अभिनेता सारुक ताम्राकारले असार २१ मा निवासमै आत्महत्या गरेका थिए। ३१ बर्से युवा कलाकारको यस्तो अप्रत्याशित निर्णयले सबैलाई स्तब्ध बनायो। उनका आफन्तदेखि फिल्मकर्मीसम्म शोकाकुल भए। कतिपय सहकर्मीले त अझै पनि सारुक रहेनन् भन्ने कुरा पत्याउन सकेका छैनन्।
फिल्म ‘रानी’, ‘मेरी मामु’, ‘इन्टु मिन्टु लन्डनमा’मा अभिनय गरेका सारुक मृत्युअघि ‘ह्यासट्याग माया’को छायांकनमा व्यस्त थिए। सुटिङबाट फर्किएका उनले निवासमा आत्महत्या गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ। प्रहरी उनको मृत्युको कारणसम्म भने पुग्न सकेको छैन।
उदीयमान कलाकारको मृत्युले अनेक प्रश्न उब्जिएका छन्। उनका प्रशंसक जोकोही ‘आखिर किन त?’ को उत्तर जान्न चाहन्छन्। घटना छानबिन हुनुपर्ने र सारुकले न्याय पाउनुपर्ने आवाज सामाजिक सञ्जालमा उठिरहेको छ।
उनको मृत्युका विषयमा कलाकारले एकपछि अर्को गर्दै सोसल मिडियामा अभिव्यक्ति दिन थालेपछि आममान्छेको ध्यान पनि यतातिर तानिएको छ। मृत्युजस्तो संवेदनशील विषय सञ्चारमाध्यमको ‘चर्चा र बहस’ को विषय बनेको छ। उनको मृत्यु प्रकरणमा अदालतमा फैसला हुनुअघि नै सञ्चारमाध्यममार्फत कुुनै व्यक्ति दोषी वा निर्दोष हो भनेर अनेक अडकलबाजी गर्दै व्यापक धारणा बनाउने काम भइरहेका छन्।
सारुकको आत्महत्यापछि धेरैले भारतीय अभिनेता सुशान्त सिंह राजपुतको घटना सम्झिएका छन्। के थियो त सुशान्तको घटना?
सुशान्तले आत्महत्या गरेका थिए। राम्रो काम र करियर चलिरहेकै थियो। उनी डिप्रेसनबाट गुज्रिरहेका थिए। उनले अकस्मात् झुन्डिएर ज्यान फाल्दा सारा बलिउड स्तब्ध भएको थियो। सन् २०२० जुन १४ मा मुम्बई, बान्द्रास्थित उनको आफ्नै घरमा भएको त्यो घटना महिनौँसम्म चर्चा र बहसको विषय बन्यो। भारतीय सञ्चारमाध्यमले त्यो मुद्दा सेलाउनै दिएनन्। मिडियाले ‘हट केक’ जस्तै समाचार दिइरहे। दर्शकले पनि स्वाद मानेर ती सामग्री ग्रहण गरिरहे।
बलिउडकर्मीदेखि राजनीतिज्ञसम्मलाई अतिथि बनाएर भारतीय टेलिभिजनका एंकरले चर्को बहस गरे। जसको हल्ला भारतमा मात्र नभई नेपालका केही घरमा समेत गुञ्जिएको थियो।
टेलिभिजनका एंकर चिच्याई-चिच्याई बहस कार्यक्रम चलाउँथे। अघिपछि समाचार, अन्तर्वार्तामा खासै रुचि नराख्ने पनि सुशान्त प्रकरणबारे प्रसारण हुने हरेक बहस नछुटाई हेर्न थाले। हरेक दिन घटनाका नयाँ-नयाँ ‘एंगल’ बाहिरिने गर्थे।
टेलिभिजनको पर्दाबाट फिल्मको पर्दासम्म पुग्न सफल भएका सुशान्त धेरैका ‘प्यारा’ हिरो थिए। त्यसमाथि ‘हिरो हरुवा हुन सक्दैन’, सामाजिक मनोविज्ञानले त्यसैगरी काम गरिरहेको थियो।
मुम्बई पुलिस र सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन (सीबीआई)को अनुसन्धानले बाइपोलर डिसअर्डरको सिकार भएका कारण सुशान्तले आत्महत्या गरेको निष्कर्ष निकालेको थियो। तर परिवार र प्रशंसकले उनले आत्महत्या गर्नै नसक्ने बरु उनको हत्या भएको दाबी गरेका थिए।
सुशान्तकी आमा पनि डिप्रेसनकी सिकार थिइन्। यसै कारण उनको मृत्यु भएको कुरा सुशान्तकी बहिनी श्वेता सिंह कीर्तिले सामाजिक सञ्जालमा खुलाइसकेकी थिइन्। उनले लेखेकी थिइन्, ‘डिप्रेसनका कारण मैले आमा गुमाएँ। अब उपरान्त यस रोगबाट कसैको पनि मृत्यु नहोस्।’
सुशान्त गहिरो अवसादबाट गुज्रिरहेको कुरा समाजले स्वीकार्न नसकेकोमा बलिउड अभिनेत्री स्वरा भास्करले गम्भीर आपत्ति जनाएकी थिइन्। ‘मान्छेले सुशान्त अवसादग्रस्त थिए भन्ने कुरा स्वीकार गर्न नसकेको देख्दा छक्क छु,’ उनले भनेकी थिइन्, ‘सिनेमाको पर्दामा हिरो देखिने मान्छे वास्तविक जीवनमा पनि हिरो हुनुपर्छ भन्ने छैन।’
सुशान्तको मृत्युपछि बहिनी श्वेताका पुराना पोस्ट भाइरल हुन थाले। उनले हतारहतार ती सबै पोस्ट डिलिट गरिन्। पोस्टमार्टम रिपोर्टमा समेत सुशान्तको मृत्यु झुन्डिएर भएको खुलेको थियो।
सबै कुरा छर्लंग हुँदाहुँदै पनि हत्याको मुख्य आरोपित सुशान्तकी प्रेमिका रिया चक्रवर्तीलाई मानियो। उनले पनि सुशान्त डिप्रेसनबाट पीडित भएको बयान प्रहरीसमक्ष दिएकी थिइन्। तर उनलाई पत्याइएन।
सुशान्तको आत्महत्याको दोषी मान्दै भारतीय मिडियामा रियाविरुद्ध ‘ट्रायल’ चल्यो। उनलाई ‘कालो जादु गर्ने’, ‘सुशान्तलाई आत्महत्या गर्न बाध्य बनाउने’ महिलाका रूपमा चित्रित गरियो। ‘गोल्डन डिगर’ भन्न पनि मिडिया पछि परेन। पुरुष सत्तात्मक समाजमा ‘गोल्ड डिगर’ भन्नाले पैसाको प्रलोभनमा पुरुषलाई आफूतिर आकर्षित गर्ने महिलाका रूपमा बुझिन्छ।
सामाजिक सञ्जालमा रियालाई ट्रोल गरियो। एक जनाले त इन्स्टाग्राममा उनलाई ‘आत्महत्या गर नत्र म तिमीलाई मार्न मानिस पठाउनेछु’ भनेर लेखे।
प्रेमीको आत्महत्याबाट आहत रिया मिडिया ट्रायलबाट झनै टुटेकी थिइन्। सञ्चारमाध्यमबाट प्रभावित भएर मान्छेले आफूलाई खेद्न थालेपछि उनले सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन्, ‘मलाई ‘गोल्ड डिगर’ भनियो। म चुप बसेँ। हत्याको आरोप लगाइयो। म चुप बसेँ। तर कहिलेसम्म?’
‘हाई-प्रोफाइल’ केसको दबाबमा रहेको प्रहरीले अनेक आरोप लगाउँदै रियालाई पक्राउ गर्यो। अदालतमा पुग्दा उनीमाथि भारतीय मिडिया ‘बाघले बाख्रा’ झम्टिएझैँ झम्टियो। माइक, बुम तेर्स्याउँदै अनेकन् प्रश्न गरिए। मिडियाको त्यो बेहोरा देखेर बलिउडकर्मी आक्रोशित भएका थिए।
‘मिडिया रियामाथि गिद्धझैँ किन झम्टिरहेको छ?’ भनेर कतिपय बलिउड कलाकारले सामाजिक सञ्जालमा प्रश्न गरेका थिए।
०००
यहाँ पनि सारुक आत्महत्याको दोष उनकी प्रेमिकालाई दिइँदैछ। उनीमाथि त्यसरी नै ‘मिडिया ट्रायल’ भइरहेको छ। घटना किन भयो, कसरी भयो? यी यावत् प्रश्न यथावत् छन्। अर्कोतिर मिडिया उनलाई ‘दोषी’ बनाउन लागिपरेको देखिन्छ। उनीप्रति आममान्छेको ‘धारणा बनाउने’ काम भइरहेको छ।
‘सारुक आत्महत्यासँग जोडिएका रहस्य’, ‘सारुकको आत्महत्याभन्दा एक घण्टाअगाडि प्रेमिकाले यस्तो गरिन्, रातारात क्यानडा उडिन्’, ‘पोल खुल्यो, फरार प्रेमिका’, ‘सारुकको घटनामा विशेष खुलासा’, ‘घटनामा नयाँ मोड’, यस्ता शीर्षक राखेर केही युट्युबर र कतिपय अनलाइनले सनसनी मच्चाउने काम गरिरहेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ता उनीमाथि खनिएका छन्।
एक युवकको मृत्यु, त्यसमाथि आत्महत्या! घटनामा संवदेनशील हुनुपर्ने होइन र! उल्टै ‘आगोमा घिउ’ थप्ने काम भइरहेको छ। फोन नउठ्दा ‘सम्पर्कविहीन’, ‘फरार’ भनेर खनिनु कत्तिको उचित होला? सही र गलत टुंगो नलागी लाञ्छना लगाउनु गलत होइन? सनसनी मच्चाउने अनि उनीसँग नाम जोडिएकी महिलाको चरित्रहत्या गरी ‘मिडिया ट्रायल’ भइरहेकोमा कुनै कलाकारले पनि आवाज नउठाउनु अर्को दुःखद पक्ष हो।
प्रेमिकाले प्रेमीको मृत्युमा शोक पनि मनाउन नपाउनु? के उनले घटनामा ‘बाइट’ दिनैपर्ने हो? के हामी यति संवेदनहीन भइसक्यौँ कि मृत्युको समाचारमा पनि ‘क्लिक’, ‘लाइक’, ‘सेयर’ खोजिरहेका छौँ। आफ्ना ‘सस्क्राइबर’ बढाउने लोभमा संवेदनाबाट टाढिँदै पो छौँ कि! एकपटक सोच्नुपर्ने भएको छ।
सारुकले आत्महत्यालाई अन्तिम उपायका रूपमा किन रोजे? उनलाई माया गर्ने परिवार, शुभचिन्तक, प्रशंसक सबैले यसको उत्तरको खोजीमा छन्। उनको मृत्युबारे प्रहरीले सत्यतथ्य अनुसन्धान गरी तत्काल यथार्थ बाहिर ल्याउनुपर्छ। सारुककी प्रेमिकामाथि भइरहेको ‘मिडिया ट्रायल’बारे पनि प्रहरी गम्भीर बनोस्।