महिला विश्वकप- २०२३

असमान पारिश्रमिक र यौन दुर्व्यवहारमा महिला फुटबल खेलाडी

हिमाल प्रेस १० साउन २०८० १२:२४
12
SHARES
असमान पारिश्रमिक र यौन दुर्व्यवहारमा महिला फुटबल खेलाडी फिफा महिला विश्वकप २०२३ उद्घाटन समारोह। तस्बिर : एएफपी

नवौँ संस्करणको फिफा महिला विश्वकप गत शुक्रबार सुरु भएको छ। अस्ट्रेलिया र न्युजिल्यान्डका विभिन्न सहरमा अगस्त २० सम्म हुने विश्वकपमा ३२ टिमले ६४ खेलमा प्रतिस्पर्धा गर्नेछन्।

पहिलोपटक महिला विश्वकप अस्ट्रेलिया र न्युजिल्यान्ड गरी दुई देशमा आयोजना भएको हो। खेलहरू अस्ट्रेलियाका ब्रिसबेन, एडिलेड, पर्थ, मेलबर्न, सिड्नीलगायतका सहर र न्युजिल्यान्डका डुनेडिन, अकल्यान्ड, ह्यामिल्टन र वेलिंग्टनमा खेलिनेछन्। फाइनल सिड्नीको ८१ हजार ५ सय क्षमता भएको रंगशालामा हुनेछ।

०००

विश्वकपमा दक्षिण अफ्रिका, मोरक्को, जाम्बिया र नाइजेरिया गरी चार अफ्रिकी टोली सहभागी छन्। जसले गर्दा धेरै दर्शकमा उत्साह थपिएको छ। महिला विश्वकप पनि विवादमुक्त हुन सकेको छैन। अनुबन्धनको अभाव, खेलाडीलाई कम पारिश्रमिक, यौन दुर्व्यवहारलगायत कारणले विश्वकपलाई विवादमा तानेको हो।

अकल्यान्डमा सुरु भएको विश्वकपको उद्घाटन खेल न्युजिल्यान्ड र नर्वेबीच भएको थियो। उद्घाटन खेल हुनुभन्दा दुई हप्ताअघि दक्षिण अफ्रिकाको टोलीले एउटा अभ्यास खेल बहिष्कार गर्यो‍। दक्षिण अफ्रिकी फुटबल एसोसिएसनले आफूलाई भनेजति पारिश्रमिक नदिएको खेलाडीको आरोप थियो। साथै लिखित सम्झौता पनि नगरेको उनीहरूको गुनासो छ।

नाइजेरियाको टिमले पनि यही गुनासो गरेको थियो। नाइजेरिया फुटबल फेडरेसनले पारिश्रमिकमा किचकिच गरेको खेलाडीहरूले बताएका थिए। दक्षिण अफ्रिका र नाइजेरियाको टोलीले मात्र नभई अन्य महिला फुटबल खेलाडीले समेत कम पारिश्रमिक पाएको गुनासो गरेको एक सर्वेक्षणबाट खुलेको छ।

२९ प्रतिशत अन्तर्राष्ट्रिय महिला खेलाडीले आफूहरूले राष्ट्रिय टिमबाट पैसा नपाएको बताएका छन्। दक्षिण अफ्रिकी फुटबल एसोसिएसनले सबै खेलाडीलाई समान पारिश्रमिकको व्यवस्था गरे पनि उनीहरूले पाएका छैनन्।

फिफाका अनुसार प्रतियोगितामा समूह चरणमा भाग लिने हरेक खेलाडीले ३० हजार डलर पाउँछन्। तर पैसा पहिला फुटबल संघहरूमा जाने भएकाले खेलाडीको हातमा कम पर्छ। साथै पुरुष फुटबल खेलाडीको तुलनामा महिलाले निकै कम पारिश्रमिक पाउँछन्।

मैदानको अवस्था खराब भएकाले पनि दक्षिण अफ्रिकाको महिला टोलीले एक अभ्यास खेल बहिष्कार गरेको थियो। हिलो र घाँसे मैदानका कारण अभ्यास गर्न गाह्रो भएको भन्दै टिमले बहिष्कार गरेको हो। विश्वकप नजिकिरहेका बेला जोखिम मोल्न नचाहेको खेलाडीहरूको भनाइ छ।

जाम्बियाका खेलाडीले पनि खराब मैदानको अनुभव बटुलेका छन्। मिडफिल्डर एभरिन कटोंगोले राम्रो र गुणस्तरीय प्रशिक्षण मैदान पुरुष खेलाडीका लागि छुट्याइएको बताएकी छन्। ‘महिला खेलाडीलाई यसै त प्रशिक्षणका लागि कम समय पाइन्छ,’ उनले भनेकी छन्, ‘हामीले पुरुष खेलाडीका लागि ठाउँ खाली गर्नुपर्छ।’

बेलायती पत्रिका ‘द गार्जियन’ मा प्रकाशित एक समाचारअनुसार जाम्बियाका प्रमुख प्रशिक्षक ब्रुस म्वापेविरुद्ध जाम्बियाको फुटबल एसोसिएसन अनुसन्धान गरिरहेको छ। उनीमाथि यौन उत्पीडनको आरोप छ।

जाम्बिया फुटबल टोलीकी एक खेलाडीले ‘द गार्जियन’ लाई प्रशिक्षकले यौन दुर्व्यवहार गर्ने गरेको बताएकी थिइन्। ‘प्रशिक्षकले महिला खेलाडीलाई बाध्य बनाउँछन्,’ उनले भनेकी छन्।

फिफाको एक रिपोर्टअनुसार अमेरिका, भेनेजुएला, अस्ट्रेलिया, स्पेनलगायत टोलीका खेलाडीले पनि यौन उत्पीडनको गुनासो गरेका छन्। ‘यौन दुर्व्यवहारका मामिलामा फुटबल उच्च जोखिम भएको क्षेत्र हो,’ रिपोर्टमा भनिएको छ, ‘कमजोर सामाजिक र आर्थिक पृष्ठभूमि भएका युवा खेलाडी करिअर बनाउने उद्देश्यले आउँछन्। आफ्नो र परिवारको आर्थिक अवस्था उकास्न आएका उनीहरू यौनशोषणमा पर्ने गर्छन्।’

त्यसो हुँदा खेलाडीमाथि प्रशिक्षकको दबदबा हुन्छ। खेलाडीको कमजोर आर्थिक अवस्थाको फाइदा प्रशिक्षकहरूले उठाउँछन्। फुटबल खेलाडीका लागि एक छुट्टै एकाइ हुनुपर्ने फिफाले जनाएको छ। जसले महिला खेलाडीमाथि हुने दुर्व्यवहारबारे अनुसन्धान गरोस्। ‘फेडरेसनहरूले यस किसिमका उत्पीडनबारे जानकारी राख्नुपर्छ,’ रिपोर्टमा लेखिएको छ, ‘पीडितलाई साथ दिनुपर्छ र सहयोग गर्नुपर्छ।’

महिला खेलाडीले अहिले पनि अनुचित व्यवहार खेपिरहेका छन्। अफ्रिकी टोलीमा कम पारिश्रमिक, लैंगिक दुर्व्यवहारजस्ता समस्या जस्ताका तस्तै छन्। अरू देशका टोलीमा पनि यी समस्या नरहेको होइन। विश्वकपले महिला फुटबलरलाई यस्ता अनुचित व्यवहारविरुद्ध बोल्ने एक अवसर दिन्छ। जसको सुनुवाइ हुनुपर्ने फिफाका अधिकारीहरूको भनाइ छ।

प्रकाशित: १० साउन २०८० १२:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast