समय विश्वमै मूलधार प्रवृत्तिका रूपमा विकास भइरहेको आर्टिफिसियल इन्टेलिजेन्सका क्षेत्रमा नेपालले पनि फड्को मार्न सकोस् भन्ने उद्देश्यका साथ यस शैक्षिक कार्यक्रमका लागि नामीसँग साझेदारी गरिएको बताए। उनले नयाँनयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्दै शिक्षामा नवीनतम प्रयोग गर्दै आएको जानकारी दिए।

‘आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी हामीले सञ्चालन गर्न लागेको शिक्षण कार्यक्रम सोही परियोजनामध्येको एक हो, जसबाट हासिल हुने ज्ञानले नेपालमा पनि विभिन्न जटिल क्रियाकलाप सहजताका साथ सम्पन्न गराउन सकिने एवं आर्थिक क्षेत्रमा चलायमान बनाउ सकिने विश्वास लिएको छ’, उनले भने।

नामीका संस्थापक तथा निर्देशक डा. विशेष खनालले विश्वव्यापी क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्सको तीव्र विकास भइरहेको परिप्रेक्ष्यमा नेपालमा पनि विश्वका उत्कृष्ट प्रयोगशाला र विश्वविद्यालयमा अध्यापन र अन्वेषण गरिरहेका एआई विज्ञहरूको प्रत्यक्ष संलग्नतामा प्राज्ञिक शिक्षा प्रदान गरिने बताए।

उनले भने, ‘एआईलाई प्रयोग गर्ने मात्र नभई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने एआई आधारित सफ्टवेयर बनाउन सक्ने जनशक्ति देशभित्र तयार गर्ने यस शैक्षिक कार्यक्रमको उद्देश्य हुनेछ।’

प्रकाशित: १८ साउन २०८० १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast