इस्लामाबाद- पाकिस्तानको इस्लामाबादमा बिहीबार स्वागत, अन्तरक्रिया एवं धर्मदेशना कार्यक्रमको आयोजना गरिएको छ। अन्तर्राष्ट्रिय गान्धारा सिम्पोजियममा सहभागी हुन इस्लामाबाद आएका लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. ह्रदयरत्न बज्राचार्य, नेपाली बौद्ध बिहारका संघनायक भिक्षु कौदन्य र कपन गुम्बाका लामा थिन्ले कुन्चकको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा इस्लामाबादमा रहेका नेपाली समुदाय, बौद्ध धर्मदर्शनमा चाख राख्ने पाकिस्तानी र अन्य मुलुकका व्यक्तिहरूको सहभागिता थियो।
नेपालबाट आएका गुरुहरूलाई स्वागत गर्दै पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले बौद्धदर्शनका अहिंसा, दया, करुणा, समभाव एवं सम्यक् ध्यानजस्ता शास्वत मान्यता मानव जीवनउपयोगी रहेको बताए। उनले बौद्ध धर्मदर्शनको समसामयिकता र सर्वस्वीकार्यता रहेको पनि स्पष्ट पारे।
राजदूत अधिकारीका अनुसार पाकिस्तान सरकारले गान्धारा सभ्यतालाई संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्ने नीति लिएको छ। गान्धारा सभ्यता र नेपाली संस्कृतिबीच अटुट सम्बन्ध रहेकोले यसले नेपाल–पाकिस्तान सम्बन्धलाई थप प्रगाढ बनाउने भनाइ अधिकारीको छ।
बुद्धको जन्मभूमी लुम्बिनी, नियमित धार्मिक एवं अध्यात्मिक क्रियाकलाप भइरहेका हजारौँ वर्ष पुराना बौद्ध महाविहार, विहार, बहि, चैत्य एवं गुम्बा आदि भएका कारणले नेपाल बौद्ध धर्मदर्शन, अध्यात्म केन्द्रका रूपमा रहेको उनले बताए।
साथै बौद्ध दर्शनका थेरवाद, महायान एवं बज्रयान गरी तीनै प्रमुख धारको तीर्थस्थल नेपाल नै रहेको कारण हिमाली दर्शनको अध्येताका लागि पनि नेपाल केन्द्रका रूपमा रहेको राजदूत अधिकारीले बताए। उनले भने, ‘यी कारणले गर्दा पाकिस्तानलगायत विश्वभरबाट अध्यामिक साधकहरू नेपाल भ्रमणमा जाने गरेका छन्।’
उनले प्राचीन उदियाना एवं हाल पाकिस्तानको स्वात उपत्यकामा जन्मिएका गुरु पद्मसम्भव वा गुरु रिम्पोचेले तपस्या गरेका स्थानहरू अझै पनि नेपालमा आध्यात्मिक केन्द्रका रूपमा रहेको बताए। अधिकारीले भने, ‘बौद्ध साहित्यमा तक्षशिला एवं गान्धारको ठूलो महत्त्व रहेको छ। त्यसैले यसको थप संरक्षण र प्रवर्द्धन भएमा उक्त क्षेत्र नेपाललगायत अन्य मुलुकका बौद्ध धर्मावलम्बी एवं यसमा चाख राख्नेहरूका लागि प्रमुख गन्तव्य बन्न सक्नेछ।’
कार्यक्रममा प्रा. बज्राचार्य, भिक्षु कौदन्य एवं लामा कुन्चकले बौद्ध धर्म दर्शनका विभिन्न पक्षमाथि प्रकाश पार्नुका साथै सहभागीहरूबाट सोधिएका जिज्ञासाहरूको उत्तर दिएका थिए। बौद्ध गुरूहरूले सहभागीलाई ध्यान गर्न समेत सिकाएका थिए।